- राजेन्द्र बस्नेत
धादिङ । डिभिजन वन कार्यालय धादिङले गत आवमा कबुलियती वन एक सय ५० समूह र ६७ सामुदायिक वनको नवीकरण गरेको छ । जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकमा सो जानकारी दिइएको हो ।
गत वर्ष कार्यालयका नर्सरीबाट वन प्रजातिका बिरुवा तथा जडीबुटी, बाँस, टिम्बुर, पिकानटका बिरुवा उल्लेखनीय मात्रामा वितरण भयो । गत आवमा कार्यालयले कबुलियती वन एक सय ५० समूह र ६७ सामुदायिक वनको नवीकरण, जिल्लाकै उच्च भागमा रहेको रुबीभ्याली–१ र २ का वन क्षेत्र समेटेर एक हजार तीन सय ३१ हेक्टर क्षेत्रफल रहेको पाङ्साङ सामुदायिक वन उपभोक्ता समूह हस्तान्तरण गरेको थियो । कार्यालयले नयाँ तीन धार्मिक वनसमेत हस्तान्तरण गरेको कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए । कार्यालयलाई चालू आवका लागि रु. दुई करोड ९० लाख ८३ हजार बजेट विनियोजन भएको छ । सो बजेटबाट समूह नवीकरण, गणेश हिमाल प्रवद्र्धन कार्यक्रम र वृक्षरोपणजस्ता मुख्य योजना सञ्चालन गरिने बताइएको छ ।
बैठकमा कार्यालय प्रमुख विष्णुप्रसाद आचार्यले गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमको प्रगति विवरण र चालू आवमा गरिने योजना तथा कार्यक्रम प्रस्तुत गर्दै चालू आवमा वन उपभोक्ता समूहको कार्ययोजनाको अवधि नवीकरण, बिरुवा उत्पादन र वितरण गरिने जानकारी दिए । समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विक, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायत सरोकार पक्षको सहभागिता थियो ।






प्रतिक्रिया