काठमाडौंँ । संसद्को दोस्रो ठुलो दल नेकपा (एमाले) लाई पार्टी कार्यालय बनाउनका लागि व्यवसायी मीनबहादुर गुरूङले कीर्तिपुरको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दान गरेकामा पार्टीभित्रै विरोध सुरू भएपछि स्पष्टीकरण माग गरिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले धुपौरो र दाता भनिएका गुरूङले धुपौरो लिँदै शिलान्यास गरे पनि त्यसमा लेनदेनको खेल रहेको धेरैले अनुमान गरेकामा पार्टी नेता डा भीमबहादुर रावल, डा बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनाले स्पष्टीकरण मागको डन्डा पाएका छन् ।
एमालेका नेतादेखि विपक्षी र सर्वसाधारणले समेत अभिव्यक्त गरेको विरोधले गत हप्ता सामाजिक सञ्जाल भरिएका थिए । पार्टीको निर्णयविरूद्ध बोलेको भनी आइतबार बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य नुवाकोटका डा पाण्डे र केन्द्रीय सदस्य तिमिल्सनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । पूर्वउपाध्यक्ष डा रावलसमेत पार्टीको मुख्यालय निर्माणका लागि लिइएको दानका विषयमा विरोध गरेका कारण स्पष्टीकरणमा परेका छन् ।
एमाले कार्यालयका लागि ललिता निवास प्रकरणका दोषी व्यवसायी गुरूङले कीर्तिपुरको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा दान गरेका छन् । गुरूङले एक वर्षभित्र भवन निर्माण गर्ने जिम्मेवारीसमेत लिएका छन् । पार्टी कार्यालय निर्माणमा व्यवसायीको दान लिएपछि डा रावल, डा पाण्डे र तिमिल्सनाले विरोध गरेका थिए । एमाले महासचिव शङ्कर पोखरेलका अनुसार पार्टी निर्णयविरूद्ध अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोधिएको हो । उनीहरूले व्यापारी गुरूङबाट जग्गा दान लिएर पार्टी भवन निर्माण गर्ने कुरा गलत भएको भनी सार्वजनिक अभिव्यक्ति दिएका थिए । स्थायी कमिटी सदस्य डा पाण्डेले ‘पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम’ भएको सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।
व्यापारव्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गÞलत भएको भनी उनले आलोचना गरेकी थिइन् । “दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ”, पाण्डेले लेखेकी थिइन् । उनले उक्त जग्गा फिर्ताको माग पनि गरेकी थिइन्, “समय घर्किसकेको छैन । मनमोहन र मदनले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौँ ।” केन्द्रीय सदस्य तिमिल्सनाले व्यापारीले बनाइदिएको महलभन्दा आफ्नै पसिनाले सिञ्चित भवन प्यारो हुने बताएकी थिइन् । “हामीलाई कुनै व्यापारीले बनाइदिएको ठुलो महलभन्दा मदननगरमा जति मिल्छ त्यति नै आफ्नो पसिनाले सिञ्चिएको भवन प्यारो र गर्विलो हुनेछ”, उनले भनेकी थिइन्, “म नेतृत्वसमक्ष निवेदन गर्न चाहन्छु, यो निर्णय फिर्ता लिइयोस् । हामीलाई बाँचुन्जेल एमाले भएर स्वाभिमानका साथ उभिने भूमि बाँकी राखिदिनुहोस् ।” यसरी एमाले नेतृत्व विरोधीको सखाप गरेर एकलौटी गर्ने ढङ्गले अघि बढिरहेको देखिएको छ । कसैले त अध्यक्ष ओलीलाई स्टालिनपथमा लागेको भनेर पनि टिप्पणी गरेका छन् ।
–––