विदुर । नुवाकोट जिल्लामा पछिल्ला केही वर्षदेखि उद्योग, व्यवसाय धराशायी बन्दै गएको छ । उद्योग, व्यवसाय गरेर जीविका आर्जन गर्नुभन्दा पनि बिदेसिन चाहने युवाका कारण देश जनशक्तिविहीन हुन थालेको छ । आर्थिक मन्दीले गर्दा जिल्लामा उद्योग र वाणिज्यको दर्ता र नवीकरण गर्नेहरू बर्सेनि घटिरहेका छन् । सङ्ख्या घटे पनि राजस्व भने बढेको छ । सरकारले प्रत्येक वर्ष राजस्वको दर हेरफेर गर्ने गरेकाले राजस्व बढेको हो ।
बागमती प्रदेश, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयअन्तर्गत उद्योग तथा वाणिज्य कार्यालय, नुवाकोटले गत आवमा रु. एक करोड १६ लाख ९३ हजार तीन सय ८० सङ्कलन गरेको थियो । कार्यालयले फर्म दर्ता, नवीकरण, जरिवानालगायत शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए । गत आवमा एक सय ५६ उद्योग र ९१ वाणिज्य फर्म दर्ता गरेको कार्यालयले एक सय ३८ उद्योग र एक सय ७२ वाणिज्य फर्म खारेजी गरेको थियो । उद्योग र वाणिज्यको लगत कट्टा गर्न आउने व्यवसायीले व्यवसाय नचलेकै कारण बन्द गर्नुपरेको कारण बताउने गरेको सूचना अधिकारी मेखमाया तामाङ घलेले जानकारी दिइन् । नयाँ उद्योग र फर्म दर्ता गर्ने क्रम घटिरहेको समयमा दर्ता खारेजी गर्ने क्रम भने बढेको छ । आव ०७८/७९ मा उद्योग ३८ र वाणिज्य फर्म ५४ खारेज भएकामा आव ०७९/८० मा उद्योग ४२ र वाणिज्य फर्म ५५ तथा आव ०८०/८१ मा उद्योग एक सय ३८ र वाणिज्य फर्म एक सय ७२ खारेज भएको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्कले जिल्लामा उद्योग र फर्म दर्तामा उत्साह घट्दै गएको देखाउँछ । कार्यालयमा उद्योग र फर्म खारेज गर्न आउने व्यवसायीलाई किन बन्द गर्न लागेको भनेर सोध्दा उद्योग, व्यवसाय नचलेको र कर भने बढेको बताउने गरेको कार्यालय प्रमुख सापकोटाले जानकारी दिए । जिल्लामा नयाँ उद्योग र फर्म दर्ताको रेकर्डअनुसार घरेलु तथा साना उद्योग र वाणिज्य कारोबार घट्दै गएको देखिन्छ । नयाँ उद्योग र व्यवसाय खुल्ने क्रम घटेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । आर्थिक मन्दीले धराशायी बनेको उद्योग, व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकोसमेत उनको गुनासो छ । देशको आर्थिक अवस्थामा आएको सङ्कुचनका कारण नयाँ उद्योग र फर्म दर्तामा कमी आइरहेको तथा युवा जनशक्ति उद्योग, व्यवसाय सञ्चालन गर्नेभन्दा बिदेसिने क्रम बढिरहेको नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कवीन्द्रमान प्रधानले बताए । पालिकामा रु. पाँच लाखसम्म पुँजी भएको उद्योग, व्यवसाय दर्ता हुने कानुनी व्यवस्था रहेकाले पनि उद्योग वाणिज्य कार्यालयमा दर्ताका लागि आउनेको सङ्ख्यामा कमी आएको कार्यालयले बताएको छ ।

गत आवमा उद्योग वाणिज्य कार्यालय नुवाकोटको बेरुजु शून्य भएको पाइएको छ । सोबापत बागमती प्रदेश, उद्योग, वाणिज्य मन्त्रालयले हालैको समीक्षा गोष्ठीमा लेखा परीक्षणमा प्रदेशका १३ जिल्लामध्ये बेरुजु रकम कुनै पनि नरहेको देखिएकाले कार्यालय प्रमुख सापकोटालाई सम्मानपत्र प्रदान गरेको छ । विगतमा यो कार्यालय कहिले सङ्घ, कहिले प्रदेशमातहतमा रहँदै आएको थियो । पछिल्लो समय प्रदेश सरकारअन्तर्गत रहेको घरेलु तथा साना उद्योग कार्यालय नाम प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० माघ ३ को निर्णयअनुसार परिवर्तन भई उद्योग तथा वाणिज्य कार्यालय भएको हो ।







प्रतिक्रिया