- रत्ननिधि शुक्राचार्य
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने पञ्चाङ्ग निर्णायक विकास समितिमा आजसम्म कमै मात्र ज्योतिष पढेका तथा बढी मात्रामा टपर्टुइँया र कर्मकाण्डीवाला नियुक्त भए । मन्त्रीहरू नै लन्ठुदास हुने हुँदा तिनले त्यस्तै लठैत छान्ने गर्छन् । सुदन किराँती नामका संस्कृतिमन्त्रीले हलिगोठालास्तरका मान्छेलाई प्राज्ञ बनाइदिए । आज एकेडेमीमा दुई वा तीनबाहेक अरूलाई नेपाली शुद्ध लेख्न र बोल्न पनि आउँदैन । पञ्चाङ्ग निर्णायक समितिमा पनि उही हालत छ । एकपल्ट एसियाकै ज्योतिषशिरोमणि कहलिनुभएका नयराज पन्तले पञ्चाङ्गमा सुधार ल्याउन खोज्नुभएको थियो, उहाँलाई समितिबाटै हटाइयो । नेपालमा ज्योतिर्विज्ञानमा विश्वले मानेका पन्तपछि विश्वकै पाँचौँ खगोलविद् डा केशवराम जोशी हुनुहुन्थ्यो । उहाँको निधनपछि ज्योर्तिगणना गर्न सक्ने डा. साम्बराज आचार्य हाल जीवित हुनुहुन्छ जसलाई समितिको उच्च पदमा ल्याइएन । अहिले पनि अशुद्ध पात्राहरू बजारमा छन्, शुद्ध्याउनेतर्पm कसैको ध्यान गएको देखिँदैन । पात्रामा सूर्य सिद्धान्तअनुसार भन्ने देखेपछि मैले समितिकै सदस्यलाई सोधेको थिएँ, सूर्य सिद्धान्तले त दृक्गणितलाई मात्र मान्यता दिन्छ, ‘यथा दृक्तुल्यता ग्रहाः’ भनिएको छ, तर यी पात्राहरू भने आर्ष (पुरानो) पद्धतिका छन्, दृक्गणितसित मिल्दैनन् त भनी जिज्ञासा राख्दा उनले सूर्य नामका मान्छेले पात्रो निकाल्छन्, त्यो नै सूर्य सिद्धान्त हो । ती सूर्य गणित विषयका होइनन्, रामेछापको एक विद्यालयमा प्रधानाध्यापक थिए र राजा ज्ञानेन्द्रका पालामा चाकडी गरेर संस्कृति मन्त्रालय छिरे । त्यति बेला उनी दुईतिरबाट तलब बुझ्थे, पछि हेडमास्टरबाट राजीनामा दिए । चाकडीकै भरमा उनी पञ्चाङ्ग निर्णायक समितिका सचिव भए जो विशुद्ध सरकारी कर्मचारी हुन् । उनले सरकारी कर्मचारी रहेकै अवस्थामा सफ्टवेयर र पात्रो निकाले । कर्मचारीले व्यापार गर्न पाइने हो वा होइन भनी मैले प्रश्न नउठाएको होइन, तर संस्कृतिमन्त्री नै हरिलन्ठु हुने गरेकाले उनले जागिर खाए र व्यापार पनि गरिरहे । उनलाई त ५८ वर्षे हदम्याद पनि लागेन । उनीभन्दा यो विकृति भित्र्याउने संस्कृति मन्त्रालय नै बढी दोषी हो । अहिलेको गणतन्त्रमा पनि राजाका भाइभारदारको हालीमुहाली कायम छ ।
यसपल्ट पनि समितिले दसैँको टीकाको साइत बिहान ११ः३६ बजेको दिएको खबर आयो । पहिलो कुरा साइत भनेको के हो, बुझ्न जरुरी छ । सामान्य टीका लगाउन कुनै साइत चाहिँदैन । तर, दसैँजस्तो विशेष चाडमा अबिर, केशरीजस्ता वस्तुको मिश्रण हुने हुँदा अरू टीकाभन्दा फरक हुने भएकाले साइत निकालिएको हो । साइतको अर्थ मुहूर्त हो, समय हो । यस्तो समय सबैका लागि एकैचोटि उत्तम हुँदैन, किनकि सबैको एउटै राशि र नक्षत्र हुँदैन । जस्तो कि आश्विनशुक्ल दशमी तिथिमा प्रायः मकर राशिमा चन्द्रमा रहन्छ, मकरमा चन्द्रमा हुँदा सिंह र कुम्भ राशिलाई घातकसिद्ध हुन्छ भने वृष र वृश्चिकलाई अर्धघातक हुन्छ । मेष, कर्क, तुला र मकरलाई बढी राम्रो तथा मिथुन, कन्या, धनु र मीनराशिलाई मध्यम फलदायक हुनेछ । यही तथ्य विचारेर हाम्रा प्राचीन महर्षिहरूले समयलाई ध्यान दिएका हुन् । ‘निर्णयसिन्धु’ र ‘धर्मसिन्धु’ले त ‘आश्विनस्य सिते पक्षे दशम्यम् तारकोदय’ अर्थात् आश्विनशुक्ल दशमी तिथिमा राति आकाशमा तारा उदय भएपछि मात्र दशमीको टीका ग्रहण गर्नू’ भनेका छन् । त्यसका लागि ‘अपराह्न अपराजिता’ अर्थात् अपराह्नमा अपराजिता देवीको पूजा गर्नू र देवी विसर्जनपछि मात्र प्रसादस्वरूप टीका ग्रहण गर्नू भनी स्पष्ट किटान गरिएको छ । तर, समितिले यस प्रमाणलाई ध्यान दिएको पाइँदैन । यसपल्ट असोज २६ (दृक्पद्धतिअनुसार असोज २७ गते) शनिबार बिहान ११ः२० सम्म नवमी तिथि छ, जसमा देवीको पूजा हुँदैन, नवकन्याको मात्र हुन्छ । तसर्थ समितिले जे पायो त्यही निर्णय गरेको देखिन्छ । अब दसैँको टीकाचाहिँ किन राति व्यवस्था गरिएको होला भन्ने प्रश्न उठ्न सक्छ । दसैँको टीका प्रायः रातो रङको हुने हुनाले दिउँसो प्रयोग गर्नाले मङ्गल ग्रह सक्रिय भई दुर्घटना, विवाद, झगडा र मारकाट गराउने तथा दुर्घटनाको सम्भावना बढी भएकाले राति गरिएको हो । यति सामान्य कुरा बुझ्ने पनि समितिमा मान्छे नहुनु दुःखद हो र यस्तो साइतमा पनि हेलचेक्र्याइँ गर्नेलाई पदासीन गराइरहने संस्कृति मन्त्रालयको विकृतिलाई न्यायोचित मान्न सकिँदैन ।

माथि दिइएको कुण्डलीलाई विवेचन गरौँ : लग्न भन्नाले सूर्यको वर्तमान समयलाई जनाउँछ । यहाँ इष्टघटिका १३/५४ आउँछ । यतिबेला नेपाली आकाशमा धनु लग्नको सात डिग्री पाँच कला, १३ विकला र मिथुन नवमांश चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मकर राशि, राशिबाट बाह्रौँ लग्न र छैटौँ नवमांशको लग्न भएकाले यो साइत उहाँका लागि घातक हुने देखिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलको कर्कट राशि, उहाँका लागि छैटौँ लग्न र बाह्रौँ नवमांशक लग्न परिरहेको छ । यसप्रकार यो साइत उहाँहरू दुवैले प्रयोग गर्न नमिल्ने देखिन्छ । त्यसमाथि लग्नबाट सप्तममा मिथुनको मङ्गल भएकाले यो लग्न सबैका लागि हानिकारक हुने देखिन्छ । मङ्गल अग्निप्रधान तत्व भएकाले विवाद, झगडा, दुर्घटनामा वृद्धि गराउँछ । साथै लग्नेश वृहस्पति छैटौँमा रहेकाले लग्न कमजोर बनेको छ भने धनु लग्नमा व्ययेश मङ्गल र सर्वथा अकारक सूर्य दशमस्थ भएकाले यस्तो साइत प्रयोग गर्ने जोसुकैको पनि धन, स्वास्थ्य वा आफन्तमा हानि गर्नेछ । षष्ठेश शुक्र र राज्येश बुधको लाभ स्थानमा युति हुनाले राज्यका कर्मचारीले देशलाई हानि हुने मात्र कार्य गर्नेछन् भने राज्यको प्रमुखलाई पिर्ने योग परेको देखिन्छ । नवमांशमा पनि बाह्रौँमा चन्द्र मङ्गल योग एवम् अकारक ग्रह शनि दशम याने राज्यस्थानमा तथा सुखेश बुध छैटौँमा जानाले रोगव्याधिको प्रकोप पैmलिन सक्नेतर्पm सङ्केत गर्छ । लग्नमा शुक्र हुनाले विलासिताका वस्तुमा अत्यधिक खर्च गराउने छ भने प्रबल मारकेश वृहस्पति चौथामा रहेकाले देशका नेतामाथि विपत्ति आइलाग्ने देखिन्छ । समितिले दशममा सूर्य भए राजालाई बल मिल्ने सूत्रका आधारमा यस्तो लग्न चयन गरेको देखिन्छ । तर, धनु लग्नमा सूर्य सर्वथा अकारक ग्रह भएकाले यसले राजपरिवारमा पनि दुर्घटना निम्त्याउने सङ्केत गर्छ । दशममा सूर्य कारक भनेको मेष, वृष र वृश्चिक लग्नलाई मात्र हो, सबैलाई होइन । कतिपयले नवमेश र दशमेशलाई पनि कारक मानेका छन्, तर चौथो, पञ्चम र दशमको मालिक केन्द्रवर्ती भए मात्र कारक योग बन्नेछ । यहाँ ३/६/९/१२ भावका ग्रह अकारक र दुर्बल हुन्, यिनीहरू केन्द्रवर्ती भएमा व्यक्ति, संस्था वा राज्यमाथि सोभैm पीडा दिनेछ । यसर्थ समितिको यो लग्न राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजासमेतलाई हानि गर्नेखालको साइत छ । दसैँको टीकाको साइत खोज्दा अपराह्न १ः३० बजे अगाडि भेटिन्न । बिहान ११ः२० सम्म नवमी नै भएकाले बिहान अर्थात् वृश्चिक लग्न पार्न मिलेन । तसर्थ दिउँसो १ः३० बजे भएमा मकर राशि र मकर लग्न हुनेछन्, प्रायः (कुम्भबाहेक) सबै राशिका लागि सो समयपछि उपयुक्त हुनेछ ।
करिब दुई वर्षअघि पनि समितिले भाइटीकाको साइतमा धनुलग्न पारेको थियो जसले तत्कालीन प्रधानमन्त्री ओलीको बहिर्गमन भयो । सरकारले यस्ता ज्योतिष नपढेका मानिसलाई किन समितिमा राखिरहन्छ, आश्चर्य छ । विश्वमै ३२ दिनका महिना हुँदैनन्, तर समितिले बर्सेनि दुई महिना ३२ को बनाइरहन्छ । संस्कृतिमन्त्रीले पनि विश्वका पात्रा हेर्दा रहेनछन्, नासाबाट प्रकाशित पात्रा नहेरे पनि भारतबाट प्रकाशित पात्रा त पढ्न सक्थे । भारत र नेपालको गणित फरक होइन । फेरि आजभोलि भारतीय पञ्चाङ्गकर्ताले दृक्पद्धतिलाई अपनाएको अर्थात् वेधसिद्ध गणनाका आधारमा पात्रा बनाउने गरेकाले भारतीय पात्राहरू हाम्राभन्दा बढी शुद्ध छन् । यस वर्ष पनि समितिले दुई महिना ३२ को गर्नाले २७ गते टीका हुनुपर्नेमा २६ गते भयो, जब कि भारतीय पात्राहरूमा दसैँको टीका २७ गते अर्थात् असोज १ गते सोमबार छ । सरकारले ज्योतिष पढेका मानिस समितिमा नियुक्त गरेका भए यस्तो समस्या आउने थिएन । त्यसैले दिउँसो १ः३० अगाडि टीका ग्रहण नगर्नु नै वेश होला ।
– यो लेखकको निजी विचार हो ।
प्रतिक्रिया