विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत महिनादेखि क्यूआर कोर्ड प्रयोग गरी गुनासो गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ । कार्यालयबाट हुने सेवाको बारेमा सेवाग्राहीको कुनै गुनासो भए क्यूआर कोर्डमार्फत् गुनासो राख्न सकिने प्रणाली गत असोज २२ गतेदेखि सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । क्यूआरमार्फत् दैनिक ५/६ वटा गुनासो आईरहेको समेत उहाँले बताउनु भयो ।
आम उपभोक्ता र सर्वसाधारण जनसमुदायको चासो र हितलाई ध्यानमा राखी ‘स्वच्छ प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने नारालाई साकार पार्न उपभोक्ताले क्यूआरमार्फत् यस कार्यालय र सम्बन्धित निकायमा गुनासो पेश गर्न सकिने प्रणाली सञ्चालनमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिनुभयो । सहायक प्रजिअ हुमागाईको अनुसार खाद्यान्न तथा अन्य वस्तु, होटल तथा खाजा घरको सेवा, यातायात सेवा र औषधी पसलको सेवा सम्बन्धी गुनासो राख्न सकिने व्यवस्था गरिएको छ । कार्यालयले जिल्लाको १२ वटै पालिका र जिल्लामा रहेका सरोकारवाला सबै निकायबाट प्रवाह हुने सेवाको गुनासो गर्न सेवाग्राही सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया