सल्यानबेँसी जात्रा मंसिर १८ र १९ गते

  • राजेन्द्र बस्नेत
  • ५ मंसिर २०८१, बुधबार १६:०४

धादिङ । हरेक वर्ष मंशिर न्वागी पर्व मनाउन तथा जात्रा लगाउनको लागि दशैंको टिकाको दिन साइत हेरेर तिहारको भाइटिकाको दिन साइत सार्वजनिक गर्ने चलन छ । यही चलनअनुसार धादिङ जिल्लाको त्रिुपुरासुन्दरी गाउँपालिकामा रहेको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेकोे सल्यानकोट त्रिपुरामाई मन्दिरमा न्वागी पर्व मंसिर १८ र १९ गते हुने भएको छ । सल्यानकोटमा घरमा रहेकी भगवतीको मंशिर १८ पुजा आरधाना गरी १९ गते बिहान माइती सल्यानवेशी ल्याईन्छ ।

नेपालमा मनाईने न्वागी पर्व तथा जात्रामध्ये सबै भन्दा ठुलो पर्व तथा जात्राको रूपले परिचित यो जात्रालाई न्वागी जात्राको नाममा समेत चिनिन्छ । यस जात्रालाई स्थानीय बोलीचालीको भाषमा माईस्थान जात्रा वा सल्यानवेसी जात्रा भन्ने गर्दछन् । त्रिपुरासुन्दरी भगवती माइती घरमा न्वागी खान ल्याइन्छ । भगवती फागुन महिनासम्म यही राखिन्छ । फागुन महिनामा साइत हेरेर पुनः त्रिपुरासुन्दरी भगवतीलाई माथि आफ्नै घर लाने परम्परा रहेको छ । घर लाने बेलामा भन्दा माइती ल्याउँदा भव्य मेला लगाउने गरिन्छ । भगवतीको प्रतिक बेसी झार्दा भक्तजन र पुजारीले खुँडा, खुकुरीसहित पञ्चेबाजामा नाँच देखाउँदै दियो, कलश बोकेर शंख, घण्ट बजाउँदै भगवतीको जयजयकार गाउँदै अबिर जात्रा गर्ने गर्छन् । बेसीको मन्दिरमा पुजापाठ गरेर नयाँ धानको चामलमा बनाइएको न्वागी खाएपछि न्वागी जात्रा सकिने गर्दछ । स्थानीयकानुसार देवीलाई न्वागी नचाएसम्म नयाँ धानको चामलबाट कुनै परिकार नखाने चलन समेत छ ।

यस मन्दिरलाई चार जातको साझा फुलबारीको उदाहरणका रूपमा हेर्न सकिन्छ भन्छन् । त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समितिका सल्लाहकार नारायण तिमिलसिना । यस मन्दिरको पुजारी मगर रहेका छन् । मुल पुजारी गोपाल राना छन् । यस मन्दिरको देखदेखक लागि छडिवाला नेवार र मगर रहेकाछन् । अरमने क्षेत्री छन् जसले घण्टको व्यवस्थापन गर्छन । नङ्रा लगाउने वा बाजा बजाउन दमाई छन् । ल्हारको अर्थात् काटमारको हातहतियार तयार गर्ने काम कामीले गर्छन् । घण्टेले घण्ट बजाउने काम गर्छन् । यसमा नेवार छन् । मैन खम्बावाला सार्की छन् । पाखुरेको काम काटमार गर्ने हो यसमा मगर क्षेत्री छन् । पुरोहितका काम तिमिल्सिना, सापकोटा, बसौला र सिटौला छन् । पछिल्लो समय तिमिल्सिना र सापकोटाले पुरोहितको काम गछन् ।

सल्यानकोट र आगिन्चोकमा गरी तीनवटा त्रिपुरा माईको मन्दिर रहेको छ । सल्यानकोटमा रहेको कोटलाई माथिल्लो कोट भनिन्छ । आगिन्चोकमा रहेको मन्दिरलाई तल्लो कोट भनिन्छ । देवीलाई माथिल्लो कोटबाट आगिन्चोकको तल्लो कोटमा बाजागाजासहित डोलीमा लैजाने परम्परा रहेको छ । सल्यानेकाटमा रहेको त्रिपुरासुन्दरी भगवतीलाई वर्षभर विभिन्न ३ वटा मन्दिरमा राखेर पुजा गरिन्छ । सल्यानकोटमा डाँडामा रहेको त्रिपुरा सुन्दरी भगवती पश्चिमपट्टि घरमा रहेको छिन् । श्रावणको चर्तुदशीमा होम गर्न एक दिन पूर्वपट्टि रहेको मावली लगिन्छ । होम सहिएपछि सोही दिन घर लगिन्छ । घटस्थपनादेखि चर्तुदशीका मावली राखिन्छ र टिकाटाला सकिएपछि घर ल्याईन्छ । न्वागी खाने साइतअनुसार मंशिर महिनामा सल्यानवेशी माइती ल्याइन्छ र चैत्रमा घर फकाइने प्रचलन विद्यमान रहेको सल्लाहकार तिमिल्सिनाले बताए ।

विषेश समयमा राखेर पुजा गर्ने प्रचलन नेपालकै अनौठो र विरलै भेटिने प्रचलन रहेको त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समितिले जनाएको छ । यो जात्रास्थल जिल्ला सदरमुकाम धादिङवेंशीबाट करिव ३८ किमी सडक दूरीमा सल्यानकोटस्थित त्रिपुरासुन्दरी माईको मन्दिर रहेको छ । तत्कालीन राजा पृथ्वीनारायण शाह नेपाल एकीकरणको बेला गोर्खाबाट नुवाकोट आक्रमणका लागि निस्किएको ऐतिहासिक तथ्यसँग जोडिएको छ । नुवाकोट आक्रमण जाँदा विजयी भएपछि राजाले भगवतीको मन्दिर स्थापना गरेको किंवदन्ती छ । प्रत्येक वर्ष लाग्ने न्वागी पर्व तथा जात्रा प्रवद्र्धन गर्न प्रचार–प्रसार गरिंदै आएको छ । यस जात्रामा धादिङ, गोरखा, चितवन, कास्की, मकवानपुर, काठमाडांै, नुवाकोट र रसुवाकाबाट हजारौं भक्तजन मन्दिरमा पुग्ने गरेका छन् ।