‘त्रिशूली प्रवाह’ ‘क’ स्थानमै

  • त्रिशूली प्रवाह
  • ४ कार्तिक २०८१, आईतवार १५:२३
trishuli prawaha weekly newspaper thumbnail trishuli web nuwakot

विदुर । नुवाकोट जिल्लाबाट प्रकाशन भईरहेको ‘त्रिशूली प्रवाह’ पत्रिका प्रेस काउन्सिल नेपालको वर्गीकरणमा पुनः ‘क’ स्थानमा परेको छ । काउन्सिलले यही असोज २१ गते प्रकाशन गरेको ‘आव २०७८/०७९ को पत्रपत्रिका वर्गीकरणको पुनरवलोकनसहितको अन्तिम नतिजा’ अनुसार प्रदेशस्तरका पहिलो वर्गमा परेका १६३ पत्रिकामध्ये सो साप्ताहिकले पनि आफ्नो स्तर कायमै राखेको हो ।

काउन्सिलले सो आवमा वर्गीकरण भएका पत्रपत्रिकालाई चित्त नबुझेमा पुनरवलोकनका लागि निवेदन दिन आग्रह गरेकामा भुलवश ‘क’ बाट ‘ख’ मा ओरालिएको २५ वर्ष पुरानो पत्रिका पुनः ‘क’ वर्गमै रहेकामा पत्रिकाका प्रकाशक/सम्पादक शरणउत्सुक सापकोटाले सन्तोष ब्यक्त गरे । साप्ताहिक पत्रिकाको सबै मापदण्ड पुगेको, सफा र रङ्गीन अक्षरमा छापिएको, वर्णविन्यास र समाचार शैलीका हिसाबले पनि शुद्धरूपमा प्रकाशन भएको र अनलाइनमा पनि समेत पढ्न सकिने पत्रिका ‘क’ वर्गमा पर्नै पर्ने आफुहरूको जिकिर रहेकामा काउन्सिलले न्याय दिएको उनले बताए ।

विसं २०५७ वैंशाखदेखि नियमितरूपमा मोफसलबाट प्रकाशन भइरहेको ‘त्रिशूली प्रवाह’ ले राष्ट्रियस्तरका घटना र विश्लेषणका साथै रसुवा, नुवाकोट, धादिङसहित बागमती प्रदेशका राजनीतिक, आर्थिक, सामाजिक, ऐतिहासिक, साँस्कृतिक, साहित्यिक विषय पस्कँदै आएको छ । सम्पादक सापकोटाले आफ्नो पत्रिकाका लागि समसामयिक लेखरचना र समाचारका लागि सूचना सामाग्री दिएर सहयोग गर्न सबैसँग अनुरोध पनि गरे । काउन्सिलका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँकानुसार संस्थामा वर्गीकरणका लागि जम्मा ८ सय ७५ पत्रपत्रिकाले निवेदन दिएका थिए ।