धादिङबेँसी । नेपाल सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउन ल्याएको स्वास्थ्य बिमा कार्यक्रम धादिङ जिल्लामा प्रभावकारी हुन सकेन । पाँच वर्षअघि सुरु भएको बिमामा आबद्ध हुने कुल जनसङ्ख्याको बल्लबल्ल २४ प्रतिशत पुगेको छ । वि.सं. २०७८ को जनगणनाअनुसार ८३ हजार ६ सय ४२ घरधुरी सङ्ख्या र तीन लाख २५ हजार सात सय १० जनसङ्ख्या रहेको धादिङमा ७७ हजार एक सय ६ जना मात्र आबद्ध भएका छन् ।
जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बिमाद्वारा पूर्वभुक्तानीका माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गरी स्वास्थ्य सेवामा सर्वसाधारण नागरिकको सहज पहुँच सुनिश्चित गर्ने स्वास्थ्य बिमा ऐन, २०७४ ले परिकल्पना गरेको छ । जिल्लामा २०७६ साल माघ ७ गतेदेखि शुभारम्भ भएको बिमा कार्यक्रममा २०८१ भदौसम्ममा ७७ हजार एक सय ६ जना मात्र आबद्ध भएका छन् । जिल्लाको जनसङ्ख्यामध्ये हालसम्म २३.६७ प्रतिशत मात्र जिल्लावासी स्वास्थ्य बिमामा आबद्ध रहेको स्वास्थ्य बिमा बोर्ड धादिङका संयोजक संगम अर्यालले बताए ।
जिल्लाका १३ स्थानीय तहमा एक सय चारवटा वडामा स्वास्थ्य बिमा सहयोगी परिचालन गरिएको छ । प्रत्येक वडामा स्वास्थ्य बिमा कम्तीमा एक दर्ता सहयोगी हुने व्यवस्था छ । त्यसका लागि वडाध्यक्षको संयोजकत्वमा वडासचिव सदस्य र सम्बन्धित वडाको स्वास्थ्य संस्थाको प्रमुख सदस्यसचिव रहेको समितिले दर्ता सहयोगी सिफारिस गर्ने व्यवस्था छ । तर, जनप्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वयम्सेविका, राजनीतिक दलका स्थानीय अगुवा, समाजसेवीले नै स्वास्थ्य बिमा कार्यक्रमको महत्व बुझ्न नसक्दा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनेको सङ्ख्या न्यून रहेको कार्यालयको तथ्याङ्कले देखाउँछ ।
स्वास्थ्य बिमा नियमावलीमा भएको व्यवस्थाअनुसार पाँचजनासम्मको परिवारलाई एक एकाइ मानेर रु. तीन हजार पाँच सयमा एक लाखबराबरको स्वास्थ्य बिमा हुने व्यवस्था छ । पाँचभन्दा माथि सदस्य भएका परिवारका हकमा प्रतिव्यक्ति रु. सात सय थपेर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाउने र बढीमा रु. दुई लाखसम्मको स्वास्थ्य बिमा दाबी गर्न वा लिन पाउने व्यवस्था छ । स्वास्थ्य स्वयम्सेविकाको परिवारले ५० प्रतिशत छुट पाउने व्यवस्था छ । सत्तरी वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक एकजनालाई एक एकाइ मानेर, अतिअशक्त अपाङ्गता भएका परिवार र एचआइभी, कुष्ठरोगी, एमडिआर टिबी रोग लागेका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम व्यवस्था रहेको जिल्ला संयोजक अर्यालले बताए ।
स्वास्थ्य बिमा बोर्ड धादिङको गत भदौसम्मको तथ्याङ्कअनुसार धुनीबेँसी नगरपालिकामा नगद तिरेर पाँच हजार पाँच सय १३ महिलासहित १० हजार नौ सय स्वयम्सेविका परिवारको ४० महिलासहित ६९ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक सात सय आठ महिलासहित एक हजार तीन सय ७५, अतिअशक्त अपाङ्गता भएका ७१ महिलासहित एक सय ४५ जना गरी १२ हजार चार सय ८९ जनाले बिमा गरेका छन् । यसैगरी, थाँक्रे गाउँपालिकामा नगद तिरेर एक हजार सात सय ५४ महिलासहित तीन हजार पाँच सय २९ स्वयम्सेविका परिवारको ५१ महिलासहित ८८ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक ६ सय ६८ महिलासहित एक हजार तीन सय १९, अतिअशक्त अपाङ्गता भएका ७२ महिलासहित एक सय ३२ र तोकिएको रोग एक महिलासहित तीनजना गरी पाँच हजार ७१ जनाले स्वास्थ्य बिमा गरेका छन् । यसैगरी, नीलकण्ठ नगरपालिकामा नगद तिरेर सात हजार तीन सय ९९ महिलासहित १४ हजार दुई सय ६४, स्वयम्सेविका परिवारको एक सय ३८ महिलासहित दुई सय ५१ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक एक हजार नौ सय १३ महिलासहित तीन हजार ६ सय ८४, अतिअशक्त अपाङ्गता भएका एक सय ९१ महिलासहित तीन सय ८४ र तोकिएको रोग ५८ महिलासहित एक सय २७ जना गरी पाँच हजार ७१ जनाले गरेका छन् । खनियाँवास गाउँपालिकामा नगद तिरेर एक सय एक महिलासहित दुई सय तीन स्वयम्सेविका परिवारको एक महिलासहित दुईजनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक दुई सय ६९ महिलासहित पाँच सय १९, अतिअशक्त अपाङ्गता भएका २६ महिलासहित ५५ र तोकिएको रोग एक महिलासहित दुई गरी सात सय ७१ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
त्यसैगरी, गजुरी गाउँपालिकामा नगद तिरेर दुई हजार ६ सय सात महिलासहित पाँच हजार एक सय ४५, स्वयम्सेविका परिवारको ४१ महिलासहित ७४ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक पाँच सय आठ महिलासहित एक हजार ३५, अतिअशक्त अपाङ्गता भएका एक सय ३८ महिलासहित दुई सय ७३ गरी ६ हजार पाँच सय २७ जनाले स्वास्थ्य बिमा गरेका छन् । गल्छी गाउँपालिकामा नगद तिरेर दुई हजार एक सय २५ महिलासहित चार हजार दुई सय २४, स्वयम्सेविका परिवारको २२ महिलासहित ५३ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक पाँच सय ८९ महिलासहित एक हजार दुई सय १६, अतिअशक्त अपाङ्गता भएका एक सय ३७ महिलासहित दुई सय ५४ र तोकिएको रोग सात महिलासहित १३ गरी पाँच हजार सात सय ६० जनाले गरेका छन् । यसैगरी बेनीघाट–रोराङ गाउँपालिकामा नगद तिरेर दुई हजार तीन सय ६१ महिलासहित चार हजार ६ सय ९३, स्वयम्सेविका परिवारको १७ महिलासहित ३५ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक पाँच सय तीन महिलासहित एक हजार ६५, अतिअशक्त अपाङ्गता भएका एक सय ४७ महिलासहित दुई सय ५८ गरी ६ हजार ५१ जनाले स्वास्थ्य बिमा गरेका छन् । नेत्रावती–दबजोङ गाउँपालिकामा नगद तिरेर दुई सय ६२ महिलासहित चार सय ९२ र स्वयम्सेविका परिवारका ३३ महिलासहित ६२ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक चार सय २० महिलासहित आठ सय २३, अतिअशक्त अपाङ्गता भएका २४ महिलासहित ४७ र तोकिएको रोग एक पुरुष गरी एक हजार चार सय २५ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
त्यसैगरी, रुबीभ्याली गाउँपालिकामा नगद तिरेर एक सय सात महिलासहित दुई सय ४२ र स्वयम्सेविका परिवारको २१ महिलासहित ३९ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक एक सय ७४ महिलासहित तीन सय आठ, अतिअशक्त अपाङ्गता भएका ११ महिलासहित २० गरी ६ सय नौजनाले बिमा गरेका छन् । गङ्गा–जमुना गाउँपालिकामा नगद तिरेर एक हजार एक सय ५८ महिलासहित दुई हजार एक सय ६७ र स्वयम्सेविका परिवारको २० महिलासहित ३५ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक चार सय ५८ महिलासहित आठ सय ८०, अतिअशक्त अपाङ्गता भएका १७ महिलासहित ३९ गरी तीन हजार एक सय २१ जनाले गरेका छन् । सिद्धलेक गाउँपालिकामा नगद तिरेर एक हजार आठ सय ३९ महिलासहित तीन हजार पाँच सय १५ र स्वयम्सेविका ५० महिलासहित एक सय १० जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक सात सय १३ महिलासहित एक हजार चार सय ४० र अतिअशक्त अपाङ्गता भएका ९७ महिलासहित एक सय ९४ र तोकिएको रोगमा दुई महिलासहित पाँचजना गरी पाँच हजार दुई सय ६४ जनाले बिमा गरेका छन् । त्रिपुरासुन्दरी गाउँपालिकामा नगद तिरेर एक हजार ६ सय ४८ महिलासहित तीन हजार एक सय ८८ र स्वयम्सेविका परिवारका ६३ महिलासहित एक सय २३ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक सात सय ४६ महिलासहित एक हजार पाँच सय ११, अतिअशक्त अपाङ्गता भएका एक सय ९३ महिलासहित चार सय १५ र तोकिएको रोगका आठ महिलासहित १६ गरी पाँच हजार दुई सय ५३ जनाले स्वास्थ्य बिमा गरेका छन् । ज्वालामुखी गाउँपालिकामा नगद तिरेर एक हजार आठ सय ८८ महिलासहित तीन हजार सात सय २९ र स्वयंसेविका परिवारको ९६ महिलासहित एक सय ९८ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक एक हजार १० महिलासहित एक हजार नौ सय ७५, अतिअशक्त अपाङ्गता भएका ६७ महिलासहित एक सय २९ र तोकिएको रोगमा ६ महिलासहित नौजना गरी ६ हजार ४० जनाले स्वास्थ्य बिमा गरेका छन् ।
प्रत्येक वडामा रहेका स्वास्थ्य बिमा सहयोगीले घरघरमा गएर स्वास्थ्य बिमा गराउने गर्छन् । स्वास्थ्य बिमा गराएबापत दर्ता सहयोगीले बिलअनुसार १० प्रतिशत रकम पाउँछन् । धादिङको जनसङ्ख्या २०७८ अनुसार तीन लाख २५ हजार सात सय १० छ । गत भदौ मसान्तसम्म ७७ हजार एक सय ६ जनाको मात्र स्वास्थ्य बिमा भएको छ ।
स्वास्थ्य बिमा गरेको तीन महिनापछि मात्र बिमितले स्वास्थ्य बिमा गरेबापतको भुक्तानी दाबी गर्न पाउने व्यवस्था छ । हरेक वर्ष बिमा नवीकरण गर्नुपर्छ । निःशुल्क बिमा सुविधा पाउने ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, अतिअशक्त, अपाङ्गता र तोकिएको रोग लागेका परिवारको प्रणालीमार्फत नै नवीकरण हुन्छ । बिमाङ्क तिरेर गर्नुपर्नेको पुनः बिमाङ्क तिरेर नवीकरण गर्नुपर्छ । त्यसका लागि पनि नवीकरण गरिएको तीन महिनापछि मात्र बिमितले भुक्तानी दाबी गर्न पाउँछन् । त्यसकारण म्याद सकिनुअगावै नवीकरण गर्दा राम्रो हुन्छ । स्वास्थ्य बिमा भुक्तानी लिन प्रथम स्वास्थ्य सेवाविन्दुबाट सिफारिस भएको हुनुपर्छ । धादिङ जिल्लाका हकमा धुनीबेँसी र थाँक्रेकाहरूले शुक्रराज अस्पताल टेकु, काठमाडौँलाई प्रथम स्वास्थ्यविन्दु तोकिएको छ । गजुरी प्राथमिक स्वास्थ्य केन्द्र, धादिङ अस्पताल र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम स्वास्थ्यविन्दु तोकिएको छ । त्यसैगरी गङ्गा–जमुना ग्रामीण अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट सम्बन्धन लिएकाले प्रथम स्वास्थ्यविन्दुको मान्यता प्राप्त गरेको जिल्ला संयोजक अर्यालले बताए ।
प्रतिक्रिया