Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

‘गँगटे–गोल्फुभञ्ज्याङ सडक’ कालोपत्र सुरु

‘गँगटे–गोल्फुभञ्ज्याङ सडक’ कालोपत्र सुरु
त्रिशूली प्रवाह
१ साल अगाडी

त्रिशूली । नुवाकोट जिल्ला, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका चार गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने ‘गँगटे–लब्धु–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक कालोपत्रस्तरको स्तरोन्नति’ सुरु भएको छ । दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आयोजित सडक कालोपत्रस्तरको स्तरोन्नति कार्यको नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शुभारम्भ गर्दै तोकिएको अवधिभित्र गुणस्तरीय कामसहित सम्पन्न गर्न ध्यानाकर्षण गराए ।

गत आर्थिक वर्षमा आफू अर्थमन्त्री रहँदा रु. एक अर्ब २० करोडको स्रोत सुनिश्चित गरेर ठेक्का लगाएको उक्त योजना सरकार परिवर्तनपश्चात् कटौती हुँदा दबाब र खबरदारीमार्फत बजेट पुनर्बहाली गराउन सफल भएको स्मरण गराउँदै उनले अब कार्यान्वयनका पक्षमा कुनै कमजोरी हुन नदिन सचेत गराए । ‘जनताको माग र देशको विकासका लागि तर्जुमा भएका योजना कार्यान्वयनसम्म ल्याउन निकै सङ्घर्ष गरेका छौँ,’ उनले भन्नुभयो, ‘कार्यान्वयनमा सडक डिभिजन र निर्माण व्यवसायीले सोहीअनुसार जिम्मेवारी पूरा गर्नुपर्छ र लाभग्राही जनताले बाधा, अवरोध नगरी सचेत भएर सहयोग पुर्याउनुपर्छ ।’ आव २०८०/०८१ मा विनियोजित बजेटको उक्त योजनामा बहुवर्षीय ठेक्का लगाएर गत फागुनमा नै काम सुरु हुनुपर्ने भए पनि काङ्ग्रेस सरकारबाट बाहिरिएपश्चात् योजना खारेजीको प्रक्रियामा पुगेको थियो । तर, निरन्तरको खबरदारी र दबाबले पुनर्वहाली भएको उक्त योजनाको कार्यान्वयनले त्यहाँका जनतामा आउने जीवनस्तरको परिवर्तनले ठुलो महत्व राख्ने पूर्वमन्त्री डा. महतको भनाइ थियो ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने लिखु गाउँपालिकाको ढिकुरे बजारबाट सुरु हुने उक्त योजना सूर्यगढी, तादी हुँदै दुप्चेश्वर गाउँपालिकाको गोल्फुभञ्ज्याङसम्म ४३ किलोमिटर दूरीको छ । सडक निर्माणले जिल्लाको दुर्गम तथा पिछडिएका क्षेत्रको आर्थिक, सामाजिक एवम् शैक्षिक क्षेत्रको विकासमा चामत्कारिक परिवर्तन ल्याउन सकिने नेकपा (एमाले) नुवाकोट अध्यक्ष बद्रीप्रसाद मैनालीले बताए । योजनाअन्तर्गत ढिकुरे–समुन्द्रटार २२ किलोमिटरमा हाल कायम रहेको कालोपत्रसहितको सडकको स्तरोन्नति गर्न र समुन्द्रटार–गोल्फुभन्ज्याङ २३ किलोमिटरको धुले सडकलाई स्तरोन्नतिसहित कालोपत्र गर्ने काम एकैसाथ दुई प्याकेजमा अघि बढाउन अध्यक्ष मैनालीले सुझाव दिए । सहायक राजमार्गअन्तर्गत तीन दशकअघि विस्तार भएको उक्त सडकको निर्माणले जिल्लाको विकट क्षेत्रसहित गोल्फुभञ्ज्याङबाट सिन्धुपाल्चोक हुँदै काठमाडौँ जोडिने हुँदा अहिले दुर्गममा रहेका भूगोललाई सीधै राजधानीसँग जोडेर विकासका विभिन्न आयाममा परिवर्तन ल्याउन सकिने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ ।

महालक्ष्मी–अमृत–जलुकेनी–जेभीले तीन वर्षभित्र पूरा गर्न रु. ६८ करोड ५६ लाखमा सडक निर्माणको जिम्मेवारी पाएको छ । सडक स्तरोन्नति, चौडा विस्तार, ढलनाली तयार गरेर अस्फाल्ट प्रविधियुक्त कालोपत्र गर्न तोकिएका अवधिमा कुनै समस्या नभएको निर्माण व्यवसायी सुशील फुयाँलले प्रतिबद्धता जनाए । निर्माण व्यवसायीलाई तोकिएको अवधिभित्र काम पूरा गर्न निर्माण सामग्रीको सहज आपूर्ति र कार्य क्षेत्रमा सुरक्षा बन्दोबस्ती मिलाउन लाभान्वित हुने चारै पालिकाका अध्यक्षले प्रतिबद्धता जनाएका छन् । कार्य सम्पन्नका लागि चालू आवमा रु. १० करोड मात्र बजेट प्राप्त भएको सडक डिभिजन नुवाकोटका प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए । तीन वर्षभित्र सडक कालेपत्र सम्पन्न गर्न चालू आवमा रु. ४० करोडको काम हुनुपर्ने हुँदा अपुग रकमको प्रबन्ध गर्न पूर्वमन्त्री डा. महतले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह