+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका ३० प्रतिशत जनता स्वास्थ्य बिमामा आबद्ध

नुवाकोटका ३० प्रतिशत जनता स्वास्थ्य बिमामा आबद्ध
त्रिशूली प्रवाह
८ महिना अगाडी

सुनील श्रेष्ठ, विदुर । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा नुवाकोट जिल्लाका साढे २८ हजार परिवारका ७९ हजारजना आबद्ध भएका छन् । जिल्लामा २०७० साल वैशाखदेखि बिमा फाराम सङ्कलन सुरु भई सोही साल मङ्सिर १ गतेदेखि बिमा कार्यक्रम लागू भएको स्वास्थ्य बिमा बोर्ड नुवाकोटका प्रमुख विनोद डाँगीले जानकारी दिए ।

स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउन ल्याइएको बिमा कार्यक्रम नुवाकोटमा प्रभावकारी हुन सकेको छैन । पाँच वर्षअघि सुरु भएको कार्यक्रमले बल्ल कुल जनसङ्ख्याको ३० प्रतिशतलाई मात्र आबद्ध गराएको छ । वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नुवाकोटको जनसङ्ख्या दुई लाख ६३ हजार तीन सय ९१ रहेकोमध्ये ७९ हजार एक सय ५१ जना बिमामा आबद्ध भएको कार्यालय प्रमुख डाँगीले बताए । जिल्लाका १२ पालिकाका ८८ वटै वडामा स्वास्थ्य बिमा सहयोगी परिचालन गरिएको छ । प्रत्येक वडामा स्वास्थ्य बिमाका लागि कम्तीमा एक सहयोगी हुने व्यवस्था छ । त्यसका लागि वडाध्यक्षको संयोजकत्वमा वडासचिव सदस्य र सम्बन्धित वडाको स्वास्थ्य संस्थाका प्रमुख सदस्यसचिव रहेको समितिले दर्ता सहयोगी सिफारिस गर्ने व्यवस्था छ । तर, जनप्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वयम्सेवक, राजनीतिक दलका स्थानीय अगुवा, समाजसेवीले नै बिमा कार्यक्रमको महत्व बुझ्न नसकेका कारण कार्यक्रममा आबद्ध हुनेको सङ्ख्या उल्लेख्य हुन नसकेको नागरिक समाज नुवाकोटका अध्यक्ष बद्रीप्रसाद त्रिपाठीले बताए । सरकारले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकले प्राप्त गर्न सकून् भनेर ल्याएको कार्यक्रमको महत्व जिम्मेवार निकायले जनतालाई बुझाउन नसक्दा प्रभावकारी नभएको आरोप उनले लगाए । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार संरक्षण गर्न, स्वास्थ्य बिमाद्वारा पूर्वभुक्तानीका माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गरी स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच सुनिश्चितता गर्ने स्वास्थ्य बिमा ऐन, २०७४ ले परिकल्पना गरेको छ ।

स्वास्थ्य बिमा नियमावलीमा भएको व्यवस्थाअनुसार पाँचजनासम्मको परिवारलाई एक एकाइ मानेर रु. तीन हजार पाँच सयमा रु. एक लाखबराबरको स्वास्थ्य बिमा हुने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रतिव्यक्ति रु. सात सय थपेर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाउने र बढीमा रु. दुई लाखसम्मको स्वास्थ्य बिमा दाबी गर्न वा लिन पाइने व्यवस्था छ । स्वास्थ्य स्वयम्सेविकाको परिवारले बिमा कार्यक्रममा आबद्ध हुँदा ५० प्रतिशत छुट पाउने व्यवस्था छ । ७० वर्ष उमेर पूरा गरेका नागरिक एकजनालाई एक एकाइ मानेर, अतिअशक्त अपाङ्गता भएका परिवार र एचआइभी, कुष्ठरोगी, एमडिआर, टिबी रोग लागेका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रममा व्यवस्था रहेको कार्यालय प्रमुख डाँगीले बताए । स्वास्थ्य बिमा बोर्ड नुवाकोटको गत मङ्सिरसम्मको तथ्याङ्कअनुसार नगरपालिका बेलकोटगढीमा नौ हजार ६ सय ५६ र विदुरमा २६ हजार सात सय १० तथा गाउँपालिका पञ्चकन्यामा दुई हजार तीन सय ८३, शिवपुरीमा तीन हजार सात सय ७९, तादीमा तीन हजार चार सय ४९, लिखुमा चार हजार दुई सय ८२, दुप्चेश्वरमा एक हजार दुई सय ७९, सूर्यगढीमा दुई हजार दुई सय ३४, किस्पाङमा तीन हजार ७२, म्यागङमा तीन हजार आठ, तारकेश्वरमा दुई हजार सात सय ६, ककनीमा १६ हजार चार सयजना स्वास्थ्य बिमामा आबद्ध छन् । स्वास्थ्य बिमाका लागि त्रिशूली अस्पताल, विदुर-९ कोलनी, खरानीटार अस्पताल तादी-३, खरानीटार, प्राथमिक स्वास्थ्य केन्द्र म्यागङ-३ देउराली र प्राथमिक स्वास्थ्य केन्द्र ककनी-४ रानीपौवा तोकिएको छ । नेपाल अस्पताल प्रालि विदुर-१ ढुङ्गे सम्बन्धन लिने प्रक्रियामा रहेको कार्यालय जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह