+
Search

ताजा अपडेट +

पपुलर +

लाङटाङ-गोसाइँकुण्ड आउनेलाई खान–बस्न सुविधा

लाङटाङ-गोसाइँकुण्ड आउनेलाई खान–बस्न सुविधा
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवा जिल्लामा घुमफिरका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि खान–बस्न समस्या छैन । हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक एवम् बाह्य पर्यटक आउने क्रम जारी रहेको र जिल्लाका सबै क्षेत्रमा होटेल तथा लज चालू अवस्थामा छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

प्रत्येक वर्ष असोजदेखि मङ्सिर र फागुनदेखि जेठसम्म दुई याममा पर्यटकको आगमन हुने गरेको लाङाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । अहिले दैनिक ३०–४० जनासम्म पर्यटक आउने गरेको धुन्चेमा रहेको सुरक्षा जाँचचौकीले जानकारी दिएको छ । काठमाडौँबाट छोटो दूरीमा रहेको हिमशृङ्खला हेर्न, घुम्न विदेशीभन्दा स्वदेशी पर्यटक बढी आउने गरेको निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख श्यामकुमार साहले बताए । निकुञ्जमा प्रवेश गरेबापत नियमअनुसार नेपालीले रु. एक सय, सार्क राष्ट्रका नागरिकले रु. एक हजार पाँच सय र अन्य देशका पर्यटकले रु. तीन हजार शुल्क तिर्नुपर्ने व्यवस्था छ । निकुञ्ज प्रवेश गर्ने पर्यटकले काठमाडौँको भृकुटीमण्डप, रसुवाको ब्राबल, धुन्चे र सिन्धुपाल्चोकको हेलम्बु पोस्टबाट शुल्क तिर्न सक्ने व्यवस्था मिलाइएको छ ।

Suzuki New Bike & Scooter

सोे क्षेत्रमा अवस्थित धार्मिक तीर्थ गोसाइँकुण्डतिर भने आन्तरिक पर्यटक बढी मात्रामा केन्द्रित हुने गरेको बताइएको छ । रसुवाको उच्च भागका हिमशृङ्खला, तालतलैया, भिर, भञ्ज्याङ, स्थानीय वेशभूषा, झर्ना अवलोकनका साथै स्थानीय क्षेत्रमा उत्पादित जैविक अन्न तथा तरकारीका परिकार सेवन गर्न पाइन्छ । रसुवा, नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचित लाङटाङ तथा पवित्र गोसाइँकुण्डका अतिरिक्त पश्चिमी रसुवाको गणेश हिमाल, पार्वतीकुण्डसमेत आउने पर्यटकका लागि खाने–बस्ने व्यवस्थासमेत व्यवसायीले मिलाएका छन् । पर्यटकीय मार्ग धुन्चे, गोसाइँकुण्ड, ठुुलोस्याफ्रु, लाङटाङ मार्गका सबै होटेल तथा लज अहिले चालू रहेको र खान, बस्न कुनै समस्या नहुने होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निशान गजुरेलले जानकारी दिए । यसैगरी गोसाइँकुण्ड तथा लाङटाङ पदमार्गमा भ्रमण गर्दा निस्कने फोहोर तोकिएका स्थानमा मात्र फ्याँक्न, बाटामा भेटिने जनावरलाई माया गरी संरक्षण गरिदिन, कुनै पनि वनस्पति नकाट्न सबै यात्रुलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख साहले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह