विदुर । नुवाकोट जिल्लाका आधा दर्जन स्थानीय तहका प्रमुख प्रशासकीय भवन अझै निर्माणाधीन छन् । जिल्लाका १२ पालिकामध्ये लिखुले अहिलेसम्म भवन निर्माणका लागि जग्गा पनि व्यवस्थापन गर्न सकेको छैन ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको सात वर्ष बितिसक्दा पनि सूर्यगढी, विदुर, बेलकोटगढी, तारकेश्वर र म्यागङको प्रमुख प्रशासकीय भवन निर्माणाधीन छन् । जिल्लाका पालिकामध्ये शिवपुरी, किस्पाङ, तादी, दुप्चेश्वर र पञ्चकन्याको कार्यालय भवन २०७४ मा निर्वाचित जनप्रतिनिधिले निर्माण सम्पन्न गरी कार्यालय सारिसकिएको जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले जानकारी दिए । कार्यालय भवन निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि म्यागङले कार्यालय सार्न नसकेको जिससले जनाएको छ । विदुर र बेलकोटगढी नगरपालिका तथा म्यागङ गाउँपालिकामा २०७४ मा निर्वाचित जनप्रतिनिधिले नै कार्यालय भवन निर्माणको सुरुवात गरेका थिए भने सूर्यगढी र तारकेश्वरमा २०७९ को निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले कार्यालय भवन निर्माणको थालनी गरेका छन् । लिखु गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण गर्न प्रस्तावित जग्गा कार्यपालिकाबाट सर्वसम्मत निर्णय गर्न नसक्दा हरेक आवमा बजेट विनियोजन हुँदा पनि भवन निर्माण सुरु हुन सकेको छैन । चौघडा र थानसिंहमा रहेको सरकारी जग्गामा भवन निर्माणका लागि पालिकाले प्रस्तावित गरे पनि त्यस क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले आ-आफ्ना क्षेत्रमा भवन बनाउनुपर्ने दबाब दिएकाले सर्वसम्मत भवन निर्माणका लागि स्थान छनोट हुन नसक्दा बन्ने अनिश्चित भएको छ ।







प्रतिक्रिया