+
Search

ताजा अपडेट +

पपुलर +

सुन्दरताका लागि स्वास्थ्य किन बिगार्ने ?

सुन्दरताका लागि स्वास्थ्य किन बिगार्ने ?
त्रिशूली प्रवाह
८ महिना अगाडी

‘मेरो त घुँडाको हाड नै खिइएजस्तो छ, अब त जीवनभर खोच्याएर हिँड्नुपर्ने भयो ।’ ६० वर्षकी उनले साथीभाइसँग पनि सल्लाह गरिन् । प्रायः सबैले घुँडाको हाड खिइयो, आराम गर, युरिकएसिड भयो, अब प्रोटिन नखाऊ भन्नेजस्ता सल्लाह दिए । यस्ता सल्लाहले मात्र काम दिएन । त्यसपछि उनी हड्डी विशेषज्ञलाई देखाउन गइन् ।

चिकित्सकले जाँच गरेर भने, ‘तपाईको हड्डी खिइएको पनि होइन, युरिकएसिड बढेको पनि होइन । घुँडाको तल र माथिका मांसपेशी कमजोर भएकाले दुखेको हो ।’ उनको घुँडाको एक्सरे देखाउँदै पुनः भने, ‘खोइ तपाईं के खानुहुन्छ ? तपाईंको घुँडा त ४० वर्षको महिलाको जस्तो छ, हाड खिइएको छैन । तपाईंले विशेषज्ञबाट सिकेर घरमा हरेक दिन व्यायाम गर्नुपर्छ । साथै, तौल घटाए झन् राम्रो ।’ आफ्नो घुँडा नखिइएको सुनेर ती महिला दङ्ग परिन् । त्यही दिनदेखि उनले फिजियोथेरापी केन्द्रमा गएर केही व्यायाम सिकिन् । घरमा आएर पनि प्रत्येक दिन व्यायाम गरिन् । पहिलो दिन केही गाह्रो भयो । घुँडा बढी दुखे चिसो पानीले सेक्नु भन्ने उनले सल्लाह पाएकी थिइन् । त्यहीअनुसार घुँडा बढी दुख्दा बरफको टुक्रालाई कपडामा राखेर सेकिन् । ५–६ दिनपछि उनलाई घुँडाको दुखाइमा केही कमी आयो । घुँडा दुखेर चल्न पनि गाह्रो पर्ने उनलाई भर्याङ माथि–तल गर्दा पनि सहज लाग्न थाल्यो । तर, पूर्ण रूपमा ठिक हुन त झन्डै तीन हप्ता लाग्यो । उनले आफ्नो भोजनमा आलस, तिल, मुग्रेलो, मेथी, फर्सीको दाना पनि दिनदिनै खान्थिन् । दुई हप्तापछि उनको दुखाइमा ७० प्रतिशत कमी आयो । उनी पुनः फिजियोथेरापी केन्द्रमा गएर खुट्टाको केही नयाँ व्यायाम पनि सिकिन् । उनले हिलवाला जुत्ता चटक्कै छोडिन् । तौल पनि दुई किलो जति घटाइन् । अहिले उनले व्यायामलाई दैनिक जीवनको अङ्ग नै बनाइएकी छिन् । यस्ता धेरै महिला र पुरुष छन् जो हाडजोर्नीको दुःखाइले हैरान हुन्छन् । तर, के गरेर दुःखाइ कम गर्ने भन्ने थाहा हुँदैन । चिकित्सकको परामर्श लिएर उपचार गर्नु त पर्छ नै, उमेरसँगै हुने हड्डीको क्षय र घुँडा दुख्ने समस्यालाई पूर्ण रूपले निराकरण गर्न नसकिए पनि स्वस्थ जीवनशैली, व्यायाम, सजिलो जुत्ता आदिले दुःखाइ कम गर्न सकिन्छ । हरेकपटक घुँडा दुख्नेबित्तिकै घुँडाको हड्डी नै खिइएको भन्ने सधैँ सत्य हुँदो रहेनछ । घुँडाको मांसपेशीको कमजोरीको कारणले घुँडा दुख्न सक्छ । शारीरिक तौल ठिक्क भएको मानिसको तुलनामा मोटो मानिसको घुँडा दुख्ने समस्या चार गुणा बढी हुन्छ । त्यसैले तौललाई बढ्न नदिन युवा पनि जागरुक हुनुपर्छ ।

पाँच फिट उचाइ र ८० किलो तौल भएकी मीनालाई घुँडा दुख्ने समस्या भएको थियो । स्वास्थ्यकर्मीले उनलाई स्वस्थकर खाना खाएर र व्यायाम गरेर शरीरको तौल घटाउन सल्लाह दिए । मीनाले १२ महिनामा २५ किलो तौल घटाइन् । उनले खानामा भात र रोटी कम गरिन् । दाल र तरकारी बढी खाइन् । अहिले उनको घुँडा दुखाइ हराएको छ । मीना अहिले पनि याद गर्छिन्, ‘१० वर्षअघि मेरो घुँडा नदुखेको भए मैले तौल घटाउन प्रयत्न गर्दैनथेँ । अनि अहिलेसम्म मलाई कति किसिमका रोग लागिसक्थे होलान् ।’ व्यायामले घुँडा र जोर्नीको दुःखाइ कम गर्न मद्दत गर्छन् । तर, यो जानकार व्यक्तिसँग सिकेर मात्र गर्नुपर्छ । कतिपय आयुर्वेदिक एवम् प्राकृतिक चिकित्सकले पनि यो विषयमा सल्लाह दिने गर्छन् । साथै, जीवनशैली परिवर्तनसम्बन्धी सुझाव पनि उपयोगी हुन्छन् । घुँडाको दुःखाइले सुत्न नै गाह्रो हुन्छ भने केवल व्यायामले मात्र पुग्दैन, विज्ञको सल्लाह लिनैपर्छ । घुडाँको दुःखाइ कम गर्न स्वस्थ जीवनशैलीमध्ये हाई हिल भएको जुत्ता नलगाउनु पनि एक हो । यदि कतै जाँदा कामविशेषले ठुलो हिलको जुत्ता लगाउनुपर्ने भएमा काम सकिनेबित्तिकै त्यो जुत्ता फुकालिहाल्नु उचित हुन्छ । महिलाले दिनभरि हाई हिल भएको जुत्ता लगाउँदा उनको पुठ्ठा, कम्मर र घुँडा तीनवटै दुख्न सक्छ । त्यसैले महिलाले विचार गर्नुपर्छ । सुन्दरताको लागि स्वास्थ्य किन बिगार्ने ?

(साभार : डा. उप्रेतीको फेसबुक पेजबाट)

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह