हराउँदै गएका अनुहारको सम्झना-१४

  • फुर्पा तमाङ
  • २० मंसिर २०८१, बिहीबार १४:४०

अर्थाभावबिच खुसी हुने मानिस सायदै हुन्छन् । भार्खु गाउँको टासीग्याल्बो घलेको परिवार आर्थिक रूपमा सम्पन्न भन्न मिल्दैन । उनको थोरै जग्गाजमिन छ । त्यो पनि वर्षौंदेखि बाँझो छ । उनको मात्र होइन गाउँले धेरैको खेतबारी बाँझै छ । धेरैले खनजोत गरेर कमाउन छाडिसकेका छन् । त्यसको कारण हो, खेतीपातीले खानलाउन नपुग्नु र फलेको अन्नबाली जङ्गली जनावरले खाइदिनु ।

परैबाट देखिनासाथ उनी भन्थे, ‘के छ भाइ ? कहिले आयौ ?’ उनको प्रश्न सोधाइ ठट्यौली पारामा मुस्कानसहित हुन्थ्यो । एक किसिमको प्राकृतिकता अनुहार र बोलीमा पाइन्थ्यो । यसरी मिठासपूर्ण कुरा गर्ने घले दाइलाई गाउँ जाँदा नदेखेको दुई वर्ष भएछ । यसपालि गाउँ जाँदा गाउँलेमाझ उनलाई नदेख्दा मन खल्लो भयो ।

हामी भेट हुँदा निकै रमाइलो कुरा झिकेर धित मरुन्जेल हाँस्थ्यौँ । उनी रमाइला किस्सा झिक्थे । हामीलाई उनको मिठो हाँसोसहितको प्रस्तुतिले झन् रमाइलो लाग्थ्यो र हाँस्थ्यौँ । परार साल गाउँको गुम्बामा पूजा थियो । त्यस पूजामा हाम्रो भेट भएको थियो । त्यसपछि उनीसित कहिल्यै भेट भएन । गुम्बाका छेउमा हामी आठ–दशजनाजति पुरुष बस्यौँ । उनले कुराकानी गर्दै पुराना दिनका कथा सुनाए । गाउँमा बसुन्जेल ती किस्सा र उनको अनुहारको झल्झली सम्झना आयो ।

गाउँमा र वल्लोपल्लो गाउँमा हुने विवाह, घेवा, सामूहिक पूजा वा यस्तै खालका अन्य कार्य गर्नुपर्दा उर्दी गर्ने परम्परा छ । भार्खु गाउँको नानिनगङ टोलमा उर्दी गर्ने काम उनले नै गर्दै आएका थिए । उर्दी गर्ने व्यक्ति गाउँको भेलाबाट चुन्ने परम्परा छ । यसलाई हामी गाउँले परम्परागत कानुन (ह्युलठिम) भन्छौँ । यसरी चुनिने व्यक्तिलाई स्थानीय भाषामा कुल्च्याङ लपे म्ही भनिन्छ । राम्रो आवाज, प्रस्ट वक्ता, ठुलो स्वरमा टाढासम्म सुन्न सक्ने गरी कराएर गाउँको सूचना भन्न सक्ने व्यक्तिलाई गाउँले भेलाले छनोट गर्छ । घले दाइको कुल्च्याङ अर्थात् उर्दी गर्ने काम दुई दशकभन्दा बढी भइसकेको थियो । उनी गाउँको नानिनगङ टोलको अग्लो स्थानमा उक्लिएर आफ्नो गाउँ र वल्लोपल्लो छिमेकी गाउँमा हुने सामूहिक कामबारे आएका सूचना उर्दी गरेर सुनाउँथे । कुल्च्याङ गर्ने व्यक्ति प्रत्येक टोलमा एकजनालाई गाउँलेले छनोट गरेको हुन्छ । यो एकप्रकारले समुदायलाई योगदान दिने सामाजिक कार्य हो ।

उनी घाँटीको अर्बुदरोगले बितेछन् । गाउँघरका मानिसको उसै पनि आर्थिक अवस्था कमजोर हुन्छ । उनी पनि यस मामिलामा अछुतो रहने कुरै भएन । आर्थिक अवस्था कमजोर भए पनि उनी मनका धनी थिए । उनको बोलीचाली साह्रै राम्रो र हँसाउने स्वभाव थियो । उमेरले ६० वर्ष कटेको भए पनि उनी कुरा गर्दा ठिटौले पारा निकाल्थे । वास्तवमा उनी हाम्रो म्हेमे घुम्के खलक (थोक्रा वंश)का नजिकका नातेदार पनि थिए । उनका पिता दमै ग्याल्बोले हाम्रा पिताजीकी फुपू नाताको हजुरआमा ङिम्बुरीसँग विवाह गरेका रहेछन् । उनका बाबुआमा दुवैको यसअघि नै मृत्यु भइसकेको तथा जेठा दाजु गबलेम्बा (बोलाइने नाम) र दिदी ज्योमोको पनि २०४८ सालतिरै निधन भएको थियो । उनका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

सानो छँदा हामी कहिलेकाहीँ गोठनजिक हुन्थ्यो। वनजङ्गलमा गाईवस्तु चराउन र हिउँदमा सुकेको दाउरा खोज्न जङ्गल जाँदा सँगै हुने गथ्र्याैँ । अरूले दाउरा खोजी नसक्दै उनले छिटोछिटो टिपेर भारी कसिसकेको हुन्थ्यो । खेतबारीमा छिटो जोतेर गोरू फुकाइसकेको हुन्थ्यो । काम गर्दा छिटोछिटो गर्ने बानी थियो । उनका जेठो दाजु गबलेम्बा र दिदी ज्योमोले विवाह गरेका थिएनन् । उनका कान्छा भाइ लेम्बाजा कान पटक्कै नसुन्ने र बोल्न पनि सक्दैनन् । यी सबैलाई बाबुआमाको शेषपछि उनले नै हेर्दै आएका थिए ।

कामका सिलसिलामा गाउँदेखि टाढा बस्नुपरेको करिब चार वर्षको अवधिमा गाउँमा पुराना अनुहार केही घटिसकेका रहेछन् । त्यसअघि म सदरमुकाम धुन्चेकेन्द्रित रहेर काम गर्ने भएकाले गाउँमा पुगिरहन्थेँ । गाउँमा भएका धार्मिक, सामाजिक, सांस्कृतिक आदि कार्यक्रममा पुगिरहन्थेँ । यसले गर्दा गाउँका मानिसको गतिविधि पनि नजिकले हेर्न पाइन्थ्यो । अहिले इन्टरनेट र फोनको सुविधा त छ, तर डिजिटल माध्यमको सम्पर्क फिजिकल सम्पर्क जस्तोचाहिँ नहुँदो रहेछ । यसले गर्दा गाउँमा हुनु र नहुनुमा धेरै फरक अनुभूति हुने रहेछ ।

हरेक वर्ष गाउँ जान्छु, गाउँमा नयाँ अनुहार थपिँदै गएको र पुराना अनुहार क्रमशः घट्दै गएका छन् । नयाँ अनुहार चिन्नै गाह्रो हुँदै जाने र चिनेका पुराना अनुहार घट्दै जाँदाको परिदृश्यले मनमा छुट्टै खालको अनुभूति विकास हुने रहेछ । गाउँकै भए पनि नयाँ अनुहारलाई चिन्न गाह्रो हुँदै जाने रहेछ । चार वर्षअघि पाँच-छ वर्षका केटाकेटी नौ-दश वर्ष, नौ-दश वर्षका १४-१५ र १५-१६ वर्षका १९-२० वर्षका लाठे भइसकेकाले चिन्न मुस्किल हुँदोरहेछ ।

phurpatamang10@gmail.com