काठमाडौँ । राष्ट्रिय मानव अधिकार रक्षक पुरस्कारबाट नुवाकोटका पत्रकार एवम् मानव अधिकारवादी राजन कुइँकेल र नुवाकोट विदुरका युवा अभियानकर्मी एवम् नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँ सम्मानित भएका छन् । लुम्बिनी वल्र्ड पिस फोरमले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नुवाकोटका दुवैलाई पुरस्कृत गरिएको हो ।
युवाका लागि दिगो शान्ति र सामाजिक उद्यमशीलतासम्बन्धी राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पुरस्कृत गरेका हुन् । एमनेस्टी इन्टरनेसनल नेपालका पूर्वाध्यक्ष कुइँकेललाई पत्रकारिताका माध्यमबाट मानव अधिकार प्रवद्र्धनमा उल्लेख्य योगदान पु¥याएबापत सम्मान गरिएको हो ।
नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका समुन्द्रटारका स्थायी बासिन्दा कुइँकेल नेपाली पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय छन् । मानव अधिकार पुरस्कारबाट सम्मानित कुइँकेल सम्भवतः नुवाकोटबाट यसस्तरको पुरस्कार पाउने पहिलो व्यक्ति हुन् । उनी दुई दशकदेखि मानव अधिकार अभियानमा निरन्तर क्रियाशील छन् । विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तिलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा विदुर–२ नुवाकोटका स्थायी बासिन्दा एवम् युवा परिषद्का अध्यक्ष बानियाँ र नेपाल युवा संस्था सञ्जाल (आयोन) का अध्यक्ष सुजता बराल पनि पुरस्कृत भएका थिए । नेसनल सोसल चेन्जमेकर्स अवार्ड २०२४ बाट युवा अभियन्ता बानियाँ सम्मानित भएका हुन् । नेपाल युवा परिषद्का संस्थापक एवम् केन्द्रीय अध्यक्ष तथा युवा अभियन्ता बानियाँलाई युवा तथा सामाजिक रूपान्तरणका निरन्तर रूपमा कार्य गर्दै आएको हुनाले सम्मान गरेको आयोजक संस्थाका अध्यक्ष वासु गौतमले जानकारी दिए । पुरस्कार वितरणका लागि गठित तीन सदस्यीय छनोट समितिमा ग्लोबल युथ पालिर्यामेन्टका अध्यक्ष दिवाकर अर्याल, रक्षा नेपालका अध्यक्ष मेनुका थापा र पत्रकार एवम् अनुसन्धानकर्ता गोविन्द मरासिनी थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै सभापति खतिवडाले युवालाई कुनै राजनीतिक रङ नदिएर मुलुकलाई अगाडि बढाउन एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । छनोट समितिका सदस्य अर्यालले सामाजिक उद्यमशीलतामार्फत मुलुकको कायापलट गर्न सकिने बताए । लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष वासु गौतमले समाज, देश र विश्वस्तरमा देखिएका जल्दाबल्दा समस्या समाधानमा युवा संलग्नता र हस्तक्षेप जरुरी रहेको बताए ।







प्रतिक्रिया