Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी दिवसमा दुई दर्जन सम्मानित

प्रहरी दिवसमा दुई दर्जन सम्मानित
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । उनन्सत्तरीऔँ प्रहरी दिवसका अवसरमा गत मङ्गलबार जिल्ला प्रहरी कार्यालय नुवाकोटले भवन निर्माणका लागि जग्गा दान गर्ने जनप्रतिनिधिसहित उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रहरी कर्मचारीसहित खेलकुद प्रतियोगिता, रक्तदानदेखि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयन एवं भौतिक पूर्वाधार तथा स्रोत साधन व्यवस्थापनलगायत प्रहरीलाई सूचना प्रदान गर्ने एवं अपराध रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक सूचना सम्प्रेषण गर्नेलाई सम्मान गरिएको थियो । उक्त अवसरमा गरिएको रक्तदान कार्यक्रमका सहभागी प्रनाउ तिलक भारतीसहित २३ विभिन्न दर्जाका प्रहरी कर्मचारी र ज्येष्ठ पूर्वप्रहरी हवल्दार विदुर–२ बस्ने ८२ वर्षीय तेजप्रसाद उपाध्यायलाई सम्मान गरिएको थियो । दिवसका अवसरमा आयोजित खेलकुद प्रतियोगिता ब्याडमिन्टनतर्फ प्रथम हुने प्रनानि गणेश लामा, प्रहरी जवान (प्रज) सिमुन कुमाईँ, द्वितीय हुने प्रज सन्तलाल तामाङ, प्रज भूपेन्द्र चन्द र तृतीय हुने प्रहरी हवल्दार काशी थापा मगर, प्रसह सन्तोष खड्का, घैँटो फुटाइ कार्यक्रममा प्रथम हुने प्रवह लुमणीप्रसाद धिताल र प्रज सबिना चौधरीलाई पुरस्कारसहित प्रमाणपत्र वितरण प्रदान गरिएको कार्यालयले जनाएको छ । प्रहरीलाई भौतिक पूर्वाधार व्यवस्थापनका लागि सहयोग गर्ने लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर लामा तामाङ र प्रहरीचौकी गोल्फुभन्ज्याङ निर्माणका लागि एक रोपनी नौ आना जग्गा दान गर्ने दुप्चेश्वर–४ का केशाङ शेर्पालाई पनि सम्मान गरिएको थियो । अपराध रोकथाम र नियन्त्रणको लागि सबैभन्दा धेरै सचेतनामूलक सूचना सम्प्रेषण गरेकोमा रेडियो भैरवीका अध्यक्ष एवं वरिष्ठ पत्रकार देवचन्द्र भट्ट पनि सम्मानित हुनुभएको छ ।

प्रहरी कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्ने १५ जना प्रहरी कर्मचारी सो अवसरमा पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालयका प्रबनानि हरि चौहान, प्रसह राजन पण्डित, प्रज बालकृष्ण अर्जेल क्षेत्री, प्रज सुस्मिता राई, प्रसनि पवन बस्नेत र शुकु तामाङ, कार्यालय सुरक्षा गार्ड प्रसनि केशवमान डङ्गोल, प्रजिअ निवास गार्डका प्रह नारायण अधिकारी, इप्रका ढिकुरेका प्रह सस्तबहादुर वली, अस्थायी प्रहरी पोस्ट कोल्फुटारका प्रसह बिर्खराज गुरूङ, गुर्जेभन्ज्याङका प्रज भरतराज आचार्य र प्रअ विनोद राना, तथा छहरेका प्रसह विनोद थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रसह सन्तोष खड्का, इप्रका चोगतेका प्रज राजेशबहादुर खत्री थिए । सो अवसरमा अमर प्रहरीका परिवारमध्येबाट सम्मानित हुनेमा लिखु-१ का अमर प्रहरी प्रज कृष्ण घलेकी धर्मपत्नी उर्मिला, विदुर-९ का अमर प्रहरी प्रज लोकबहादुर बोगटीकी धर्मपत्नी लोदेवी, विदुर-४ का अमर प्रहरी प्रज कृष्णबहादुर शाहीकी धर्मपत्नी गङ्गादेवी र विदुर-१० गेर्खुका अमर प्रहरी प्रज शिवबहादुर थापाका बुबा बलबहादुर थापा छन् ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीका प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको सन्देश वाचन प्रनाउ भारतीले गर्नुभएको थियो । उक्त कार्यक्रममा पूर्वप्रहरी सङ्गठन नुवाकोटका अध्यक्ष होमबहादुर तामाङ, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, नेकपा (माओवादी केन्द्र) का जिल्ला प्रमुख पुष्प लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला प्रमुख रामेश्वर गजुरेल, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलगायतले कर्तव्य र जिम्मेवारी पालनामा सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले महिला तथा बालबालिकामाथि हुने हिंसा, भ्रष्टाचार, छुवाछुतलगायत आपराधिक गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरी अपराधीलाई कानुनको दायरामा ल्याउन आफूहरू जिल्लाको सुरक्षामा अहरोत्र खटिरहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह