धुन्चे । रसुवा जिल्ला, गोसाईँकुण्ड गाउँपालिका–५ ठुलोभार्खुमा भाइटीकाको भोलिपल्ट मनाइने करिब पाँच हजार वर्ष पहिलेदेखि मनाइँदै आइरहेको चेन्दा जात्रा अहिले पनि जीवित नै छ । एक वर्षमा चेन्दा र अर्को वर्ष कुन्देन जात्रा हुन्छ । भार्खुका प्रमुख लामा सिङ्गेनुर्पु लामा भन्नुहुन्छ, “यो परापूर्वकालदेखि नै चलिआएको जात्रा हो, गाउँमा सुख, शान्ति होस् र सम्पूर्ण मानवजातिलगायत सम्पूर्ण प्राणीको रक्षार्थ यो जात्रा चलाइन्छ ।” जात्रा बर्सेनि पालोपालो हुने गरेको स्थानीयवासी छिरिङ तामाङले बताउनुभयो ।
तामाङ समुदायको बाहुल्य रहेको सो ठाउँमा आजका दिनसम्म पनि आफ्नो धर्मसंस्कृतिलाई मर्न दिइएको छैन । सोही ठाउँमा कार्तिक शुक्ल पूर्णिमाका दिन महादेवको पूजा गरिन्छ । लामा, झाँक्री, गाउँले मिलेर पाठपूजा गर्छन् । सिङ्गेनुर्पु लामा चन्दनबारी अर्थात् सिङ्गोम्बाका साथै ठुलोभार्खु र सानोभार्खुको पनि प्रमुख लामा हुनुहुन्छ । गाउँले सबै मिलेर जात्रा निकाल्छन् र सबैको रक्षार्थ पूजापाठ गर्छन् । रोगव्याधि नलागोस्, सुख, शान्ति होस् भन्ने उद्देश्यले जात्रा गरिने प्रमुख लामा बताउनुहुन्छ ।