+
Search

ताजा अपडेट +

पपुलर +

चार महिनामा रसुवा आएका पर्यटकको खर्च ४० करोड

चार महिनामा रसुवा आएका पर्यटकको खर्च ४० करोड
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवा जिल्लामा भ्रमण गर्ने पर्यटकले चालू आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा मात्रै सरदर रु. ४० करोड आर्थिक कारोबार गरेका छन् । सो अवधिमा झन्डै २६ हजार आन्तरिक तथा बाह्य पर्यटक जिल्ला भित्रिएको देखिन्छ । पर्यटन तथा होटेल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष रामशरण गजुरेलका अनुसार जिल्ला भ्रमण गर्ने पर्यटकले सरदर रु. १५ हजार खर्च गर्छन् । चालू आवको सो अवधिमा झन्डै रु. ४० करोड पर्यटकले खर्च गरेको उनको जिकिर छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

खासगरी तीर्थस्थल गोसाइँकुण्डलगायत एक सय आठ कुण्ड तथा नेपालको तेस्रो पर्यटक गन्तव्य लाङटाङ, चीन–नेपाल स्थलगत मार्गबाट आयात–निर्यात हुने रसुवागढी नाका, तातोपानीका धारा तथा कुण्ड, तामाङ सम्पदामार्गमा पर्यटक आउने गर्छन् । चालू आवका साउन, भदौ, असोज, कात्तिकमा रसुवा प्रवेश गर्ने पर्यटकको लाङटाङ राष्ट्रिय निकुञ्जले धुन्चेनजिकै ब्राबलमा रहेको प्रवेशद्वारमा अभिलेख राख्ने गरेको छ । उक्त प्रवेशद्वारमा विवरण दर्ता र प्रवेश शुल्क नतिरी प्रवेश गर्न पाइँदैन । निकुञ्जको विवरणअनुसार चालू आवको सो अवधिमा २२ हजार दुई सय १८ आन्तरिक तथा बाह्य पर्यटकले रसुवा भ्रमण गरेका थिए । निकुञ्ज प्रवेशद्वारबाट रसुवा प्रवेश गर्नेले शुल्क तिर्नुभन्दा गलत विवरण दर्ता गरी धुन्चे र स्याफ्रुबेँसी जाने गर्छन् । निकुञ्जमा विवरण दर्ता नगराई सो अवधिमा तीन हजारभन्दा बढी गलत विवरण दर्ता गरेर प्रवेश गरेको हुन सक्ने रसुवाका होटेल व्यवसायी बताउँछन् । निकुञ्जको तथ्याङ्क र व्यवसायीले बताएको सङ्ख्या जोड्दा चालू आवका चार महिनामा झन्डै २६ हजार आन्तरिक तथा बाह्य पर्यटक रसुवा जिल्ला भित्रिएको देखिन्छ । निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेशप्रसाद तिमिल्सिनाले चालू आवका चार महिनामा २२ हजार दुई सय आठ बाह्य तथा आन्तरिक पर्यटकले गोसाइँँकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गर्ने भनी दर्ता गरेर शुल्क तिरेको बताए । निकुञ्ज भ्रमण गर्न आउने नेपालीलाई रु. एक सय, सार्क मुलुकका पर्यटकलाई रु. एक हजार पाँच सय र अन्य देशका पर्यटकलाई रु. तीन हजार शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

Suzuki New Bike & Scooter

पर्यटकीय सम्भावना हुँदाहुँदै पनि स्थानीय तहले समय–समयमा पदमार्ग मर्मत र प्रचारप्रसारमा ध्यान नदिँदा रसुवावासीले पर्यटनबाट लिनुपर्ने जति लाभ लिन नसकिरहेको पर्यटन व्यवसायी शिव लामिछानेले गुनासो गरे । गोसाइँकुण्ड–४ मा पर्ने लाङटाङ र वडा नं.५ मा पर्ने सरोवर गोसाइँकुण्डलगायत सानाठुला गरी एक सयभन्दा बढी प्रकृतिनिर्मित कुण्ड जिल्लामा छन् । काठमाडौँबाट एक सय किलोमिटर दूरीमा हिमशृङ्खला देखिने उच्च स्थान रहेकाले पनि रसुवामा कम खर्चमा पदयात्राको मजा लिँदै हिमाली दृश्यको रसास्वादन गर्न सकिने चेम्बर अफ कमर्स रसुवाका अध्यक्ष सञ्जीव अमात्य बताउँछन् । पालिकाले शुल्क मात्र उठाउने, तर पर्यटकका लागि सुविधा आवश्यक भौतिक पूर्वाधार मर्मत र थप पूर्वाधारका लागि बजेट नछुट्याउने गरेको गोसाइँकुण्ड–४ का वडाध्यक्ष एवम् लाङटाङ पदमार्गका होटेल व्यवसायी ढिन्डुप जाङ्वाले गुनासो गरे । पालिकामा पदमार्ग मर्मत र पुल, झोलुङ्गे पुल निर्माणका लागि हरेक वर्ष वडाबाट प्रस्ताव लगिए पनि महत्व नदिइएको आरोप उनले लगाए । सो क्षेत्रमा आउने पर्यटक खाना र बस्नमा समेत ठगिने गरेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह