असल सन्तानका कर्तव्य

  • त्रिशूली प्रवाह
  • २२ कार्तिक २०८१, बिहीबार ०८:१९
  • हरिप्रसाद रिमाल

बाबुआमा आफ्ना सन्तानलाई जन्म मात्र दिँदैनन्, अनेकौँ दुःखकष्ट सहेर हुर्काउँछन्, आफ्नो गच्छेले भएसम्म राम्रो विद्यालय र महाविद्यालयमा पढाएर असल मान्छे बनाउन भरमग्दुर प्रयास गर्छन्, नित्य–निरन्तर तिनै सन्तानको कल्याणका लागि तन, मन, धनले समर्पित हुन्छन् । असल सन्तान पनि आफ्ना जन्मदाता बाबुआमाप्रति सधैँ कृतज्ञ बन्छन् । त्यसरी आमाबाबुले रमाइलो

संसार देखाउन लगाएको गुन र योग्य र सक्षम मानिस बनाउन उनीहरूले गरेको सत्प्रयास राम्ररी नै सम्झन्छन् बुद्धि र विवेक भएका सन्तति । आफू सक्षम भएपछि बाबुआमाको त्यो गुन र भारा कसरी तिर्ने होला भनेर चिन्तित बनेका सन्तान हरप्रकारले मातापितालाई सहयोग गर्न, उनीहरूको सुखदुःखमा साथ दिन तम्सन्छन् । यहाँ प्रसङ्ग पढ्न र अवस्थामा सुधार गर्न विदेश गएका छोराछोरीले थोरै कमाएर अलिकति क्षमता हुनासाथ बाबुआमालाई घुम्न विदेश बोलाएको कुराको छ । ती छोराछोरी जो स्वदेशमा नै उच्च शिक्षा हासिल गरेर केही आर्जन गर्न थाल्छन् र विद्या हासिल गर्न विदेश गएका केही कमाउन थाल्छन् त उनीहरूको ध्यान बाबुआमातिर तानिन्छ । विदेश गएका सन्तान प्रवेशाज्ञाको आवश्यक व्यवस्था मिलाएर विदेश घुम्न बोलाउँछन् । खास गरी अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, क्यानडा आदि र अन्य युरोपेली देशमा रहेका सन्तानले आफ्ना पितामातालाई आफूहरू बसेको देशमा बोलाउने गरेका छन् । त्यसैले कहिल्यै हवाइजहाज नचढेका र विदेशको मुखै नदेखेका हजारौँ नेपाली वृद्धवृद्धा र अधबैँसे बाबुआमाले पनि विकसित देशको भ्रमण गरेर भौतिक सुखको चरमोत्कर्ष अनुभव गर्ने अवसर पाइरहेका छन् । भुरिभुरि धन्यवाद छ ती असल सन्तानलाई जो स्वदेशमै बसेर र विदेशमा गएर पनि सधैँ बाबुआमालाई माया गर्छन्, उनीहरूको सुखदुखमा हरप्रकारले साथ दिन्छन् ।

हाम्री छोरी डा बाराही र ज्वाइँ शृजन पाण्डेले पनि प्रवेशाज्ञा स्वीकृत गराई हामीलाई अस्ट्रेलिया आउने व्यवस्था मिलाईदिएकाले हामी (मैले दोस्रो पटक र मेरी श्रीमतीले तेस्रो पटक) यस देशको भ्रमण गर्ने दुर्लभ अवसर प्राप्त गरेका छौँ र अत्याधुनिक भवनको आरामदायी प्रकोष्ठमा बसी भौतिक सुख भोगिरहेका छौँ । यहाँ जीवन निर्वाह गर्न त्यति सहज छैन । बजार भाउ त भारत र नेपालका तुलनामा आकाश–पातालजस्तै छ । हामीकहाँका उपभोगका सामानका दाँजामा यहाँ निकै स्तरीय छन् र अत्यन्तै महँगा पनि छन् दैनिक उपभोग्य सामग्री । जे भए पनि हामी भने छोरीज्वाइँको आर्जनमा दिनदिनै फेरी फेरी स्वादिष्ट र स्वस्थकर भोजन खाने र इच्छानुसारका ठाउँ फेरी फेरी भ्रमण गरी अत्यन्तै रमाइलो र सुखको अनुभव गरिरहेका छौँ । यसमा पनि सुनमा सुगन्ध भएको छ । यसपटक अत्यन्त प्यारो नाति सायणलाई खेलाउने र उसका नानाथरी बालक्रीडा अवलोकन गर्ने, उसका अति नै मिठा उसकै शैलीका कुराकानी सुन्ने र अतुलनीय मृदु मुस्कानसहितको हाँसो हेर्ने, अनुभव गर्ने अवसरले गर्दा असीमित हर्षको अनुभव भइरहेको छ । यस्तो लाग्छ–दिन घन्टा जस्तै र घन्टा मिनेटजस्तै बितिरहेका छन् ।
(लेखक, आध्यात्मिक चिन्तक तथा पूर्वप्रशासक हरिप्रसाद रिमाल हालअस्ट्रेलियामा रहनुहुन्छ । उहाँ अहिले धर्मपत्नी निर्मलाका साथ छोरीज्वाइँका साथ हुनुहुन्छ । आफूले देखेका र भोगेका कुरा सामाजिक सञ्जालमा लेखिरहने उहाँको बानी छ । ‘त्रिशूली प्रवाह’ का शुभेच्छुक रिमालका लेखहरू हामीले समय समयमा प्रकाशन गरिरहेका छौँ । प्रस्तुत लेख हामीले सोसल मिडियाबाटै लिएका हौँ । – सम्पादक)

(कामपा–५, हाँडीगाउँ, काठमाडौंँ, हाल : अस्ट्रेलिया)