Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

विदुरको माझीटारमा शीतभण्डार सञ्चालन

विदुरको माझीटारमा शीतभण्डार सञ्चालन
त्रिशूली प्रवाह
१ साल अगाडी

पिपलटार । नुवाकोट जिल्लाको विदुर नगरपालिका-५ माझीटारमा ६ हजार मेट्रिकटन क्षमताको अत्याधुनिक प्रविधिको शीतभण्डार निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । निर्माण थालिएको आठ वर्षपछि शीतभण्डार तयार भएसँगै तरकारी र फलफूल राख्न सुरु भएको छ ।

हिमालय शीतभण्डार प्रालिका सञ्चालक माधव गजुरेलले वि.सं. २०७३ मङ्सिरमा काम सुरु गर्दा १० हजार मेट्रिकटन क्षमतामा निर्माणको योजना थालिएको भन्दै सङ्घीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकारको अनुदान सहयोगमा शीतभण्डार क्षमता घटाएर ६ हजार मेट्रिकटन बनाइएको जानकारी दिए । जिल्लामा हिमालय शीतभण्डार सञ्चालन हुनुभन्दा अघि विदुर नगरपालिका-५ को गँगटेसँगै र लिखु गाउँपालिकाको ढिकुरेनजिक मुरलीटारमा पाँच हजार मेट्रिक टन क्षमताको दुईवटा शीतभण्डार सञ्चालनमा रहेका छन् । हिमालय शीतभण्डार अरू दुईवटाभन्दा ठुलो र आधुनिक उपकरण रहेको सञ्चालक गजुरेलको दाबी छ । जिल्लामा उत्पादित आलु, तरकारी, फलफूललगायतका सामग्री राख्न विगतमा ठाउँको अभावले नयाँ निर्माण गर्नुपरेको उनले बताए । शीतभण्डारले किसानलाई सहुलियत शुल्कमा आलु, तरकारी, फलफूललगायत सामग्री राख्न सहज भएको छ । ‘आलु उत्पादनका लागि पकेट क्षेत्र मानिएको नुवाकोट र रसुवाका किसानले उत्पादन गरेको आलु शीतभण्डारको अभावले खन्नेबित्तिकै कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो,’ सञ्चालक गजुरेलले भने, ‘सहुलियत शुल्कमा शीतभण्डारको व्यवस्था भएपछि किसानले भनेको मूल्य पाउने अपेक्षा लिएका छौँ ।’

१३ रोपनी क्षेत्रफलमा रु. २५ करोड लागतमा शीतभण्डार निर्माण भएको प्रालिका अध्यक्ष गोपी कँडेलले जानकारी दिए । उनका अनुसार प्रालिको रु. पाँच करोड लागत रहने र बाँकी बागमती प्रदेश सरकारको अनुदान हुने गरी वि.सं. २०७६ माघमा शीतभण्डार बनाउन ठेक्का लगाइएको थियो । अठार महिनामा काम सम्पन्न गर्ने गरी रु. १९ करोड ९४ लाखमा रसुवा कन्स्ट्रक्सनले जिम्मा लिएकामा निर्माण कम्पनीले लामो समयसम्म काम नगरेपछि प्रालि आफैँले निर्माण गरेको हो । तोकिएको समयमा काम सम्पन्न नहुँदा प्रदेश सरकारले लगाएको ठेक्का रकममा प्रालिले रु. पाँच करोड लगानी थप गरेर शीतभण्डार तयार गरेको अर्का सञ्चालक श्यामलाल श्रेष्ठले बताए । निर्माण गरिएको शीतभण्डार अमेरिकन प्रविधिमा आधारित छ भने किसानले राख्ने सामग्रीमा बिमाको व्यवस्था गरिएकाले भण्डार गरिएका वस्तु शतप्रतिशत सुरक्षित रहनेसमेत उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह