विदुर । नुवाकोट सदरमुकाम विदुरस्थित कल्याणकारी विद्या मन्दिर माध्यमिक विद्यालयको सोह्रौंँ वार्षिकोत्सव समारोह गत बुधबार सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।
यही कात्तिक १४ गते भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले सदरमुकाम विदुरमा माध्यमिक तहसम्मको अङ्ग्रेजी माध्यमको विद्यालय नभएका अवस्थामा विगतमा खोलिएको सो विद्यालय राष्ट्रसेवक कर्मचारीका बालबालिकाको पठनपाठन गराउने रोजाइको विद्यालय रहेको तथा यसले माध्यमिक शिक्षा परीक्षा (एसइई) को औसत नतिजालाई बढाउन योगदान गरेको बताउनुभयो । विद्यालयको प्रगतिको समीक्षा गर्दै उहाँले अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीको सहभागिता अब्बल रहेको, मिस नुवाकोट २०८१ को उपाधि सोही विद्यालयमा अध्ययनरत एञ्जिला तामाङले प्राप्त गरेकोलगायत कारण विद्यालयको शैक्षिक गुणस्तर तुलनात्मक रूपमा उत्कृष्ट रहेको जनाउँदै निजी क्षेत्रका विद्यालयलाई नीतिगत रूपमा नियमन तथा अनुगमन गर्ने र आगामी दिनमा विदुरको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि काम भइरहेको जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले अभिभावकको भावनानुसार विद्यालय सुधार गरिएको तथा आगामी दिनमा विद्यार्थीको क्षमतालगायत शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो । विद्यालयका अभिभावक तथा समाजसेवी सागर तामाङले विद्यालयको समग्र नतिजा उत्कृष्ट रहेको र विद्यार्थीको असल आचरण निर्माण भएको बताउनुभयो । विद्यालयका संस्थापक अध्यक्ष तथा सञ्चालक पूर्णलाल श्रेष्ठले सम्पूर्ण अभिभावकलाई निर्धक्क भएर विद्यालय छनोट गर्न अनुरोध गर्नुभयो ।
कम्पनी ऐन २०६३ अन्तर्गत विसं २०६६ मा स्थापना भई २०७१ मा विद्यालयले मावि तहसम्मको अनुमति पाएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिई प्ले ग्रुपदेखि कक्षा १० सम्म सञ्चालन भइरहेको विद्यालयमा तिन सय विद्यार्थी अध्ययनरत छन् । शैक्षिक वर्ष २०७३ मा विद्यालयबाट एसइई परीक्षामा सहभागी भई उत्कृष्ट परिणाम ल्याउन सफल सो विद्यालयले २०८० को एसइईमा सहभागी विद्यार्थी चारमध्ये तिन जनाबाट ‘ए’ प्लस र एक जनाबाट ‘ए’ सहित उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयले प्रयोगात्मक शैक्षिक पद्धतिको अनुसरण, मूल्याङ्कन पद्धतिमा सुदृढीकरण, शैक्षिक पात्रो निर्माण तथा कार्यान्वयन, स्नातकोत्तर र दर्शनाचार्य हासिल गरेका तथा अनुभवी शिक्षक, मासिक–त्रैमासिक–अर्धवार्षिक–वार्षिक परीक्षालगायत निरन्तर मूल्याङ्कन कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगिरहेको छ ।