रसुवा । उत्पादित विद्युत् जोडिने प्रसारण लाइनको अभावले रसुवा जिल्लामा निर्माण सम्पन्न भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले ७ महिनापछि परीक्षण उत्पादन गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाईमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले मङ्सिर ५ गते बुधबार मात्र परीक्षण उत्पादन सुरू गरेको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७/३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरू भएको छ । आयोजनाले बुधबार परीक्षणका रूपमा ४ दशमलव २ मेगावाट विद्युत् उत्पादन गरेको आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध–सञ्चालक छबि गैरेले बताए । परीक्षण सफल भएपछि अब क्रमशः विद्युत् उत्पादन बढाउँदै लगिने छ । सबै युनिटबाट परीक्षण उत्पादन र तोकिएका मापदण्ड पूरा गरी करिव एक महिनाभित्र आयोजनाबाट व्यावसायिकरूपमा विद्युत् उत्पादन सुरू गरिने समेत उनले बताए । टिमुरे (तातोपानी) स्थित विद्युत् गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत उत्पादित बिजुली रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सब–स्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनलाई निर्माण सम्पन्न गरी गत कार्तिक २१ गतेबाट सञ्चालनमा ल्याइएको थियो । रसुवागढीबाट उत्पादित विद्युत्बाट हिउँदयाममा काठमाडौं उपत्यकाका हुने विद्युत् माग व्यवस्थापनका लागि सहज हुनेछ । सुक्खायाम सुरू भएसँगै भोटेकोशीमा पानीको बहाव घट्न सुरू भइसकेकाले रसुवागढी आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने छैन । हिउँदयाममा आयोजनाबाट करिव ३७ मेगावाट मात्र बिजुली उत्पादन हुनेछ ।
इञ्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा विद्युत् गृह, बाँध, सुरूङलगायत सिभिल संरचना र इलेक्ट्रोमेकानिकल काम गर्न चाईना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनसँग २०७० पुस ३० मा ठेक्का सम्झौता भएको थियो । इलेक्ट्रोमेकानिकल कार्यका लागि भोइथ हाइड्रो प्रालि, भारतसँग २०७१ साउन १५ मा ठेक्का सम्झौता भएको थियो । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्प एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी, पहुँचमार्गमा निरन्तर गइरहने पहिरो, कोभिड महामारीलगायत कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । आयोजनाबाट गत चैतसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखी सम्पूर्ण निर्माण सम्पन्न गरिएको थियो । तर आयोजनाको विद्युत् जोडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गर्न केही समय लागेकाले विद्युत् उत्पादन केही ढिलाई भएको हो ।
प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने समयमा आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १३ अर्ब ६८ करोड ४२ लाख रूपैयाँ तय गरी सोही आधारमा ५० प्रतिशत स्वपुँजी (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको थियो । आयोजना निर्माण अगाडी बढाउने समयमा मुख्य रूपमा अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन भएका कारण संशोधित अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब १८ करोड ३७ लाख रूपैयाँ कायम गरिएको थियो । काबु बाहिरको परिस्थितिका कारण आयोजना आयोजना निर्माण अवधि बढ्दा र डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दा आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक अनुमानित लागत १८ अर्ब ६९ करोड रूपैयाँ छ । निर्माण अवधिको ब्याज करिव ६ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ । कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३२ दशमलव ७९, प्राधिकरणको १८, रसुवाका स्थानीय तहको शुन्य दशमलव २१ प्रतिशत संस्थापक सेयर छ । आयोजनाले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाएको थियो । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रूपैयाँ आम्दानी हुने बताइएको छ ।







प्रतिक्रिया