गत्लाङमा पर्यटनसँगै बन्दाखेती फस्टाउँदै

  • त्रिशूली प्रवाह
  • ८ कार्तिक २०८१, बिहीबार १२:३१
  • सरस्वती न्यौपाने

रसुवा । आमाछोदिङ्मो-३ गत्लाङमा पछिल्ला केही वर्षदेखि घरवास पर्यटन सञ्चालन भएसँगै जैविक तरकारी खेती गर्ने कृषकको सङ्ख्या बढिरहेको छ । दुई हजार पाँच सय मिटरको उचाइमा रहेको गत्लाङका कृषकले अहिले बन्दाखेती गरेरै मनग्य आम्दानी लिइरहेका छन् । गत्लाङमा बर्खे आलुको समेत राम्रो व्यावसायिक उत्पादन भइरहेको छ ।

गाउँपालिकाको पहलमा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहयोगमा विगतको ‘कालो गाउँ’लाई गत वर्षदेखि घरवास पर्यटनस्थल बनाइएको छ । घरवास सुरुवातसँगै आन्तरिक र बाह्य पर्यटकको आगमन बढेपछि स्थानीयवासीलाई गाउँमै रोजगारीको अवसर मिलेको रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुप्पसाङ तामाङले बताए । गत्लाङमा पाँच सय घरधुरी रहेको त्यहाँका सबैजना कृषि पेसामा छन् र बन्दाखेती सबैले नै गरेका छन् । गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङका अनुसार बन्दा फलेपछि असोजको दोस्रो हप्तादेखि कात्तिकभरि याम भएकाले सो समयमा एक घरधुरीले रु. ५० हजारदेखि रु. तीन लाखसम्म लिन्छन् । यहाँका ९९ प्रतिशत मानिस कृषिमा लागेको र सबैले बन्दा लगाएका छन् । अर्का स्थानीय घरवास सञ्चालक तथा बन्दाकृषक फुर्पुसिङ्गी तामाङ भन्छन्, ‘असोज दोस्रो हप्तादेखि कात्तिकसम्म बजारमा अत्यधिक माग हुने र चितवन, काठमाडौँ, धादिङ, रसुवासम्म जान्छ । तीसदेखि ५० केजीसम्मको बोरामा राखी गाडीमा सप्लाई हुन्छ । ठेकेदार नै बारीमा आइपुग्छन् । सिजनमा उनीहरूले करिब रु ५० लाख आम्दानी गर्छन् ।’

गत्लाङमा आलुखेती सोचेभन्दा राम्रो हुन नसकेपछि पूरै गाउँले बन्दाखेतीमा लागेको र नसोचेको व्यापार भएको अर्का कृषक सूर्य तामाङले बताए । सो ठाउँ आलुको प्रख्यात गाउँ हो । यहाँ सिमी पनि फल्छ । जलवायु परिवर्तन हो या के भएर हो यस वर्ष सोचेजस्तो आलु र सिमी फलेन, तर बन्दाबाट सन्तोषजनक व्यापार भएको अर्का घरवास सञ्चालक अविनाश तामाङ बताउँछन् । गाउँपालिकाले ‘कालो गाउँ’लाई जीवित राख्न विशेष पहल गरिरहेको पालिका प्रमुख बुचुङ तामाङ बताउँछन् । वि.सं. २०७२ को भूकम्पका कारण क्षति भएको पाङ्लिकको काठले बनेको एकै किसिमको छानावाला घर भएको गत्लाङ गाउँ रङ्गी–बिरङ्गी भएर कुरूप नै बनेपछि पालिकाले यसलाई पहिलेकै जस्तो कालो छानाका लागि विशेष पहल गर्दै छ । यहाँ विशुद्ध तामाङ बस्ती छ जहाँ धर्मसंस्कृति र परम्परा आफ्नै छ । जैविक खाना पाइने सो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक छ । वन क्षेत्रमा पर्ने सो ठाउँमा धार्मिकस्थल पार्वतीकुण्डसमेत छ । गोल्जुङबेँसीमा मल्लकालीन दरबार र भीमसेनको मन्दिरसमेत छ ।