+
Search

ताजा अपडेट +

पपुलर +

धार्के-सीतापाइला सडक कालोपत्रे सुरू

धार्के-सीतापाइला सडक कालोपत्रे सुरू
त्रिशूली प्रवाह
१ साल अगाडी
  • राजेन्द्र बस्नेत

धादिङबेँसी । त्रिभुवन राजपथ, नागढुङ्गा-नौबिसे सडकखण्डको चाप घटाउन २०४५ सालतिरदेखि निर्माण गरिएको धार्के-सीतापाइला सडक ३६ वर्षपछि अहिले कालोपत्रे भइरहेको छ । धुनीबेँसी नगरपालिका वडा नं ५ को कार्यालय अमलेचौरदेखि ठुलोखोलासम्म नौ किलोमिटर सडक आइतबारदेखि कालोपत्रे थालनी भएको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

उक्त सडकखण्डको कालोपत्रे गर्न भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्राइभेट लिमिटेडले २०८१ असार २२ गते निर्माण सक्ने गरी २०७९ असार २३ गते सडक डिभिजन नुवाकोटसँग सम्झौता गरेको थियो । सङ्घीय सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट निर्माणाधीन सडक भीमेश्वर प्रालि र गोर्खा एग्रोप्रिरेड प्रालिले निर्माण जिम्मा लिएका थिए । भीमेश्वर प्रालिबाट सडक कालोपत्रे गर्ने जिम्मा सबकन्स्ट्रयाकमा गोरखकाली कन्स्ट्रक्सन एन्ड मल्टी प्रपोज कम्पनी प्रालिलाई दिइएको थियो । तोकिएका समयमा निर्माण तथा कालोपत्रे गर्ने काम नसकिएपछि आगामी मङ्सिर १५ गतेसम्मलाई म्याद थप गराई निर्माण द्रुतगतिमा अघि बढाइएको डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । यही कात्तिक ४ गतेदेखि बिबिएम र आक्सफाल प्रविधिबाट कालोपत्रे गर्ने काम सुरू गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि रामचन्द्र न्यौपानेले बताउनुभयो ।

सडक डिभिजन नुवाकोटका इन्जिनियर पुरूषोत्तम भण्डारीका अनुसार समयभित्र कालोपत्रे सक्ने योजनानुसार निर्माण कम्पनीले काम गरिरहेको छ । धार्के–सीतापाइला सडक २४ किमी मात्र छ । आउने असारसम्म बाँकी रहेका खण्ड पनि कालोपत्रे हुन्छ । सो सडकखण्डको १० किमी भाग काठमाडौंँ जिल्लामा पर्छ । काठमाडौंँतर्फ सात सय ५० मिटर कालोपत्रे गर्न बाँकी रहेकामा अहिले काम भइरहेको छ । धादिङ खण्डमा १४ किमी पर्ने र पाँच सय मिटर पिच गर्ने काम ठेक्का लगाउन बाँकी छ । बाँकी काम पूरा गर्न चालु आवमा नै सक्ने गरी ठेक्का निकाल्ने तयारी रहेको सडक विभागले बताएको छ ।

सो सडकखण्डअन्तर्गत अमलेचौरदेखि ठुलोखोलासम्म कात्तिक ४ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि अत्याआवश्यकीय सवारी साधनबाहेकलाई रोक लगाइएको सूचना धुनीबेँसी-५ का वडाध्यक्ष विशाल भट्टराईले जारी गरेका छन् । “यो सडकको परिकल्पना गर्नेले त्रिभुवन राजपथ नौबिसे-नागढुङ्गा उकालोमा हुन सक्ने सम्भावित ट्राफिक जामलाई अनुमान गरेर गरेको हुनुपर्छ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो । सामान्य मार्ग खोल्ने काम सकिएको ३० वर्षसम्म सो सडक केन्द्रीय सरकारको प्राथमिकतामा नपर्दा यात्रुले बर्साैँदेखि नागढुङ्गाको जाममा रोकिन मात्र परेन, गत असोज १२ गते ३५ यात्रुले ज्यानसमेत गुमाउन पुगे ।

सो सडकखण्ड धादिङको पूर्वी क्षेत्र अर्थात् काठमाडौंँसँग सिमाना जोडिएको धुनीबेँसी नगरपालिका भएर राजधानीलाई जोड्ने मुख्य र सहायक राजमार्ग हो । धार्के-नागढुङ्गा करिब १४ किमी साबिकको नौबिसे गाविस अर्थात् हाल धुनीबेँसी-६, ७, ८ र ९ मा पर्छ । यसैगरी धार्के-सीतापाइला १४ किमी सडक धुनीबेँसी-६, ५, ३, २, हुँदै काठमाडौंँ जोड्छ । धार्के-सीतापाइला सडकखण्डको ठुलो खोलाबाट भीमढुङ्गा-लामीडाँडा सडकअन्तरगत धुनीबेँसी-१ र ४ हुँदै थाक्रे-९ र १० तथा गल्छी-८ र ७ पुग्छ । धुनीबेँसी र थाक्रेका किसानले ती तिनै सडकको अधिकतम उपभोग गरिरहेका छन् । तिनले यहाँ उत्पादन भएका ताजा तरकारी तथा फलफुल र दुध काठमाडौंँका उपभोक्तालाई बेचेर जीविकोपार्जन गरेका मात्र छैनन्, धेरैथोरै आर्थिकोन्नति पनि गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह