+
Search

ताजा अपडेट +

पपुलर +

जिल्ला अस्पताल धादिङ उत्कृष्ट तिनमा

जिल्ला अस्पताल धादिङ उत्कृष्ट तिनमा
त्रिशूली प्रवाह
१ साल अगाडी

धादिङबेँसी । जिल्ला अस्पताल धादिङ बागमती प्रदेशको उत्कृष्ट तिन अस्पतालमा परेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालको सम्पादित स्वास्थ्य कार्यक्रम तथा सेवा विस्तारका आधारमा प्रदेशमा सञ्चालित १३ अस्पतालमध्ये धादिङ अस्पताल उत्कृष्टमा पर्न सफल भएको हो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

अस्पतालका निमित्त निर्देशक डा.गगन अधिकारीले २०३३ साल मंंसिर २६ गते धादिङ हेल्थ सेन्टरको नामले स्थापना भई सेवा सुरू गरेकोमा विसं २०४५ सालमा धादिङ अस्पताल धादिङमा स्तरोन्नती भई १५ शय्याको क्षमतामा यस अस्पतालले सेवा प्रवाह गर्दै आएको थियो । अहिले एकसय शय्याको यो अस्पतालमा सुविधासम्पन्न भवनसहित १२ विभिन्न विधाका ४० चिकित्सकसहित एक सय ४० स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमसमेत लागु छ । स्वास्थ्य मन्त्रालय प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा प्रादेशिक अस्पतालले आआफ्नो प्रस्तुति गरेका थिए । तीमध्ये एक सयमा ८३ दशमलव चार अङ्कसहित भक्तपुर अस्पताल पहिलो, ७८ दशमलव चार अङ्कसहित सिन्धुली अस्पताल दोस्रो र ७७ दशमलव ७ अङ्कसहित धादिङ अस्पताल तेस्रो भएका हुन् । अस्पतालको सेवा प्रवाह, आर्थिक सुशासन, प्रशासन प्रविधिलगायत विभिन्न सूचकलाई आधार मानेर मूल्याङ्कन गरिएको थियो । प्रदेश सरकारको सो मूल्याङ्कनले अस्पताल परिवारलाई नै काम गर्ने ऊर्जा थपिएकाले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै लगिने निमित्त निर्देशक अधिकारीले बताउनुभयो ।

जिल्लाको धादिङबेँसीमा रहेको जिल्ला अस्पताल अहिले सुविधासम्पन्न बन्दै गएको उद्योग वाणिज्य सङ्घ धादिङका पूर्वाध्यक्ष धुव्रबहादुर थापाले बताउनुभयो । धादिङ र गोरखा जिल्लाको दक्षिणी क्षेत्रका नागरिकका लागि समेत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको धादिङ अस्पताल धादिङमा ओपिडी सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, स्त्री तथा प्रसुती सेवा, आईसियू सेवा, हेमोडाइलायसिस सेवा, डेन्टल सेवा, शल्यक्रिया सेवा, फिजियोथेरापी सेवा, प्रयोगशाला सेवा, फार्मेसी सेवा तथा एक्सरे, इसिजी, यूएसजी सेवा सञ्चालन भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह