धुन्चे । नेपालको तेस्रो पर्यटकीय गन्तव्य रसुवा जिल्लाको लामटाङ विदेशीभन्दा स्वदेशी पर्यटकले अहिले भरिभराउ भएको छ । लामटाङसँगै रसुवाको गोसाइँकुण्ड, पार्वतीकुण्डमा आन्तरिक पर्यटक भरिभराउ रहेको पर्यटन तथा होटेल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष रामशरण गजुरेल (निसान)ले बताए । यस क्षेत्रमा पर्यटकीय सिजन वर्षको ६ महिना अर्थात् असोज, कात्तिक, मङ्सिर र फागुन, चैत, वैशाख रहेकोसमेत उनले बताए । गोरो छाला हुनेलाई मात्र पर्यटक मान्ने नेपालीको सोचाइलाई लामटाङ, गोसाइँकुण्ड पदमार्गमा स्वदेशी पर्यटकको भिडले सोच बदल्न बाध्य बनाएको छ ।
यस वर्षको पहिलो पर्यटकीय सिजनमा विदेशीभन्दा स्वदेशी पर्यटक ओइरिएपछि जिल्लाका होटेल, लज भरिभराउ भएका छन् । लामटाङ राष्ट्रिय निकुञ्जमा रहेको यो क्षेत्र गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्छ । लामटाङ पदमार्ग स्याफ्रुबेँसीबाट सुरु हुन्छ । स्याफ्रुबेँसीदेखि लामटाङसम्मको दूरी २९ किलोमिटर रहेको छ । काठमाडौँबाट स्याफ्रुबेँसीसम्म सडकमार्ग रहेको छ । लामटाङका व्यवसायीलाई असोज लागेपछि पर्यटकलाई वास राख्न र खुवाउन भ्याइनभ्याई भइरहेको वडा नम्बर– ४ का अध्यक्ष ढिण्डुप जाङ्वाले बताए । यसपटक नेपाली पर्यटक अत्यधिक आएकोसमेत उनले जानकारी दिए । कोरोना महामारीपछि बिस्तारै लामटाङमा पर्यटक सङ्ख्या र गतिविधि गत वर्षदेखि बढ्दै गएको छ । दसैँ, तिहारको समयमा रसुवाको लामटाङ र गोसाइँकुण्ड क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन होटेल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष गजुरेलले बताए । मौसम खुलेको समय र दसैँ, तिहारको लामो बिदाको समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा गोसाइँकुण्ड र लामटाङ क्षेत्र पर्ने गरेका छन् । काठमाडौंबाट छोटो दूरी र छोटो समयमा पदयात्रा गर्न सकिने भएकाले पनि रसुवाका यी दुई क्षेत्र विदेशी र स्वदेशी पर्यटकको रोजाइमा पर्ने गरेका हुन् । गत वर्ष नुवाकोट विदुरका होटेल व्यवसायी भानु पाण्डे परिवारसहित रसुवाको सदरमुकाम धुन्चे हुँदै गोसाइँकुण्ड गएका थिए । प्राकृतिक सुन्दरताको आनन्द लिँदै हिमालको दृश्य अवलोकन गर्न परिवार लिएर गएको उनले बताए । रसुवा कालिकास्थानका प्रह्लाद खतिवडा पनि दसैँको टीका लगाएर ६ जनाको दलबलसहित गत वर्ष लामटाङको दृश्यावलोकनका लागि गएका थिए । उनी मात्र होइन, सर्वोच्च अदालतका न्यायाधीशसहित उच्च अदालतका न्यायधीशको टिमले समेत गत वर्षको दसैँअगाडि यस क्षेत्रको भ्रमण गरेको क्यान्जिन गुम्बाका होटेल व्यवसायी तेन्जिन डोल्मा लामाले बताइन् । विदेशीका अलावा लामटाङ क्षेत्रको भ्रमण गर्नेमा नेपाली सेनाको उच्च तहका व्यक्तिसमेत रहेका छन् । नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी (जर्नेल) शंकर पण्डितले गत वर्षको दसैँ त्यतै बिताए भने यस वर्षको छठ पनि परिवारसहित गोसाइँकुण्डमा बिताए । काठमाडौंबाट नजिकको पदयात्रामार्ग गोसाइँकुण्ड र लामटाङ हिमालको दृश्य अवलोकन गर्न पाइने भएकाले रोजेको उनले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । लामटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने लामटाङ पदमार्ग क्षेत्र घुम्न आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्दै गएको छ । विगतमा दसैँको समयमा बाह्य पर्यटकको मात्र चहल–पहल हुने गरेकामा गत र यस वर्ष नेपालीको चाप थेग्नसमेत होटेल व्यवसायीलाई गाह्रो परिरहेको छ ।
नुवाकोट जिल्ला विदुर नगरपालिकाका ओमराज श्रेष्ठले गत दसैँ बिदाको समय सदुपयोग गर्न लामटाङ भ्रमणमा गएको बताए । उनी भन्छन्, ‘लामो समयदेखि लामटाङ आउने योजना थियो, बल्ल गत वर्ष जाने समय मिल्यो ।’ लामटाङ गएर त्यहाँको प्रकृतिसँग रमाउनुको मज्जा नै बेग्लै रहेको श्रेष्ठको भनाइ छ । ‘हामी धेरै पछाडि छौँ, प्रकृतिसँग खेल्न र प्रकृतिलाई बुझ्न सकेका छैनौँ, यहाँको सुन्दरता छाडेर विदेश घुम्ने योजना बनाउँछौँ, पहिले आफ्नो देशको प्रकृतिलाई बुझ्न सक्नुपर्छ, अनि विदेश भ्रमण गर्ने हो, यहाँ छ असली प्रकृति र संस्कार, संस्कृति, हामीले घुमेर र बुझेर नै प्रवद्र्धन गर्न सक्नुपर्छ,’ उनले भने । श्रेष्ठजस्तै नुवाकोट उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष दिनेश श्रेष्ठ पनि आफन्तको टोली बनाएर गत वर्ष लामटाङको प्राकृतिक सौन्दर्यसँग रमाउन गएका थिए । ‘लामटाङबाहेक अरू कुन ठाउँ हुन सक्छ स्वर्ग ? यही हो, एकपटक आउनैपर्ने ठाउँ नै लामटाङ हो, जीवित अवस्थामा नै स्वर्ग पुगेको आभास मिलेको छ,’ उनले बताए । ‘मरेपछि स्वर्ग पुगिन्छ–पुगिँदैन, जिउँदै पुगेर आएको छु,’ उनले भने, ‘हामी त स्वर्गमा, यस ठाउँमा एकपटक सबै नेपाली आउनुपर्छ, प्रकृतिको असली स्वर्ग घुम्न जरुरी छ ।’ चिसो बढ्दै गरेको अवस्था र जोखिम बढी हुने क्षेत्र भएकाले यहाँ आउँदा भने जानकारी लिनु पनि आवश्यक रहेको श्रेष्ठको सुझाव छ । सात सय वर्षभन्दा पुरानो क्यान्जिङ गुम्बा, एसियाकै पहिलो उच्च स्थानमा रहेको याक चिज उत्पादन केन्द्र, लामटाङ बेसक्याम्प, हिमाली दृश्यावलोकन गर्ने ‘क्यान्जिन री’लगायत अवलोकन गर्ने ठाउँ रहेको छ । यहाँ पुग्ने पर्यटकले लामटाङ पदमार्गको हिमाली दृश्यको साथसाथै तामाङ संस्कार, संस्कृति र परम्परालाई अनुभवसँगै लामटाङको आतिथ्य सत्कारलाई भरपूर रूपमा आनन्द लिन सक्छन् । यहाँका बाटोमा आउँदा झरना, खोला, खोल्सा, भिर, पहाड, उकाली–ओरालीको भरपूर रूपमा घुम्दै एक हप्ता बिताउन सकिन्छ । श्रेष्ठले भने, ‘यहाँ आएपछि त फर्किन नपरोस् जस्तो पो लाग्ने रहेछ, यहाँका प्रकृतिसँग रमाउँदै बस्न पो मन लाग्ने रहेछ ।’ यहाँ आएर हिमालको एकदम नजिक पुगेजस्तो हुँदोरहेछ । बिदाको समय सदुपयोगसँगै नयाँ ठाउँको भ्रमण र प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ । यसले प्रस्ट हुन्छ कि नेपाली समाजमा भ्रमण गर्ने प्रचलन बढेको छ ।
नेपालीमा बिस्तारै भ्रमण गर्ने योजनासहित नयाँ स्थानको भ्रमण तथा अवलोकन गर्ने प्रचलन बढ्दै गएको छ । बिदाको समयलाई नेपालीले भरपूर सदुपयोग गर्न थालेका छन् । अहिले नेपालीले बिदाको समय पूर्ण रूपमा भ्रमणमा सदुपयोग गरिरहेका छन् । दसैँ र तिहार मनाउनका लागि विदेशबाट स्वदेश फर्किएका नेपाली र कलेज, स्कुल अध्ययनरत विद्यार्थी लामो बिदाको सदुपयोग गर्दै गोसाइँकुण्ड, लामटाङ भ्रमणमा निस्कने गरेको पाइन्छ । अहिले नेपालका विभिन्न स्थानबाट हिमाली जिल्ला गोसाइँकुण्ड र लामटाङ आउने आन्तरिक पर्यटक बढेको लामटाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनले दिएको जानकारीअनुसार चालू आवको साउन, भदौ, असोज, कात्तिक मसान्तसम्म २२ हजार दुई सय १८ जना बाह्य तथा आन्तरिक पर्यटकले जिल्लाको गोसाइँकुण्ड र लामटाङ क्षेत्रको भ्रमण गरेका छन् । भ्रमण गर्नेले तिरेको प्रवेश शुल्कको राजस्व रु. एक करोड १५ लाख रहेको उनले जानकारी दिए । निकुञ्ज भ्रमणमा आउने नेपालीलाई एक सय रुपैयाँ, सार्क मुलुकका पर्यटकलाई एक हजार पाँच सय रुपैयाँ, अन्य देशका पर्यटकलाई तीन हजार रुपैयाँ शुल्क तोकिएको छ भने हेलिकोप्टर प्रत्येकपटकको तीन हजार रुपैयाँ रहेको छ । गोसाइँकुण्ड, लाङटाङ र तामाङ सम्पदामार्ग हेर्न र घुम्न आउँदा गाइड लिएर जानसमेत निकुञ्जले आग्रह गरेको छ । सङ्घीय राजधानी काठमाडौँबाट नजिकैको निकुञ्ज रहेको लाङटाङ छोटो दूरीको मार्ग भएका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि पहिलो रोजाइमा पर्दछ । यसैले त यहाँको स्थानीय अर्गानिक खानेकुरा, तामाङ संस्कृतिको नाचगान, हिमाल, पहाड, लोपोन्मुख जीवजन्तु, चराचुरुङ्गीले झनै मन्त्रमुग्ध बनाउनाले पनि पर्यटकको खचाखच हुने गरेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् ।
दसैँ र तिहार बिदामा पर्यटकीय क्षेत्र गोसाइँकुण्ड र लामटाङको भ्रमणमा आउने बढेको स्थानीय बताउँछन् । हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुवातको समयमा गरी दुई सिजनमा लामटाङ घुम्न अनुकूल समय मानिन्छ । यसै समयलाई मध्यनजर गरी लामटाङमा पर्यटक घुम्न आउने गर्दछन् । पर्यटक हिमाल, पहाडका दृश्य, उच्च पहाड, लामटाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै लामटाङ हिमाल चढ्न र पुरानो ऐतिहासिक गुम्बा (सात सय वर्ष पुरानो) तथा एसियाकै पहिलो याक चिज उत्पादन केन्द्र (२००९ सालमा स्थापना भएको) को अध्ययन गर्न लामटाङ आउने गरेको चिज उत्पादन केन्द्रका प्रमुख (विगत २८ वर्षदेखि कार्यरत) ग्याल्बो तामाङले बताए । लामटाङ पदमार्गमार्फत पदयात्रामा आएका पर्यटकले त्यस क्षेत्रका होटेलले लिने शुल्क एकरूपता नभएकोबारे गुनासो गर्ने गरेका छन् । पदमार्गका होटेलले खाना र वासको शुल्क तल्लो क्षेत्र बम्बो, रिन्चेन, लामा होटेलमा भन्दा माथिल्लो क्षेत्र घोडातबेला, लामटाङ, क्यान्जिङ गुम्बा क्षेत्रमा केही सस्तो रहेको लामटाङ पुगेर आएका सञ्चारकर्मी एवम् डबली खबर अनलाइनका सञ्चालक सुनील श्रेष्ठले बताए । पर्यटकीय पदयात्रामार्ग पहिलो सगरमाथा बेसक्याम्प, दोस्रो अन्नपूर्ण बेसक्याम्प र तेस्रो लामटाङ बेसक्याम्प रहेको पर्यटन व्यवसायी एवम् तारागाउँ विकास समितिका सञ्चालक सदस्य शिव लामिछानेले जानकारी दिए । पर्यटन व्यवसाय आतिथ्यतामा आधारित व्यवसाय भएकाले स्थानीय व्यवसायीमा त्यो गुण हुनुपर्नेसमेत उनले बताए । लामटाङ क्षेत्रका व्यवसायीले सगरमाथा बेसक्याम्पकै जति खाना, नास्ता र वासलगायत अन्य खाद्य तथा पेयपदार्थको मूल्य रहेको यस क्षेत्रमा आउने पर्यटक र गाइडले बताउने गरेका छन् । यस क्षेत्रमा आउने पर्यटकले गुणस्तरीय परिणाम र स्वाभाविक मूल्य हुनुपर्ने सुझाव दिने गरेका छन् । जिल्लाका सरोकारवाला निकायले गुणस्तरीय परिणाम र स्वाभाविक मूल्य भए–नभएको अनुगमन गरेर यो मार्गको भ्रमण गर्ने पर्यटकले यस क्षेत्रबारे सकारात्मक सन्देश लैजाने वातावरण बनाइदिन सके पर्यटकको सङ्ख्या वृद्धि हुने पर्यटन व्यवसायी एवम् तारागाउँ विकास समितिका सञ्चालक सदस्य लामिछानेको धारणा रहेको छ । वर्षको ६ महिना स्वदेशी तथा विदेशी पर्यटक ओइरिने यो मार्गको कतिपय ठाउँमा बाटो बगेको, कतिपय ठाउँमा फड्के र पुल हाल्नुपर्ने, पदयात्रीका लागि ठाउँठाउँमा जानकारीमूलक सूचना बोर्ड अपडेट सम्बन्धित निकायले गरिदिनुपर्नेसमेत उनले सुझाव दिए । यो पदमार्गमा घोडा, खच्चर र स्थानीय व्यवसायी तथा पर्यटक जोखिम मोलेरै आवत–जावत गर्ने गरेका छन् ।