+
Search

ताजा अपडेट +

पपुलर +

धार्के-सीतापाइला सडक कालोपत्रे सुरू

धार्के-सीतापाइला सडक कालोपत्रे सुरू
त्रिशूली प्रवाह
७ महिना अगाडी
  • राजेन्द्र बस्नेत

धादिङबेँसी । त्रिभुवन राजपथ, नागढुङ्गा-नौबिसे सडकखण्डको चाप घटाउन २०४५ सालतिरदेखि निर्माण गरिएको धार्के-सीतापाइला सडक ३६ वर्षपछि अहिले कालोपत्रे भइरहेको छ । धुनीबेँसी नगरपालिका वडा नं ५ को कार्यालय अमलेचौरदेखि ठुलोखोलासम्म नौ किलोमिटर सडक आइतबारदेखि कालोपत्रे थालनी भएको हो ।

उक्त सडकखण्डको कालोपत्रे गर्न भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्राइभेट लिमिटेडले २०८१ असार २२ गते निर्माण सक्ने गरी २०७९ असार २३ गते सडक डिभिजन नुवाकोटसँग सम्झौता गरेको थियो । सङ्घीय सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट निर्माणाधीन सडक भीमेश्वर प्रालि र गोर्खा एग्रोप्रिरेड प्रालिले निर्माण जिम्मा लिएका थिए । भीमेश्वर प्रालिबाट सडक कालोपत्रे गर्ने जिम्मा सबकन्स्ट्रयाकमा गोरखकाली कन्स्ट्रक्सन एन्ड मल्टी प्रपोज कम्पनी प्रालिलाई दिइएको थियो । तोकिएका समयमा निर्माण तथा कालोपत्रे गर्ने काम नसकिएपछि आगामी मङ्सिर १५ गतेसम्मलाई म्याद थप गराई निर्माण द्रुतगतिमा अघि बढाइएको डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । यही कात्तिक ४ गतेदेखि बिबिएम र आक्सफाल प्रविधिबाट कालोपत्रे गर्ने काम सुरू गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि रामचन्द्र न्यौपानेले बताउनुभयो ।

सडक डिभिजन नुवाकोटका इन्जिनियर पुरूषोत्तम भण्डारीका अनुसार समयभित्र कालोपत्रे सक्ने योजनानुसार निर्माण कम्पनीले काम गरिरहेको छ । धार्के–सीतापाइला सडक २४ किमी मात्र छ । आउने असारसम्म बाँकी रहेका खण्ड पनि कालोपत्रे हुन्छ । सो सडकखण्डको १० किमी भाग काठमाडौंँ जिल्लामा पर्छ । काठमाडौंँतर्फ सात सय ५० मिटर कालोपत्रे गर्न बाँकी रहेकामा अहिले काम भइरहेको छ । धादिङ खण्डमा १४ किमी पर्ने र पाँच सय मिटर पिच गर्ने काम ठेक्का लगाउन बाँकी छ । बाँकी काम पूरा गर्न चालु आवमा नै सक्ने गरी ठेक्का निकाल्ने तयारी रहेको सडक विभागले बताएको छ ।

सो सडकखण्डअन्तर्गत अमलेचौरदेखि ठुलोखोलासम्म कात्तिक ४ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि अत्याआवश्यकीय सवारी साधनबाहेकलाई रोक लगाइएको सूचना धुनीबेँसी-५ का वडाध्यक्ष विशाल भट्टराईले जारी गरेका छन् । “यो सडकको परिकल्पना गर्नेले त्रिभुवन राजपथ नौबिसे-नागढुङ्गा उकालोमा हुन सक्ने सम्भावित ट्राफिक जामलाई अनुमान गरेर गरेको हुनुपर्छ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो । सामान्य मार्ग खोल्ने काम सकिएको ३० वर्षसम्म सो सडक केन्द्रीय सरकारको प्राथमिकतामा नपर्दा यात्रुले बर्साैँदेखि नागढुङ्गाको जाममा रोकिन मात्र परेन, गत असोज १२ गते ३५ यात्रुले ज्यानसमेत गुमाउन पुगे ।

सो सडकखण्ड धादिङको पूर्वी क्षेत्र अर्थात् काठमाडौंँसँग सिमाना जोडिएको धुनीबेँसी नगरपालिका भएर राजधानीलाई जोड्ने मुख्य र सहायक राजमार्ग हो । धार्के-नागढुङ्गा करिब १४ किमी साबिकको नौबिसे गाविस अर्थात् हाल धुनीबेँसी-६, ७, ८ र ९ मा पर्छ । यसैगरी धार्के-सीतापाइला १४ किमी सडक धुनीबेँसी-६, ५, ३, २, हुँदै काठमाडौंँ जोड्छ । धार्के-सीतापाइला सडकखण्डको ठुलो खोलाबाट भीमढुङ्गा-लामीडाँडा सडकअन्तरगत धुनीबेँसी-१ र ४ हुँदै थाक्रे-९ र १० तथा गल्छी-८ र ७ पुग्छ । धुनीबेँसी र थाक्रेका किसानले ती तिनै सडकको अधिकतम उपभोग गरिरहेका छन् । तिनले यहाँ उत्पादन भएका ताजा तरकारी तथा फलफुल र दुध काठमाडौंँका उपभोक्तालाई बेचेर जीविकोपार्जन गरेका मात्र छैनन्, धेरैथोरै आर्थिकोन्नति पनि गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह