- रामलाल श्रेष्ठ
ब्रह्माण्डको उत्पत्ति महाविस्फोटको घटनाबाट भयो जुन चेतना पदार्थमा रूपान्तरण हुने महान् घटना हो । महाविस्फोटपछि चेतना पदार्थमा विलय हुन गयो । पदार्थका रूपमा ब्रह्माण्ड अनन्तसम्म फैलिने क्रम सुरु भयो ।
पदार्थ ऊर्जा रूपान्तरणको सिद्धान्त
सन् १९०५ मा अल्बर्ट आइन्स्टाइनको पदार्थ ऊर्जामा रूपान्तरण हुने ई इजकल्टु एमसी स्क्वायरको सिद्धान्तसँगै ब्रह्माण्डबारे नयाँ चिन्तनको सुरुवात भयो । महाविस्फोटका कारण सानो विन्दुमा खाँजिएको ऊर्जा प्रकाशका गतिमा पदार्थका रूपमा फैलन सुरु भयो । एउटा सानो विन्दुमा खाँजिएर बसेको ऊर्जा आज ९३ अर्ब प्रकाश वर्ष पदार्थका रूपमा ब्रह्माण्ड फैलिइसकेको छ । महाविस्फोटपछि पदार्थका रूपमा ब्रह्माण्ड फैलन सुरु भयो । केही समयपछि अनन्त तातो अवस्थाबाट पदार्थको सेलाउने क्रम सुरु भयो । महाविस्फोटअगाडि ऊर्जाका रूपमा पदार्थको अस्तित्व थिएन भने महाविस्फोटपछि पदार्थका रूपमा ऊर्जाको अस्तित्व पदार्थमा विलय हुन गयो र क्रमशः ब्रह्माण्ड, सूर्य र पृथ्वीसहित अन्य ग्रहको विकास हुँदै ब्रह्माण्डको प्रत्येक पदार्थमा ऊर्जा विलयका रूपमा विद्यमान रहन गयो । आइन्स्टाइनको ऊर्जा पदार्थमा र पदार्थ ऊर्जामा रूपान्तरण हुने ई इजकल्टु एमसी स्क्वायरको सिद्धान्त भनेको पदार्थ र ऊर्जा दुई रूपको एउटै वस्तु हो र यी दुवै एक–आपसमा रूपान्तरण गर्न सकिन्छ । आइन्स्टाइनको यो सिद्धान्तको जन्मपछि ब्रह्माण्डका आधारभूत तत्व, ऊर्जा र पदार्थ दुई नभई एउटै हो भन्ने प्रमाणित भएको छ ।
चेतना पदार्थमा विलय
आइन्स्टाइनको पदार्थ ऊर्जा रूपान्तरणको सिद्धान्त प्रतिपादन हुनुभन्दा ठिक एक शताब्दीअघि सन् १८०७ मा जर्मनेली दार्शनिक जर्ज विलियम फ्रेडरिक हेगेलले आफ्नो दार्शनिक चिन्तनमा ब्रह्माण्डको उत्पत्तिबारे आइन्स्टाइनको जस्तै परिकल्पना गरेका थिए । हेगेलको चिन्तनमा ब्रह्माण्डको उत्पत्ति चेतना पदार्थमा रूपान्तरण हुने घटनाका रूपमा परिकल्पना गरेका थिए । ब्रह्माण्डमा देखिएको पदार्थ चेतनाको विपरीत रूप हो । महाविस्फोटको घटना भनेको चेतनाको पदार्थमा रूपान्तरण वा विकसित हुने घटना हो । आइन्स्टाइनको ऊर्जा पदार्थमा रूपान्तरण सिद्धान्त जस्तै चेतना पदार्थमा रूपान्तरण वा विकसित हुने घटना नै महाविस्फोटको घटना हो । महाविस्फोट यस्तो घटना हो जसमा ऊर्जा पदार्थमा रूपान्तरण हुने आइन्स्टाइनको परिकल्पना थियो भने चेतना पदार्थमा रूपान्तरण हुने हेगेलको परिकल्पना थियो । ऊर्जा पदार्थमा रूपान्तरण हँुदा त्यसको अस्तित्व पदार्थमा विलीन वा अस्तित्वविहीनावस्थामा रहन्छ भने चेतना पदार्थमा रूपान्तरण हँुदा चेतनाको अस्तित्व पदार्थमा विलय वा अस्तित्वविहीनावस्थामा रहन्छ । आइन्स्टाइनका अनुसार पदार्थ नै ऊर्जाको बाहिरी रूप हो भने हेगेलको चिन्तनमा पदार्थ चेतनाको बाहिरी रूप हो ।
पदार्थभित्र चेतनाको विलीन अस्तित्व
ई इजकल्टु एमसी स्क्वायर सिद्धान्तले संसारलाई हेर्ने नयाँ चिन्तनको विकास भयो । आइन्स्टाइनको यो सिद्धान्तअघि ब्रह्माण्डबारे न्युटनको गतिको सिद्धान्तको दबदबा थियो । आइन्स्टाइन अगाडि ब्रह्माण्डको निर्माण ऊर्जा र पदार्थ दुई भिन्न वस्तुबाट निर्माण भएको भन्ने विज्ञानको निष्कर्ष थियो । पदार्थ र ऊर्जाको स्थिरताको सिद्धान्तले पदार्थ र ऊर्जा ब्रह्माण्डको उत्पत्तिको अवस्थामा जति उत्पादन भएको थियो त्यति नै पदार्थ र ऊर्जा ब्रह्माण्डमा बराबरीको अवस्थामा रहन्छ । पदार्थ र ऊर्जा दुवै उत्पादन र नाश गर्न नसकिने, तर अर्को पदार्थ र ऊर्जाका रूपमा बदलिने स्वभावको हुन्छ भन्ने सिद्धान्त प्रचलित थियो । पदार्थ अर्को पदार्थमा रूपान्तरण हुँदा त्यसको रूप वा गुण रूपान्तरण हुने, तर मात्रा स्थिर हुन्छ । त्यसैगरी ऊर्जा अर्को किसिमको ऊर्जामा रूपान्तरण हँुदा त्यसको रूप वा गुण रूपान्तरण हुने, तर त्यसको मात्रा नाश नहुने अर्थात् ऊर्जाको मात्राको क्षय वा नाश हुँदैन । यसै सिद्धान्तलाई कन्जर्भेसन अफ मास एन्ड एनर्जीको सिद्धान्त भनिन्छ ।
आइन्स्टाइनले ऊर्जा र पदार्थ भिन्दाभिन्दै वस्तु नभई एउटै हो भन्ने सिद्धान्त अगाडि सारे । उनका अनुसार पदार्थ नै ऊर्जाको बाहिरी रूप हो । ऊर्जा र पदार्थ रूपान्तरित हुने एउटै वस्तु हो । सूर्यबाट उत्पन्न हुने ऊर्जा हाइड्रोजनबाट हेलियममा रूपान्तरण हुँदा उत्पन्न ऊर्जा हो । त्यसैगरी पदार्थलाई ऊर्जामा रूपान्तरण गर्न प्रकाशको गतिमा पदार्थ ऊर्जामा रूपान्तरण हुन्छ । एउटै वस्तु आफैँ अर्को वस्तुमा रूपान्तरण हुने प्रक्रिया नै डाइलेकटिकल गति हो । आइन्स्टाइनको पदार्थ ऊर्जामा रूपान्तरण हुने प्रक्रिया डाइलेकटिकल प्रक्रिया हो । त्यसैगरी चेतनाको पदार्थमा रूपान्तरण हुने प्रक्रिया पनि डाइलेकटिकल प्रक्रिया नै हो । यस प्रक्रियामा एउटा वस्तु आफैँ अर्को वस्तुमा रूपान्तरण हुन्छ । यस्तो रूपान्तरणमा वस्तुको अगाडिको अस्तित्व समाप्त हुन्छ र दोस्रो वस्तुमा विलय हुन्छ । दोस्रो वस्तु अघिल्लो वस्तुकै बदलिएका रूपमा अस्तित्वमा आउँछ । बदलिएको दोस्रो वस्तुमा अघिल्लो वस्तुको अस्तित्व हराएको, विलय भएको वा अस्तित्वविहीन भएको, तर सुषुप्तावस्थामा विद्यमान हुन्छ । यस्तो किसिमको रूपान्तरण वा विकास हुने प्रक्रिया नै डाइलेकटिकल प्रक्रिया हो ।
चेतना र पदार्थ एउटै वस्तु, भिन्न रूप
दर्शनका दुनियाँमा चेतना र पदार्थ अलगअलग अस्तित्वसहितको भिन्दाभिन्दै वस्तु हो वा एउटै वस्तुको अलगअलग रूप हो भन्नेमा महान् बहस जारी नै छ । हामीमध्ये धेरैलाई यो बहसभित्र छिर्ने जाँगर चल्दैन जुन बेकारको बहसजस्तो लाग्छ । दर्शनको इतिहासभरि नै यो बहस चल्दै आएको छ । चेतना र पदार्थ बेग्लाबेग्लै अस्तित्व बोकेका विपरीत वस्तु हुन् भन्ने एउटा चिन्तन र यसको ठिकविपरीत चेतना र पदार्थ एउटै वस्तुको भिन्दाभिन्दै रूप हो भन्ने चिन्तन नै दर्शनमा प्रतिस्पर्धी चिन्तन हो । हेगेलको चिन्तनले पदार्थ चेतनाकै बाहिरी रूप हो भन्ने नयाँ चिन्तनको जन्म दिने महत्वपूर्ण काम गरेको देखिन्छ । ब्रह्माण्डको सुरुमा चेतनाको अस्तित्व थियो । महाविस्फोटका कारण चेतना पदार्थमा रूपान्तरण हुने प्रक्रिया सुरु भयो जसमा सबैभन्दा पहिला चेतना पदार्थमा रूपान्तरण भयो । पदार्थमा रूपान्तरण हुँदा चेतना अत्यन्त सानो अंशमा पदार्थका कणकणमा विलय हुन गयो । ब्रह्माण्ड सम्पूर्ण निर्जीव पदार्थमा रूपान्तरण भयो । निर्जीव पदार्थको प्रत्येक अणुमा चेतनाको अत्यन्त सानो कणको अस्तित्व विद्यमान थियो । पदार्थमा रहेको चेतनाको यो अत्यन्त सानो अंश पदार्थभित्र विलयको अवस्थामा थियो । भौतिक पदार्थ जीवनरहित जड पदार्थका रूपमा ढुङ्गा, माटो, पहाड, सागर, महासागर, हिमालसहितको धर्ती भनेको चेतनाको रूपान्तरण मात्र हो ।
निर्जीव पदार्थ जीवित पदार्थमा रूपान्तरण
लामो समयपछि ब्रह्माण्डका अन्य ग्रह निर्जन वा जीवनरहित पदार्थका रूपमा रहिरहे भने पृथ्वीको भौतिक स्थितिका कारण बिस्तारै निर्जीव पदार्थबाट जीवन भएका जैविक पदार्थ विकास हुन गयो । यस प्रक्रियामा निर्जीव पदार्थको ठिकविपरीत गुण भएको जीवनसहितको जैविक पदार्थको विकास भयो । भौतिक पदार्थ जीवनसहितको पदार्थमा रूपान्तरण हुने क्रममा जल र जमिनमा सूक्ष्म जीवाणुदेखि वनस्पति र ठुल्ठुला रुखबिरुवाको विकास भयो । यी सबै जीवित वस्तु निर्जीव वस्तुको विपरीत गुण, धर्म बोकेका वस्तुमा रूपान्तरित भएका हुन् । जीवित वस्तु निर्जीव वस्तुबाट रूपान्तरण हुने क्रममा निर्जीव वस्तुमा विलीनावस्थामा रहेको चेतन तत्वको बाहिरी विकसित रूप नै हो । निर्जीव वस्तुमा सुुषुप्तावस्थामा रहेको चेतनतत्व जीवित वस्तुमा रूपान्तरण हुन र यसले पृथ्वीमा पूर्ण विकास हुन अर्बाैँ वर्ष खर्च भएको देखिन्छ ।
पशुपक्षी जगत्को विकास
रुख, बिरुवा, जङ्गल वनस्पति जगत्को विकासपछि पृथ्वीमा पशुपक्षी जगत्को विकास भयो । वनस्पतिबाट पशुपक्षी जगत्को विकास हुने क्रममा पृथ्वीमा लामो समय खर्च भएको देखिन्छ । पशु जगत्मा गँड्यौलादेखि कमिला हँुदै कछुवादेखि किरा, फट्याङ्ग्रा हँुदै जल र जमिन दुवैमा बाँच्न सक्ने भ्यागुतादेखि गोहीसम्म पृथ्वीमा क्रमशः विकसित हुन करोडौँ वर्ष खर्च भएको छ । पहिला जमिनमा घस्रेर हिँड्ने जीव सर्प, गँगटा हँुदै छेपारो, माउसुली, मुसाजस्ता जीवको विकास भयो भने पछिल्लो समयमा चार खुट्टा भएका कुकुर, बिरालो, गाई, भैँसी, बाघ, भालु, घोडा, हात्ती, जिराफ, उँटजस्ता पशु विकसित हुँदै आए । करोडौँ वर्षपछि पृथ्वीमा पक्षी काग, कोइली, भँगेरा, गिद्धजस्ता अनेकौँ थरीका जमिन र आकाशमा रहन सक्ने चराचुरुङ्गी र पक्षीसहित एक करोड हाराहारीका जीव विकास भए ।
वानर, ओराङओटाङ, चिम्पाञ्जीको विकास
पशुपन्छी जगत्को विकास हुने क्रममा पछिल्लो समय चारखुट्टे वानर, ओराङ्ओटाङजस्ता चिम्पाञ्जी स्तनधारी समूहको विकास हुन गयो । पृथ्वीमा स्तनधारी जीव सबैभन्दा पछिल्लो समयमा विकास भएको जीव हो । तीस लाख वर्षअघि ओराङओटाङ समूह अफ्रिकाको घना जङ्गलमा विकसित भएको थियो । सो समूहमध्ये पहिलोपटक दुई खुट्टाले हिँड्न सक्ने मानिसजस्तै आकारको चिम्पाञ्जीको विकास भयो । चिम्पाञ्जीको विकासपछि यसै समूहमा होमो इरिक्टस भन्ने दुई खुट्टाले हिँड्न सक्ने मानवको विकास भयो । होमो इरिक्टस नै पृथ्वीमा मानव समूहको पहिलो प्रजाति हो ।
जीवन र जगत् चेतनाकै बाहिरी रूप
ब्रह्माण्डको उत्पत्तिदेखि होमो इरिक्टससम्मको उत्पत्तिसम्म पृथ्वीमा अर्बौँ समय बितिसकेको छ । जीवनरहित बन्जर भूमिमा पहिलो जीवनको एककोषीय हँुदै बहुकोषीय जीवको विकास हुँदै मानव जातिको पहिलो पुर्खासम्म जीवको विकास क्रमिक रूपले हँुदै आएको देखिन्छ । स–साना लेउ, काई, अमिवा, पारामेसियम हुँदै वनस्पति र पशुपक्षी जगत्भित्र विभिन्न समूहका वनस्पति र मेरुदण्ड नभएकादेखि ढाड भएका, स्तन नभएकादेखि स्तनधारी जीवजन्तु र पशुपक्षी एकैपटक ईश्वरले सृष्टि गरेका होइनन् । जीवनजगत्का सारा जीव, वनस्पतिदेखि पशुपक्षी तीन अर्ब वर्षभन्दा बढी समय खर्चेर एकपछि अर्को सरल जटिल खालको वनस्पति र पशुपक्षीको क्रमशः विकास हँुदै पृथ्वी जीवनले हराभरा भएको हो । एकातिर ढुङ्गा, माटो, पहाड, हिमाल, मरुभूमिजस्ता जड पदार्थसहितको जगत् छ भने अर्कातर्फ ससाना सूक्ष्म जीवाणुदेखि काई, लेउजस्ता वनस्पति र बोटबिरुवा हुँदै विशाल आकारका रुखले भरिएको जीवनसहितको संसार छ । त्यसैगरी ससाना अविकसित किराफट्याङ्ग्रादेखि माछा, भ्यागुता, गँड्यौला हँुदै विकसित पशुपक्षीको जीवनसहितको संसारले पृथ्वी भरिभराउ छ । यही दुई समूहको संसार नै जीवन र जगत्को दुई संसार हो । यो समूहको संसारमा जगत् भनेको जीवनरहित तथा जीवन भनेको वनस्पतिदेखि पशुपक्षी हुँदै मानिससहितको जीवनले भरिभराउ संसार हो ।
यसरी ब्रह्माण्डको उत्पत्तिका समयमा चेतनाको पदार्थमा रूपान्तरण हुने महाविस्फोटको घटनापछि ब्रह्माण्डभरि पदार्थको फैलने क्रम सुरु भयो । यससँगै पृथ्वी र हाम्रो सौर्यमण्डल आजभन्दा चार दशमलव पाँच अर्ब वर्ष पहिले अस्तित्वमा आयो । त्यसैगरी साढे तीन अर्ब वर्षदेखि पृथ्वीमा जीवनको फैलने क्रम सुरु भयो । आजभन्दा ३० लाख वर्ष पहिले मानव जातिको पहिलो पुस्ता होमो इरिक्टसको पृथ्वीमा उदय भयो । १३ दशमलव आठ अर्ब वर्ष पहिले सानो विन्दुका रूपमा रहेको चेतना महाविस्फोटको घटनापछि आफ्नो विपरीत वस्तुमा रूपान्तरण हँुदै जड पदार्थमा त्यसपछि आफ्नो विपरीत वस्तु, वनस्पति र पशुपक्षीसहितको जीवनको अस्तित्व बोकेको माथिल्लोस्तरको चेतनासहितको जीवमा रूपान्तरण हुने घटना हँुदै चेतनाको सबैभन्दा उच्चस्तरका रूपमा मानव जातिको विकास भएको देखिन्छ । चेतना पदार्थमा, पदार्थ जीवनमा रूपान्तरण हँुदै मानवसम्मको उत्पत्ति भनेको चेतनाको यात्राको इतिहास हो ।