छहरे–टोखा सुरुङ ‘एक मात्र प्राथमिकता’

  • विनय बञ्जारा
  • २० मंसिर २०८१, बिहीबार १५:३८

काठमाडौँ । निकै लामो छलफल र बारम्बारको दस्तावेज आदान–प्रदानपश्चात् पनि नेपाल र चीनबिच ‘बिआरआई कार्यान्वयन कार्ययोजना’मा हस्ताक्षर हुन सकेन । तर, यसपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका दौरान टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने सन्दर्भमा समझदारी जुटेको छ ।

चीनसँग भएको नौबुँदे समझदारीमा यो एक मात्र विकास आयोजना हो । यसबाहेक दुई देशबिच व्यापार अभिवृद्धि गर्ने, वसन्तपुर दरबारको पुनर्निर्माण सम्पन्न गर्ने, भैँसीको मासु चीन निर्यात गर्ने प्रोटोकलमा हस्ताक्षर गर्ने, विकास आयोजनासम्बन्धी समझदारी गर्ने, आर्थिक तथा प्रविधि हस्तान्तरण गर्ने, नगद सहयोग र चिनियाँ भाषाको प्रशिक्षणजस्ता विषय समझदारीमा समावेश छन् ।

यसरी हेर्दा चिनियाँ राष्ट्रपति सी चिनफिङले घोषणा गरेको ५० करोड युआन (करिब नौ अर्ब रुपैयाँ) बाहेक प्रधानमन्त्रीको यो भ्रमणको मुख्य उपलब्धि यही आयोजना हुन सक्छ ।

दुई देशबिच आयोजनामा आधारित सम्झौता गर्ने रणनीतिक कदमस्वरूप यो आयोजना अघि बढाउने विषयमा सझदारी जुटेको हो । नेपालले चीनसँग ऋण होइन, अनुदान लिने प्रस्ताव गरेपछि पहिले नै चीनले अनुदानमा बनाइदिने भनेर अध्ययन अघि बढाएको यो आयोजना निर्माणको चरणमा प्रवेश गर्ने ढोका खुलेको हो ।

यो आयोजना अघि बढाउन १५ महिनाअघि नै तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले विशेष पहल अघि बढाएका थिए । त्यसबेला महतकै पहलमा वन तथा वातावरण मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अघि बढाउन २७ भदौ २०८० मै सहमति दिएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा डा. महतले ल्याएको बजेटमा पनि यो आयोजनाको निर्माण अघि बढाउन भनेर एक अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो । त्यसअघि २६ असोज २०७६ मा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका दौरान पनि यो सुरुङमार्ग निर्माणको प्रस्ताव राखिएको थियो । त्यसै साल माघमा २० जना प्राविधिकको चिनियाँ टोलीले एक महिना लगाएर यस आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो ।

उक्त अधययन प्रतिवेदनअनुसार यो सुरुङमार्गको लम्बाइ ३.३, ३.६ वा ४.२ किलोमिटर हुन सक्ने तीन विकल्प प्रस्ताव गरिएको थियो । यसका निम्ति काठमाडौँतर्फ टोखा नगरपालिका-१ मा दुईवटा विन्दु पहिचान गरिएको थियो । सुरुङको अर्को द्ववारतर्फ नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ र ८ मा गरी तीनवटा विन्दुहरू विकल्पमा राखिएको थियो ।

यो आयोजना निर्माण भएपछि टोखा–छहरेको अहिलेको २६ किलोमिटरको दूरीलाई १४ देखि १६ किलोमिटरमा झार्ने अनुमान छ । करिब ५० अर्ब लागतको अनुमान गरिएको यो आयोजना निर्माणपछि यसले पार्ने प्रभाव भने निकै व्यापक रहने ठानिएको छ ।

तर, यसको वास्तविक लागत अनुमान भने विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि मात्रै तय हुनेछ । कस्तो सुरुङ बन्ने, लम्बाइ र चौडाइ कति हुने, त्यस सुरुङमा पर्ने ढुङ्गा र माटोको अवस्था कस्तो छ, रुख कति काट्नुपर्छ, निजी घर तथा संरचना र जग्गा कति पर्छ भन्ने डिपिआरमा देखिन्छ । त्यसपछि मात्रै आयोजनाको वास्तविक लागत तय हुन्छ ।

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले यो आयोजनाको सुरुङ नागढुङ्गामा जस्तो मान्छेले खन्ने होइन, भेरी–बबई वा सुनकोशी मरिण आयोजनामा जस्तै मेसिनले खन्ने गरी वातावरणीय प्रभाव मूल्याङ्कन गर्न वातावरण मन्त्रालयबाट सहमति लिएका छन् । यसरी मेसिनले खन्दा यो आयोजना करिब ६ महिनामै सुरुङ छिचोल्न सकिन्छ भने त्यसपछिको करिब एक वर्षमा सुरुङबाट सवारीसाधन चलाउन सक्ने गरी तयार पार्न सकिन्छ ।

यो सुरुङ किन महत्वपूर्ण छ ?
सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत काठमाडौँ उपत्यका छिर्ने चार भञ्ज्याङमा चार सुरुङमार्ग निर्माण गर्ने कार्यक्रम अघि सारेको थियो । यसमध्ये पहिलो प्राथमिकता नै टोखा–छहरे हो । त्यसपछि गोदावरी–पनौती, ताथली–पाँचखालजस्ता सुरुङमार्गको प्रस्ताव गरिएका छन् ।

छहरे–टोखाको परिकल्पना गरिँदा काठमाडौँ उपत्यकामा बाहिरी चक्रपथको निर्माण गर्ने र नुवाकोटको विशाल समथर भूभागलाई काठमाडौँको ‘स्याटेलाइट सिटी’को रूपमा विकास गर्ने परिकल्पनामा अघि सारिएको थियो । तर, पछि चीन र नेपालबिच हुने व्यापारको मुख्य नाकाको रूपमा रसुवागढी–केरुङ नाकालाई प्राथमिकता दिन थालियो ।

यसले चिनियाँ बजारसँग नेपाली राजधानीलाई जोड्ने सेतुको रूपमा यो आयोजनाको महत्व चुलिन पुग्यो । त्यसपछि सरकारले मध्यपहाडी लोकमार्गको परिकल्पना अघि बढायो । यसको रुट नुवाकोटको थानसिङ–छहरे हुँदै गयो ।

आजको दिनमा मध्यपहाडी लोकमार्गलाई काठमाडौँसँग जोड्ने मूल सेतुको रूपमा पनि यही आयोजना अघि आएको छ । उक्त राजमार्ग पूर्ण क्षमतामा सञ्चालनमा आइसकेपछि हिमाली र पहाडी क्षेत्रलाई काठमाडौँसँग जोड्ने मुख्य द्ववार नै यही हुनेछ ।
यस आयोजनाले काठमाडौँको सहरी विस्तारलाई पनि मद्दत गर्नेछ । छहरेमा सुरुङमार्गको बाटो जोड्ने हो भने त्यसले थानसिङदेखि चौघडा, पिपलटार, बट्टार हुँदै उत्तरमा गेर्खुटार र दक्षिणमा रातमाटेसम्मका विशाल टारहरूलाई जोडेर सहरीकरणको विस्तार गर्न यो सुरुङले विशेष महत्व खेल्न सक्ने देखिन्छ ।

अहिले काठमाडौँ उपत्यकामा अधिक जनघनत्व भएको भन्दै यसको वैकल्पिक सहरी विकासबारे वर्षौँदेखि चासोका साथ हेरिएको छ । यसको मुख्य विकल्प र गन्तव्य नुवाकोटका समथर भूभाग हुन सक्छन् ।

अझ यो साल दसैँअघि आएको बाढीपहिरोको प्रकोपले त यो सुरुङमार्गको महत्वलाई कैयौँ गुणा बढाइदिएको पूर्वअर्थमन्त्री डा. महत पनि बताउँछन् । ‘यो वर्ष बाढीपहिरोले उपत्यका छिर्ने सबै नाका बन्द भएको अवस्थामा पनि नुवाकोटतर्फको नाका नियमित रह्यो,’ उनले भने, ‘प्राकृतिक प्रकोप र सङ्कटको समयमा राजधानी र बाँकी मुलुकलाई जोड्न यो मार्गको महत्व उजागर भएको छ ।’

यस घटनाले उक्त सुरुङमार्गलाई विकास आयोजनाका रूपमा मात्रै होइन, देशको रणनीतिक चासोका हिसाबले पनि महत्व बढाएको डा. महत बताउँछन् । यी थुप्रै सम्भावनाको ढोका खोल्न पनि आफूले उक्त आयोजना जसरी पनि बनाउनुपर्ने लबिङ गरिरहेको उनले जानकारी दिए ।

‘यो आयोजना बन्नु नुवाकोट र नुवाकोटे जनताको हितमा त छँदै छ, सिङ्गो देश र अन्तर्राष्ट्रिय व्यापारका लागि पनि यो आयोजना ज्यादै महत्वपूर्ण छ,’ डा. महतले थपे । गत असोजको बाढीपहिरोका कारण पूर्व–पश्चिम राजमार्ग र पश्चिम नेपालबाट आएका कैयौँ सवारीसाधनले यो बाटो प्रयोग गरेका थिए ।

तर, अहिलेको छहरे–टोखा सडक निकै उकालो बाटो भएका कराण ठुला गाडीहरू यो बाटोबाट सहज रूपमा आवत–जावत गर्न नसकेको देखिन्थ्यो । काठमाडौँतर्फ झोरबाट गुर्जेभञ्ज्याङ चढ्ने उकालो बाटोले धेरैलाई अप्ठ्यारो पारेको थियो । तर, यो ‘एड्भेञ्चर रूट’मा प्रवेश गर्न नपर्ने गरी सुरुङ छिचोल्ने हो भने देशभरका थुप्रै मानिसलाई उत्तरी नाका हुँदै काठमाडौँ छिर्ने सहजता प्राप्त हुने डा. महतको भनाइ छ ।

मधेशका साथै महेन्द्र राजमार्गलाई काठमाडौँसँग जोड्ने र भारत एवम् तेस्रो मुलुकसँगको व्यापार सहजीकरणमा निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गले काम गर्नेछ । त्यसैगरी, मध्यपहाडी लोकमार्ग र चीनसँगको व्यापारलाई सहजीकरण गर्न यो सुरुङले सहयोग पु¥याउनेछ ।

सडक विभागले पनि उक्त सुरुङ बन्ने हो भने धादिङको गल्छीबाट पृथ्वी राजमार्ग हुँदै थानकोटको बाटो काठमाडौँ छिर्नुभन्दा गल्छी–देवीघाट–छहरे हुँदै काठमाडौँ छिर्नु नजिक पर्ने बताएको छ । विभागका अधिकारीहरू अहिले नागढुङ्गामा बनेको सुरुङमार्गले होइन, छहरे–टोखा सुरुङमार्गले काठमाडौँ र तराईबिचको दूरी घटाउने बताउँछन् । यसले पनि उक्त आयोजनाको महत्व दर्शाउँछ ।