हिन्दु नेपालीको उज्यालो पर्व तिहार आज बुधबारदेखि सुरु भएको छ । यससँग हाम्रो धार्मिक विश्वास जे–जे जोडिए पनि यो उज्यालोको पर्व हो । किंवदन्तीको माला जति लामो भए पनि तिहारको उज्यालोलाई राम्रै मानिन्छ र सबै उज्यालोकै पछि लाग्छन् । यमपञ्चकले सामाजिक, आर्थिकका साथै राजनीतिक पक्षलाई पनि छोएकै हुन्छ ।
जनताले आफ्नो प्रतिनिधि छान्न पाउने र छानिएका प्रतिनिधिले जनतासँग गरेको वाचा पूरा गर्ने चक्र नै लोकतन्त्र हो जसमा जनमतको कदर गर्न जनप्रतिनिधि जनताको अपेक्षाको परिणाम आउने गरी कार्ययोजनासहित प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ । शासकको भूमिकामा होइन, सेवकका भूमिकामा शासन सञ्चालन गर्नुपर्छ । नेपालमा वि.सं. २००७ मा प्रजातन्त्र आयो, २०१७ सालमा प्रजातन्त्रको गतिमा रोकावट भयो । प्रजातन्त्रप्रेमी परिपक्व नहुँदै तत्कालीन शासकले आफ्नो अस्तित्व कायम गर्न मौका खोज्नु नै २०१७ सालको नियति हो भन्ने गरिएको छ । विश्वपरिवेशमा एकदलीय शासन पतनतिर उन्मुख भएपछि २०४६ सालमा नेपालमा लोकतन्त्रको उदय भयो । वि.सं. २०७२ मा संविधानसभाले ‘नेपालको संविधान’ बनाएपछि लोकतन्त्रको जग अझै बलियो भएको आभास भए पनि त्यो संस्थागत हुन नपाउँदै विरोधका आवाज उठ्नु दुर्भाग्य हो । लोकतन्त्रका लागि लागिपरेका दलहरू सत्ताप्राप्तिकै लागि मरिहत्ते गर्दा जनतामा व्यवस्थाप्रति नैराश्य बढ्दो छ ।
सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले गर्ने कार्यले सङ्घीय व्यवस्थाको भविष्य निर्धारण गर्छ । विश्व परिवेशमा प्रायः सङ्घ र प्रदेश दुई तहको शासन व्यवस्था उल्लेख भएको पाइन्छ । नेपालमा भने सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको शासन व्यवस्था संविधानमा व्यवस्था गरिएको छ । घरदैलाको स्थानीय तहलाई कानुन बनाउने, प्रारम्भिक न्यायिक निरूपण गर्नेजस्ता अधिकार छ । नेपालमा दोस्रोपटक स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचन भई नयाँ जनप्रतिनिधिले वागडोर सम्हालेको पनि दुई वर्ष बितिसक्यो । नयाँ संविधान कार्यान्वयनसँगै देशले नयाँ फड्को मार्नुपर्ने हो, त्यो दलका कारणले हुन सकिरहेको छैन । देशमा राजनीतिक स्थिरता र समृद्धिका लागि कार्य हुन सके मात्र देशमा उज्यालो फैलिनेछ । देशलाई सधैँ सङ्क्रमणकालमा राख्न चाहने शक्ति फेरि सल्बलाइरहेका छन् । तिनीहरूलाई तिहारको उज्यालोले लपेटौँ । वि.सं. २००७ देखि अहिलेसम्म हामी नेपाली सङ्क्रमणकाल छ भनी केही नगरी बसिरहेका छौँ । अहिले राजनीतिक सङ्क्रमणकाल अन्त्य भए पनि फेरि धमिलो पानीमा माछा मार्ने प्रवृत्ति दलमा देखिएको छ । यो हुनु देशका लागि दुर्भाग्य हो । अझै दिशाविहीन अवस्थामा देशको शासन चलिरहेको छ । छिमेकका देश विश्वका शक्तिसम्पन्न भइसक्दा पनि हामी भने आफैँ कहिले धर्मका नाममा, कहिले जातका नाममा, कहिले राजनीतिक नाममा विभाजित भइरहेका छौँ । हामी नागरिक अधिकारको मात्र कुरा गरिरहेका छौँ, तर आर्थिक अधिकार ओझेल परेको कसैले पत्तै पाएको छैन । नागरिक अधिकारले मात्र देश सम्पन्न हुन सक्दैन । मुखमा माड लाग्नका लागि आर्थिक विकास नै गर्नुपर्छ । त्यसका लागि राजनीतिक स्थिरता पहिलो सर्त हो । राजनीतिमा सबै चिज जोडिने भएकाले अबको राजनीति देशको समग्र उज्यालोका लागि गरिनुपर्छ । सीमित घेरा, समूह, पार्टी, जात र धर्मभन्दा माथि उठेर हिँड्नुपर्छ । देश आत्मनिर्भरतर्फ उन्मुख हुन सक्नुपर्छ ।
देशका सक्षम युवा धमाधम बिदेसिइरहँदा अहिलेको पुस्ता सकिएपछि यस रूपमा भोलिको पुस्ता अवश्य रहँदैन । अहिले युवा जनशक्तिलाई उपयोग गर्न नसके जन्मदर घट्दै गएका कारण भोलि पक्कै वृद्ध र बालबालिका बढी हुने दिन आउँछ । यसैले तन्नेरी समूहलाई परिचालन गरी राज्यले धेरै लाभ लिने बेला यही हो । अब पनि राजनीतिमा मात्र अल्झिने हो भने हामी कहीँ पुग्दैनौँ, देशले केही पाउँदैन, मात्र सक्षम युवा गुमाउँछ । यो पुस्ताले विकासको फल गुमाउँछ । दसैँका मुखमा गत असोज १०–१२ गतेको बाढीपहिरोबाट प्रभावित परिवारका लागि राहत र पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेर कार्य गरोस् । प्रभावित नेपालीले विपत्तिको सामना गर्न सकून् । सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत प्रभावकारी बनाओस्, राहत वितरणमा लापरबाही नहोस् । यस उज्यालोको पर्वले हामी सबैलाई उज्यालोमा हिँड्न प्रेरित गरोस् । नेताहरू देशलाई उज्यालोमा हिँडाउन एकजुट होऊन् । सबैमा राजनीतिक नेतृत्व तहमा रहेकाहरूको सद्बुद्धि पलाओस् । तिहारको शुभकामना !