धादिङबेँसी । नेपालमा उत्पादित स्वादिलो जैविक स्याउ बिक्री नभएर गोर्खा, मनाङ, मुस्ताङ, मुगु, जुम्लाका किसान रोइरहेका बेला रूबीभ्याली गाउँपालिका, तिप्लिङका किसानलाई भने उत्पादित स्याउ गाउँमै मागअनुसार पुर्याउन धौधौ परिरहेको छ । एउटै जिल्लामा तराई, पहाड र हिमाली हावापानी पाइने नेपालको एक मात्र जिल्ला धादिङको उच्च भागमा रहेको तिप्लिङ गाउँ गत वर्षदेखि स्याउ उत्पादनले चर्चामा आइरहेको छ ।
जिल्लाको भू–भाग समुद्री सतहबाट तीन सय मिटरदेखि सात हजार एक सय मिटरसम्मको उचाइमा रहेकाले भौगोलिक विविधता र सम्भावनाले भरिपूर्ण छ । दक्षिणमा महाभारत लेक र उत्तरमा पाबिल हिमालको काखमा रहेको तिप्लिङ गाउँ विगतमा आलुखेतीले प्रसिद्ध थियो । केही वर्षयता तिप्लिङ रुबी ढुङ्गाको चर्चामा रह्यो । रूबीकै नामबाट अहिले गाउँपालिकाको नामकरण भएको छ । पछिल्लो पाँच वर्षयता यहाँ स्याउखेतीले व्यावसायिक आकार ग्रहण गरिरहेको छ । रूबीभ्याली–१ तिप्लिङ, मचेतका योहान तामाङले आफूले ६ वर्षअघि लगाएको स्याउ यस वर्ष पनि गाउँबाटै बिक्री गरे । आलु फल्ने बारीमा स्याउ फलेको देखेर योहान आफैँ दङ्ग छन् । तर, उनको आजभन्दा ३० वर्ष पहिल्यै आफ्नै बारीको स्याउको स्वाद जिब्रोमा रहिरहेको छ । हजुरबाले भारतबाट ल्याएर लगाएको स्याउ फलेको देखेका र खाएको स्वाद नभुलेका लरेन्स लामाले बारीमा स्याउ लगाउने सल्लाह गरे, परिवारका सबै सहमत भए । उनले ६ वर्षअघि मुस्ताङबाट स्याउको बिरुवा ल्याएर लगाए । फुजी, गोल्डेन रेड, डेलियसियस र क्रिस्पिन जातका बिरुवा ल्याएर परीक्षणका लागि लगाइएका बिरूवाले अघिल्लो वर्षदेखि उत्पादन दिन सुरू गरेको लामा दाजुभाइले बताए । व्यावसायिक रूपमा स्याउखेती गर्न रुबी एग्रो तिप्लिङ नामको फर्म दर्ता गरी उनीहरू व्यवसायी बनेका छन् । स्याउ उत्पादन हुन थालेपछि बजार कसरी पु¥याउने चिन्ता बोकेका लामा दाजुभाइले यस वर्ष पनि बोटबाटै सजिलैसँग स्याउ बिक्री गरे । गाउँमै स्याउ उत्पादन भएको खबर थाहा पाएपछि उपभोक्ताले यस वर्ष पनि बारीमै पुगी हारालुछ गरेर स्याउ किनेका थिए । स्थानीयवासी मात्र होइन, गाउँपालिकामा कार्यरत सरकारी, बैंक तथा वित्तीय कार्यालय र गैरसरकारी संस्थाका कर्मचारी, शिक्षकलगायतले बारीमै पुगेर बोटबाटै छानी–छानी स्याउ किनेर कोसेलीका रूपमा लाने गरेको योहनले बताए ।
वगैंचाबाटै स्याउ किन्नेलाई प्रतिकिलो रू. एक सय ७० मा स्याउ बिक्री गरिएको थियो । ‘पहिलो वर्ष नौ सय केजी स्याउ बिक्री गरेका थियौँ । यस वर्ष पाँच सय किलो मात्रै बिक्री गरियो,’ लामाले भने । समयमै वर्षा नहुँदा अघिल्लो वर्षका तुलनामा उत्पादन झन्डै ५० प्रतिशत घटे पनि उत्पादित स्याउको गुणस्तर भने मुस्ताङकै स्याउसरह रहेको लरेन्सको जिकिर छ । तिप्लिङमा फलेको स्याउ जिल्लाका सदरमुकाम तथा बजारमा पुर्याउन सडक पहुँच सहज छैन । सदरमुकाम र गाउँ जोडिने सडक वर्षाले बिगारेपछि तीन महिनादेखि अझै खोल्न सकिएको छैन । सडकमार्ग सहज भएको भए अझ बढी मूल्यमा बिक्री गर्न सकिने लामाले बताए । भण्डारणका लागि धादिङमा सुविधासम्पन्न शीतभण्डार छैन । ‘हाम्रो स्याउ भण्डारण गर्नुपर्ने अवस्था त छैन । तिप्लिङका अधिकांश गाउँबस्ती हिमाली भेग भएकाले यहाँको चिसो हावापानीमा स्याउ खेतीको सम्भावना राम्रो देखिएको छ,’ रूबीभ्याली–१ का पूर्ववडाध्यक्ष पेम्बा घलेले बताए, ‘यहाँ फलेको स्याउको स्वाद मुस्ताङकै सरह पाइएकाले खेती विस्तार गरेर बजारीकरणको व्यवस्था गरेमा गरिबीका रेखामुनि रहेका रुबीभ्यालीका किसानलाई आर्थिक रूपमा सबल बनाउन सकिनेछ ।’
स्याउखेती सुरू गरिएको मचेत गाउँ काठमाडौँबाट दुई सय तीन किलोमिटर र धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटर दूरीमा छ ।
काठमाडौँ–धादिङबेँसी–तिप्लिङ करिब एक सय ७० लिलोमिटर दूरी छ । धादिङको गल्छी, नुवाकोटको त्रिशूली हुँदै रसुवाको स्याफ्रुबेँसीबाट धादिङका सोमदाङ, पाङसाङ निस्केर मचेत पुग्न सकिन्छ । सदरमुकाम धादिङबेँसीबाट साङ्कोष, कटुन्जे, चरङ्गे, किन्ताङफेदी, दार्खा, झार्लाङ, बोराङ हुँदै तिप्लिङनजिकै सडक सञ्जाल जोडिएको छ । रूबीभ्यालीको मुख्य उत्पादन आलु नै हो । यसका अलावा यो भेडा र चाँैरीको उत्पादनका लागि पनि प्रख्यात छ ।