म साबिक सूर्यमती–५, हाल लिखु–३ बस्छु । मैले विगत अढाई दशकदेखि स्वतःस्फूर्त रूपमा माओवादी आन्दोलनमा शिष्टता, पार्टी अनुशासन, चेन अफ कमान्डको मर्मलाई शिरोपर गर्दै आफूलाई दिइएको, आइपरेको (पार्टी जिल्ला समिति सदस्य, तत्कालीन २ नम्बर इलाका इन्चार्ज, प्रदेश निर्वाचन क्षेत्र १ (२) को संयोजक, लिखु गाउँपालिका कमिटीको सहइन्चार्ज, वडा नं ३ को निर्वाचन परिचालन समितिको कमान्डर आदि) विभिन्न जिम्मेवारी निष्ठापूर्वक, एकरत्ति पनि दायाँबायाँ नगरी निर्वाह गरेको छु । मैले पार्टीप्रति ठुलो निष्ठा र प्रेमभावले पार्टी विचारको रक्षा, मिडियाबाट प्रतिरक्षा र सचेततापूर्वक सम्प्रेषण गर्ने उद्देश्यले ‘परिवर्तन पोस्ट’ साप्ताहिक २०७० देखि नियमित प्रकाशन गर्दै आइरहेको छु । पछिल्लो चरणमा पार्टी गतिविधि, कार्यशैली, आचरण, व्यवहारलाई सूक्ष्म रूपमा अध्ययन गर्दै आउने क्रममा हिजोको दिनसम्म मेरो आस्थाको धरोहरको रूपमा रहेको पार्टी नेकपा (माओवादी केन्द्र) माक्र्सवाद, लेनिनवाद र माओवादको मूलभूत कम्युनिस्ट सिद्धान्तविपरीत अपारदर्शिता, व्यक्तिवाद, नवसामन्तवाद, जातिवाद, उच्च जातीय अहङ्कारवाद, नोकरशाही दलाल पुँजीवाद र आत्मकेन्द्रित एकल स्वार्थप्रेरित समन्वयवाद, नवधनाढ्यीकरणवादमा नराम्ररी चुर्लुम्म डुब्न पुगेको पाएँ । यसले गर्दा पार्टी र लाभको कुनै पनि पदको लोभ नगरी सतीसालझैँ ठडिएका हाम्रो शिर नै झुक्ने, निहुरिने र पार्टीप्रति नै गम्भीर वितृष्णा पैदा हुने परिस्थिति निर्माण भयो ।
पार्टीमा अपारदर्शिता, परिवारवाद, व्यक्तिवाद, जातिवाद, ब्राह्मणवाद, उच्च जातीय अहङ्कारवाद, नवसामन्तवाद, नोकरशाही दलाल पुँजीवाद, गुटवाद, चाकरीवाद, नातावाद, कृपावाद हावी हुँदै गयो । यसले गर्दा दलित समुदायबाट सङ्घर्ष गरेर जिल्लामा स्थापित नेताहरू जातीय, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक चौतर्फी घेराबन्दीमा परे । पार्टीमा आदर्श र नमुना ठानिएका नेताहरू एकपछि अर्को गर्दै कोही सुन तस्करीका नाइके हुने, कोही रक्तचन्दन तस्कर हुने, कोही यौनदुराचारी हुने, कोही जातीय आमसंहारलाई ‘भाग्ने क्रममा पौडी खेल्न नजानेर मरेका हुन्’ भनेर अति गैरजिम्मेवार अभिव्यक्ति दिनेजस्ता हर्कत गरेबाट पार्टीको जनयुद्धकालीन विरासत थिलथिलो भयो । मुखमा रामराम, बगलीमा छुरा भनेझँै पार्टीले समावेशीकरणको नारा लगाउने, जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेललाई महान् सहिद अमर रहून् भनिरहने, तर पार्टीमा इतिहासमै दलित पदाधिकारी कहिल्यै नबनाउने गलत रवैया अपनाएको छ । यसरी भनाइ र गराइमा धेरै ठुलो खाडल देखिने गरेको, सो पुर्नका लागि नेतृत्व उदासीन रहेको देखियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आत्मकेन्द्रित गलत रवैया र आफू र आफ्ना बने हुने गलत कार्यशैलीको उपजस्वरूप उनको एकल निर्णयले २०७४ मा नेकपा (एमाले) र २०७९ मा नेपाली काङ्ग्रेससँग अनावश्यक अप्राकृतिक गठबन्धन गरी निर्वाचन लडेको र सहिद तथा बेपत्ता परिवार, घाइते अपाङ्ग तथा आमपार्टीपङ्क्तिको भावनामा गम्भीर ठेस पुयाएको एवम् पार्टीमा विचलन र विशृङ्खलता ल्याएको देखियो ।
पार्टीभित्र मौलाउँदै गएको ब्राह्मणवाद, उच्च जातीय अहङ्कारवादका कारण दलितले माओवादी पार्टीमा लागेर, लडेर, भिडेर, बलिदानीको कोटा चुक्ता गरेर ल्याएको परिवर्तनलाई पार्टीको विभिन्न तहको नेतृत्वले अनदेखा गरेको, मानमर्दन गरेको र दलितलाई खोक्रो नाराको भुलभुलैयामा पारी भोटबैंकका रूपमा मात्र प्रयोग गरिएको छ । पार्टीभित्र चरम अवसरवाद हावी हुँदै गएको, अन्याय र अत्याचारले सीमा नाघेको, जनयुद्धमा प्रत्यक्ष होमिन विविध कारणले नपाएका, नसकेका र संयोगले सहिद वा सहिद परिवारका सदस्य हुन नसकेका, तर आफ्नै बलबुताले उच्च शिक्षा हासिल गरेका र राष्ट्रियस्तरमै बौद्धिक व्यक्तिको छवि बनाएका, पत्रकारिताबाट पार्टीको वैचारिक, सैद्धान्तिक र साङ्गठनिक पक्षको श्रीवृद्धिमा योगदान गर्दै आएको र पार्टीमा विविध तवरले जनयुद्धकालदेखि नै सहयोग गर्दै आएका दलित समुदायका हामीजस्ता कार्यकर्तालाई विभिन्न षड्यन्त्रको तानाबाना बुनेर अस्तित्व नामेट बनाउने, किनारा लगाउने हर्कत गर्ने गरिएको छ । जातीय उचनिच र भेदभावको मनोविज्ञान पार्टीको केन्द्रदेखि जिल्ला र स्थानीय तहका नेता कार्यकर्तासम्म नराम्ररी झाँगिएको छ जसका कारण दलित जिल्ला नेताका परिवारमा कसैको निधन हुँदा जिल्ला नेतृत्वले श्रद्धाञ्जलीका शब्दसमेत उच्चारण नगर्ने, भेट्न र सान्त्वना दिन नपुग्ने, निर्वाचनमा हिँड्दा दलित नेताहरूलाई सुत्ने समस्या, हिँड्नलाई गाडीको समस्या, पार्टीकै नेताहरूबाट मत माग्दै घरदैलामा जाँदा ‘घरभित्रै चाहिँ नपस्नू है, भोट बिग्रन सक्छ, हाम्रो समाज यस्तै छ, के गर्ने ?’ भन्ने जस्तो गम्भीर विभेदजन्य व्यवहार गरेकाले पार्टी मालेमावाद र कम्युनिस्टको चरित्रबाट पूर्णतः च्यूत भएको पाएँ । विशेषगरी माओवादी केन्द्रका नेताहरू निर्वाचनमा (कम्तीमा नुवाकोटमा) दलितका गाउँबस्तीमा मत माग्न नजाने गरेको, इमानदारीपूर्वक मत हाल्दा पनि अरूले नहालेको मतको जिम्मा दलितले लिइदिनुपर्ने तथा ‘दलितले भोट मासु र रक्सीमा बेच्छ’ भन्ने गलत भाष्य निर्माण गर्न पार्टीकै नेताहरूबाट विभिन्न चियापसल र भट्टीमा संवाद गर्ने, दलितलाई मानमर्दन गर्ने काम भएको छ ।
माओवादी केन्द्रभित्र पार्टीका वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहकै कार्यकारी पदमा, नेतृत्व वा पदाधिकारी नबनाउने मनोविज्ञान र कार्यशैली देखिन्छ, लाभको पद विरलै मात्र दिएको देखिन्छ । यसले गर्दा पार्टीको कार्यकारी र लाभको पद पाउन कि त पुँजीपति वा नवधनाढ्य हुनुपर्ने, कि त सहिद वा बेपत्ता परिवारको हुनुपर्ने, कि जनयुद्धमा बन्दुकै बोकेको हुनुपर्ने या विगतमा बाबुबाजे, वडाध्यक्ष, गाविस अध्यक्ष वा प्रधानपञ्च वा जिम्वाल हुनुपर्ने भन्ने गलत परिपाटी हुर्कँदै गएको छ । यसले गर्दा यी कुनैमा पनि नपर्ने, तर पार्टीमा इमानदारी र निष्ठापूर्वक आफ्नो महत्वपूर्ण समयावधि समर्पण गरेका युवा नेताहरूलाई पार्टीले कुनै सम्भावना र आकर्षण देखाउन नसकेको अवस्था छ । पार्टीका विभिन्न तहका कार्यकारी र लाभको पद, स्वकीय सचिव, वडाध्यक्ष, पालिका अध्यक्ष र उपाध्यक्ष, नगर प्रमुख वा उपप्रमुख, मन्त्रीका सल्लाहकार, विभिन्न संस्थान, परिषद्÷काउन्सिलका सञ्चालक सदस्य, कार्यकारी उपाध्यक्ष, सदस्यसचिव, अध्यक्ष, महाप्रबन्धक, राजदूत, प्रदेश वा सङ्घीय सांसद वा मन्त्री गैरदलित नेता वा आफ्ना आसेपासे वा चाकडीबाजका पोल्टामा पारेको देखिन्छ । पार्टीले बागमती प्रदेशमा २०७४ र २०७९ सालको दुवै निर्वाचनपछि बनेका प्रदेशसभामा दलित सदस्य एउटा पनि बनाएको देखिएन ।
जनयुद्धका जगमा उदाएका दाहालले प्रधानमन्त्री हुँदा विगतका प्रधानमन्त्रीले भारतबाट पहिलो भ्रमण गर्ने परिपाटी तोड्दै चीनमा आयोजित ओलम्पिकमा अतिथिका रूपमा भाग लिन गएकामा ‘अब राष्ट्रियता बलियो हुने भयो’ भन्ने मानसिकता बनाएका जनताको अगाडि विमानस्थलमा ओर्लन नपाउँदै ‘मेरो पहिलो औपचारिक भ्रमण भारतबाटै हुनेछ’ भन्ने अभिव्यक्ति दिएर कूटनीतिमा ज्यादै ढुलमुले चरित्र र अपरिपक्वता देखाएको सबैलाई सम्झना नै होला । एमसिसी पारित गर्ने बेलामा पनि ‘गर्नुहुँदैन’ भन्ने स्पष्ट अडान पनि लिन नसकेको देखिन्छ ।
आवरणमा खाँटी र क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेता भनी देखिने, तर भित्री चरित्रचाहिँ पशुपतिनाथ र भारतका विभिन्न हिन्दु शक्तिपीठको दर्शन गर्दै गेरुवस्त्र धारण गर्दै हिँड्ने प्रवृत्ति देखाउने नेतृत्वको द्वैधचरित्रका कारणले पनि दलित समुदाय माओवादीप्रति चिढिँदै गएको छ, जुन कुरालाई पार्टीले गम्भीर रूपमा लिन जरुरी छ । दलितमा जातीय विभेद र छुवाछुतको प्रमुख कारण हिन्दुधर्म हो भन्ने मत अहिले पनि ज्यादै बलियो छ ।
नुवाकोट पार्टीमा ‘पद पाउन सहिद तथा बेपत्ता परिवार भएर मात्र पुग्दैन, कि त तामाङ कि बाहुन, क्षेत्री हुनुपयो’ भन्ने भाष्य स्लो–पोइजनका रूपमा भुसको आगोसरि सल्किरहेको छ । उक्त आगो नेताले कसरी निभाउलान् ? चुनौतीपूर्ण छ । समग्रमा पार्टीमा तलदेखि माथिसम्मै चरम अवसरवाद, गुटबन्दी, अनुशासनहीनता, अराजकता मौलाउँदै गएको, अनैतिक क्रियाकलाप–भ्रष्टाचार–तस्करी–आत्मकेन्द्रित मानसिकतामा लिप्त भएको, राम्रा मान्छेलाई षड्यन्त्रपूर्वक घेराबन्दी र किनारा लगाउने, आरोपित गर्ने चरम अन्यायपूर्ण मनोविज्ञान पाल्ने तथा षड्यन्त्रमूलक कार्यशैली अपनाएको पाइन्छ । यी सम्पूर्ण बेथितिको अन्त्य गर्न तथा सच्चा कार्यकर्तालाई उचित जिम्मेवारी दिन र न्याय दिन एवम् आशा, भविष्य र सम्भावना देखाउन माओवादी केन्द्र र नेतृत्वले अब सक्दैन, गर्दैन । यस्ता बेथिति, अपमान, तिरस्कार, लाञ्छना खेपेर, आफ्नो क्रियाशीलता फ्रिज गरेर माओवादी केन्द्रमै टाँसिएर बस्न मलाई मेरो गतिशीलता र केही गर्ने हुटहुटीले दिएन । अतः माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट आजैका मितिदेखि लागू हुने गरी मेरो राजीखुसीले अलग भई पार्टी परित्याग गरेको व्यहोरा सम्पूर्णमा जानकारी गराउँछु । मेरो नाम पार्टीको सङ्गठित÷साधारण सदस्यसमेतबाट हटाइदिन यसै लेखमार्फत आग्रह गर्दै आगामी दिनमा सबैसँग समदूरीको सम्बन्ध राखी पत्रकारिता र समाजसेवामा क्रियाशील हुने प्रण गर्छु ।
लिखु–३, नुवाकोट
(९८४१७८३२४०)
प्रतिक्रिया