- श्याम रिमाल
काठमाडौंँ । हालको मर्यादाक्रमानुसार राजपत्राङ्कित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी १६ औँ र द्वितीय श्रेणीका १७ औँ नम्बरमा परे पनि पञ्चायतकालसम्म तिनलाई ‘जिल्लाका राजा’ कै रूपमा मानिन्थ्यो । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम (‘राजपत्र’, नेपाल सरकार २०७६ वैशाख १६) गृह मन्त्रालयले तोक्दा मध्यम दर्जामा परे पनि जिल्लामा उनको नै हालीमुहाली चल्छ र जनमानसमा उपल्लो दर्जाको ठानिन्छ । महिलाका हकम पहिले नगण्य भएकामा अहिले उल्लेखनीय सङ्ख्यामा छन् र सञ्चारमाध्यममा समेत छाउन पुगेका छन् । गृह मन्त्रालय र सोअन्तर्गतका कार्यालयमा सचिवभन्दा मुनिका पदमा पदस्थापन हुने प्रायःमा सो पदप्रति आकर्षण छ । जिल्लाका यावत् प्रशासनिक काम र घटनामा प्रमुख प्रशासनिक व्यक्ति प्रजिअको सरोकार हुन्छ नै । आफू खटिएको जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न जिम्मेवार प्रजिअको मु्ख्य कर्तव्य शान्ति, सुरक्षा र व्यवस्था कायम गर्नु, सरकारी नीतिहरूको कार्यान्वयन गर्नु र विभिन्न सरकारी कार्यालयहरूबीच समन्वय गर्नु हो । केही समय सिडियोमा रहँदा पनि त्यसलाई गौरवका रूपमा नै लिइन्छ । नेपाल सरकारका मुख्य सचिवसम्म भएकाहरू पहिले प्रजिअ भएका कतिपय उदाहरण छन् ।
प्रशासनिक पदबाट निवृत्त भएका केहीले निजामती सेवाका अनुभव लेखेका छन् भने केही पूर्वप्रजिअहरूले आफूले भोगेका तितामिठा घटनालाई पुस्तकाकार रूपमा पस्केका पनि छन् । नरेन्द्रराज पौडेल (‘सिडियोका सत्र वर्ष’), नरेन्द्रराज शर्मा (‘सिडियो साहेब’), उषा नेपाल (‘महिला सिडियो’) ले प्रजिअसम्बन्धी शीर्षक नै राखेर कृति प्रकाशनमा ल्याइसकेका छन् । कुनै समय विद्यालयका शिक्षक, प्रधानाध्यापक, संस्थान कर्मचारी हुँदै निजामती सेवामा प्रवेश गर्नुभएका नुवाकोट, विदुर–१०, गेर्खुका रेशमबहादुर पाण्डेले भने आफूले सो पदमा जागिर खाँदासम्म आफू नै कान्छो उमेरको रहेको जिकिर गर्दै ‘कान्छो सिडियो’ (दायित्व वाङ्मय प्रतिष्ठान, नेपाल, २०८०) शीर्षक संस्मरणसङ्ग्रह प्रकाशनमा ल्याउनुभएको छ । साहित्यमा रुचि राख्ने र जागिरकै क्रममा लोकसेवा आयोगका परीक्षार्थीलाई उपयोगी ‘नेपालको इतिहास’ र ‘नेपालको राजनैतिक व्यवस्था’ शीर्षकमा कृति लेखिसक्नुभएका पाण्डेले बेलाबेलामा विभिन्न समसामयिक पत्रिकामा लेखरचना पनि लेख्नुभएको छ, स्मारिका आदि सम्पादन गर्नुभएको छ । दायित्व प्रतिष्ठानबाटै उहाँको सामाजिक उपन्यास ‘बाह्र–सत्तरी’ पनि प्रकाशन भई गत वर्ष माघमा काठमाडौँमा र यस वर्ष वैशाखमा गृह जिल्लामा विमोचन भयो । असल शिक्षक र गुणी प्रशासकको व्यक्तित्व बनाउनुभएका फुर्तिला पाण्डेको लेखक–साहित्यकार व्यक्तित्व पनि यसरी विस्तारै फराकिलो हुँदैछ ।
‘कान्छो सिडियो’ मा कोतपर्व काण्डमा बची नुवाकोट पुगेका वा पृथ्वीनारायण शाहसँगै गोरखाबाट आएका हुन सक्ने पाँडेवंशकै वंशज लेखकले आफ्नो बाल्यावस्था, अध्ययन, नुवाकोट र रसुवाका विद्यालयमा अङ्ग्रेजी शिक्षक र प्रधानाध्यापक पद, शिक्षक सङ्गठन र आन्दोलनका घटनादेखि केही परियोजना र नेपाली सेनाको जागिरे, कर्मचारी सञ्चय कोषदेखि निजामती सेवाका शाखा अधिकृत, सहायक प्रजिअ र प्रजिअ हुँदाका रोचक घटना समेट्नुभएको छ भने दक्षिण कोरिया र अमेरिका भ्रमणका प्रसङ्ग पनि छन् ।
गृह मन्त्रालयमा रहेको केही समयपछि सुरूमा विसं २०४४ तिर उहाँलाई दुर्गम डोल्पा जिल्लामा सिडिओ हुने प्रस्ताव आयो जहाँ भोकमरी, शान्तिसुरक्षा र नागरिकता प्रमाणपत्रका समस्या ज्वलन्त थिए । त्यहाँ बस्दाको प्रशासनिक पदीय द्वन्द्व, घोडा कुदाउँदा पाएको चोट, दसैँमा घर जान पाइने–नपाइने अन्योल जस्ता विषय उल्लेख छन् । पाण्डे जाजरकोटमा ‘सिडियो’ हुँदा सरसफाइको अभाव र दूषित पानीका कारण त्यहाँ फैलिएको झाडापखाला र त्यस प्रकरणका कारण उहाँ गृह मन्त्रालय फिर्ता हुनुपरेको विसं २०६६ को घटना त चर्चित नै छ । मिडियाले रोगबाट मर्नेको सङ्ख्या बढाइचढाइ गर्ने र सरुवा रोग भनी आतङ्क फैलाउने, चिकित्सक टोली र औषधिका दाता रोग प्रभावित क्षेत्रमा जाँदै नजाने र औषधि र उपकरण सदरमुकाममै छाडी तस्बिर खिच्ने, अन्तर्वार्ता लिने र प्रचारप्रसारमा रमाउने जस्ता अप्रिय घटनाका बिच औषधि वितरण र चिकित्सा सेवाको समन्वय गर्दा खेप्नुपरेको सास्तीको विवरण लेखकले पीडाका साथ उतार्नुभएको छ । त्यति हुँदा हुँदै पनि आफ्नो निष्क्रियता र औषधोपचारमा ध्यान नदिइएको आरोप तत्कालीन सरकारबाट लगाइएकामा प्रजिअ पाण्डे निकै दुःखी हुनुभयो । केन्द्रबाट आएका पाहुनाहरूको खातिरदारी गर्नैमा समय दिनुपरेपछि उहाँले पनि कतातिर हेर्न भ्याउनु ? पाण्डे लेख्नुहुन्छ, “यो त राज्यसंयन्त्रको कमजोरी लुकाउन गरिएको अभिनयको पटाक्षेप मात्र थियो । म त्यस घटनापछि पनि सशरीर साढे दुई महिना जाजरकोटको प्रजिअमा नै बहाल रहेर…बिदाइ हुनुभन्दा केही अघि नै नेपाली सेना र, प्रहरी र सशस्त्र प्रहरीको घरघर गएर उपचार गर्ने रणनीतिक कार्यले झाडा–पखाला नियन्त्रणमा आइसकेको थियो । ”
एकपटक उहाँले आफ्नै अङ्गरक्षकले पेस्तोलद्वारा आत्महत्या गरेको घटना पनि सुन्नु–भोग्नुपर्यो। उहाँ रसुवा, बाजुरा, रामेछाप र बर्दियामा पनि सिडिओ हुन पुग्नुभयो र आफ्ना कामकाजका सन्दर्भमा राजनीतिक नेता तथा आफ्ना हाकिमहरूसँग निडरता र स्वाभिमानका साथ प्रस्तुत हुनुभयो ।
गृह मन्त्रालयमा करिब २८ वर्षे कार्यकालअन्तर्गत अध्यागमन कार्यालयमा रहँदा पाण्डे सुन बरामद काण्ड तथा ठुलै व्यक्तिले पनि आफ्नो नाम र कसैले आफू बस्ने ठेगाना पूरा नलेख्ने प्रवृत्ति देख्नुभयो । गृह मन्त्रालयमा अङ्गीकृत नागरिकतामा हुने ठुलै चलखेल हुने गरेको, मन्त्रालयमै शाखा अधिकृत भएका बेला नुवाकोट घर आएका बखत २०५७ बुद्धजयन्तीका दिन राति माओवादीहरूले आफूसँग तर्साएर बन्दुक माग्न आएको, जिल्लामा प्रहरी र अन्य व्यक्ति–कर्मचारीले आफूलाई मन्त्री, सचिव भनी व्यवहार गरेको, आफूहरू बस्ने ठाउँ सुविधामूलक नभएको भनी सशस्त्र द्वन्द्वबाट सांसद भएकाहरूले आफ्नो जागिरै खाने धम्की दिएको जस्ता घटना पनि उहाँले भोग्नुभयो । ‘केही पूरक घटनाहरू’ मा पाण्डे लेख्नुहुन्छ, “कैलालीका सिडियोले छोराको विवाह गर्न पाँच दिनको बिदा नपाएर बिहा रोकिएको कुरा सुन्दा उनको निर्दयी व्यवहारबारे बुझिन्थ्यो । अझ कञ्चनपुरका सिडियोले स्वास्थ्य जाँच गर्न बिदा नपाएर स्थानीय अस्पतालमा भर्ना भएको तथ्य झन् दर्दनाक थियो ।” एकातिर सिडियोले कर्मचारीलाई पेल्ने तथा प्रजिअ आफैँ अञ्चल र क्षेत्रीय प्रशासकबाट प्रताडित हुने जस्ता घटना पनि लेखकले सविस्तार वर्णन गरेका छन् ।
विदेशका घटनाका रूपमा, दक्षिण कोरियामा कारहरूको लाम र होटेलमा राखिएको खानेकुराका ताँती देखेको, अमेरिकामा घडीको समय नमिलाएकाले आफ्नो जहाज उडान गुमेको, डल्लास विमानस्थलमा बङ्गलादेशी कर्मचारीसँग उर्दुमा दुःखसुखका कुरा गर्न पाएको र उसले मोबाइल दिएर छोरासँग कुरा गर्न सहयोग गरेको, ज्याक्सन हाइटमा पतिबाट धोका पाएकी नेपाल, गोदावरीकी एक महिलाले फुलको व्यापार गरी जीवन धानेको, न्युयोर्क, टाइम्स स्क्वायरमा जुत्ताको सानोतिनो मर्मत गर्दा पाँच डलरसम्म तिर्नुपरेको, कागजी विवाह गरेर अमेरिका पु¥याइएकी एक युवतीले लेखकका छोराको साथीलाई पैसा खर्च गराएर हत्तु पारेको र अन्त्यमा ६५ हजार डलरमा सम्बन्ध विच्छेद गर्नुपरेको, अमेरिकाको लुजियानास्थित छोराको डेरामा भएको आगलागीले आफ्नो सातोपुत्लो उडेकोे जस्ता विदेशमा बस्दाका घटना र तिनका नालीबेली पनि ३६ संस्मरणसहितको कृतिमा समेटिएका छन् ।
लेखकले आफू शिक्षक र निजामती सेवाका विभिन्न पद खासगरी सिडिओ हुँदाका घटना एवं विदेश भ्रमणका विवरण सिलसिलेवार मिति र विषय नमिलाई छरपस्ट गरेर प्रस्तुत गर्नुभएको छ भने कतिपय संस्मरणमा मिति नै खुल्दैन । उहाँले आफूलाई नेपालकै कम ३३ वर्षमा ‘कान्छो सिडियो’ भनी भूमिकाका रूपमा प्रस्तुत ‘आफ्नो कुरा’ मा मात्र सामान्य ढङ्गले मा उल्लेख गर्नुभएको छ । कुन मितिमा तथा कहिलेदेखि कहिलेसम्म आफू कम उमेरको प्रजिअ भएको भनी ‘यसरी शुरु भयो सिडियोको जागिर’ शीर्षक संस्मरणमा स्पष्ट खुलाइदिएको भए राम्रो हुन्थ्यो । कुनै कुनै शब्द, वर्णविन्यास, वाक्यगठनमा समस्या देखिन्छन् भने केही पुनरुक्तिको दोष पनि छ । नेपालको शिक्षा, प्रशासन र इतिहासमा रुचि राख्ने तथा प्रशासक एवं निजामती कर्मचारीका लागि कृति उपयोगी छ ।
प्रशासक पाण्डेको उपन्यास
निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीबाट अवकाश पाउनुभएका पाण्डे विद्यार्थी र शिक्षक हुँदाकै बखत कविता र उपन्यास लेखनमा सक्रिय हुनुहुन्थ्यो । लेखकले सेवानिवृत्तिपछि संस्मरणका साथै एक नेपाली टुक्कालाई शीर्षक बनाएर लेख्नुभएको ‘बाह्र–सत्तरी’ उपन्यास भने लम्बेतान गफमा केन्द्रित छैन । बरु यसमा एक पुरुषको १२ वर्षको किशोर वयदेखि ७२ वर्षसम्म वृद्धावस्थाको मनमौजी जीवनलाई उधिन्नुभएको छ । उपन्यासको प्रमुख पात्र दिवाकरले सानै उमेरदेखि धेरै युवतीहरूसँग राखेको सम्बन्धपछि सन्तुष्टि पाए पनि प्रौढावस्थामा भने ऊ अध्यात्मतिर लाग्छ । ऊ समाजमा जीवनको उत्तराद्र्धतिर आध्यात्मिकतातिर लाग्ने सर्वसाधारणकै श्रेणीमा उभिन आइपुग्छ । “यौन विषयलाई पस्केर समाजको संस्कारमा हस्तक्षेप गरेको भन्ने गुनासो आउन सक्छ । जीवनचक्रको अभिन्न अङ्गको रूपमा व्याप्त यौन विधालाई नजरअन्दाज गरेर मैले ढाँट्न चाहिनँ ”, उपन्यासकार आफ्नो भूमिकामा स्पष्ट गर्नुहुन्छ । सक्रिय जीवनमा भौतिकतामा रमाए पनि मानिस आखिर आध्यात्मिकताको शरणमा पर्नैपर्छ भन्ने लेखकको दृष्टिकोणसँग सबै सहमत हुन नसके पनि दमित इच्छा र कुण्ठा पालेर बस्न नहुने सन्देश भने मननयोग्य हुन सक्छ ।