विदुर । नेपाल र चीनबिच स्थलमार्गबाट व्यापार भइरहेको मुख्य नाका हो रसुवागढी । यो नाका काठमाडौँबाट नुवाकोट हुँदै पुग्नुपर्छ । उक्त नाकाबाट हुने व्यापारको मुख्य केन्द्र काठमाडौँ नै हो । राजधानी काठमाडौँलक्षित व्यापार हुने उक्त नाकाबाट काठमाडौँसम्म नै पुग्ने सडकमार्ग तहसनहस छ । न नेपालले बनाउन सकेको छ, न त चीनले नै आफूले गरेको प्रतिबद्धताअनुसार काम सुरुवात नै गरेको छ ।
अझ नुवाकोट जिल्लालक्षित कतिपय योजना त चीनले सुरु नै गर्न चाहिरहेको छैन । सहयोग गर्छु भनेर हस्ताक्षर गर्ने, अनि काम नै अगाडि नबढाउने चिनियाँ नीतिका कारण चीनले सहयोग गर्छ र विकास हुन्छ भन्ने पक्षमा नुवाकोट र रसुवाका बासिन्दा आश्वस्त हुन सकेका छैनन् । सिमाना नै जोडिएको रसुवा पनि चीनको उपेक्षामै छ । अहिले पनि चिनियाँ ठुलो गाडी चालकले भन्दा बाहेक अरूले तिब्बत प्रवेशको अनुमति नै पाएका छैनन्, नुवाकोटको त कुरै छाडौँ । अन्य जिल्लाका नागरिकको जस्तो व्यवहार चीनले नुवाकोटलाई गरेको छ । तिब्बतको जिलोङदेखि काठमाडौँसम्मकै सडक अति जीर्ण छ । अझ स्याफ्रुबेँसी–रसुवागढीसम्मको सडक स्तरोन्नतिको जिम्मा त पाँच वर्ष अगाडिदेखि चीनले लिए पनि अझै काम सुरू गरेको छैन । यद्यपि, चिनियाँ टोली भने पछिल्लो एक महिनादेखि सो क्षेत्रमा आइपुगेको छ । चाँडै सो सडक स्तरोन्नतिको काम हुने अपेक्षा गरिएको छ । अपेक्षा गरिए पनि चीनले रसुवागढी पुग्ने उक्त सडक मात्र होइन, झन्डै एक दशक अगाडि भूकम्पले क्षतिग्रस्त बनाएको नुवाकोटको साततले दरबारको पुनर्निर्माणको काम पनि भनेका बेलामा सुरु गरेन । अहिले पनि उसले गरौं कि नगरौँ जसरी नाम मात्रकै काम गरिरहेको छ ।
चीनले उक्त महत्वपूर्ण रसुवागढी नाका तथा आसपासका क्षेत्रको विकासमा चासो दिने, तर काम नगर्ने प्रवृत्ति बढाएका कारण नुवाकोट र रसुवाका बासिन्दा चीनको आश्वास्तनप्रति हर्षित छैनन् । बेलाबेलामा फेरिने नेपालको सरकारले चीनलाई महत्व दिए पनि नेपाली जनस्तरबाट भने उसले खासै सहयोग पाउन सकेको छैन । त्यसका कारण नेपालीभन्दा पनि चिनियाँको चरम लापरबाही नै हो । चीनले आफ्नो भूमिसँग सिमाना जोडिएको रसुवा र काठमाडौँ प्रवेश गर्ने अर्को महत्वपूर्ण जिल्ला नुवाकोटलाई विगतमा गरेका प्रतिबद्धताअनुसार विकासका काममा सहयोग गरेको भए जनस्तरबाट चीनको ठुलै प्रशंसा हुने थियो, तर उसले रसुवा र नुवाकोटका बासिन्दाको खासै सहयोग पाउन सकेको छैन । अन्य जिल्लाको अवस्था पनि यस्तै छ । अर्थात् जहाँ–जहाँका जुन–जुन योजनामा चीनले हात हालेको छ, त्यहाँको जनजीवन चिनियाँले अस्तव्यस्त पारिदिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो साता भएको चीन भ्रमणका बेला नेपाल र चीनबिच ‘बेल्ट एन्ड रोड’ इनिसिएटिभ (बिआरआई) सहकार्यको ढाँचासहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भयो । बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष ल सुसेले हस्ताक्षरसमेत गरेका छन् ।
नेपालले बिआरआई कोअपरेसन फ्रेमवर्कमा १२ परियोजना समावेश गर्न प्रस्ताव गरेकोमा १० वटामा सहमति जुटेको हो । तिनमा टोखा–छहरे सुरुङमार्ग र जिलोङ–केरुङ–काठमाडौँ सीमापार रेलमार्गले भने नुवाकोटको विकासमा महत्वपूर्ण योगदान दिन सक्छ । तर, ती परियोजना अहिले पनि चीनले हस्ताक्षर गरेको मात्रै हो, सुरु गरिहाल्छ भन्ने छैन । त्यस्तै, नेपाल र चीनबिच हिल्सा–सिमीकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, डडेलधुरास्थित अमरगढी सिटीहल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारणलाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौँ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्टस् एन्ड एथलेक्टिस कम्प्लेक्समा सहयोग गर्ने प्रतिबद्धता चीनले गरेको छ । ती परियोजनामा हुने लगानी ऋण वा अनुदान के हुने निर्णय भएको छैन । तर, चीनले हस्ताक्षर गर्ने योजना केवल औपचारिकता पूरा गर्नका लागि जस्तो देखिएको छ ।
चीनले टोखा–छहरे सुरुङमार्गमा सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि एक दशक हुन लागिसकेको छ । तर, उसले धेरैको प्रतीक्षाको उक्त सुरुङमार्गलाई बेवास्ता गर्दै आएको छ । यद्यपि, सम्झौतामा हस्ताक्षर गर्न भने पछि पर्ने गरेको छैन । टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि चीनले सहयोग गर्ने र स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग सुधारलाई तीव्रता दिई निर्माण चाँडो सक्नेमा दुवै पक्ष सहमत भएका छन् । यस्तो सहमति चीनले पहिला पनि गरेको थियो । तर, सहमतिअनुसार उसले काम नै गरेको छैन । जिलोङ-केरुङ–काठमाडौँ सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनलाई क्रमशः अघि बढाइने र चीन–नेपाल रेल्वे सहकार्यसम्बन्धी कार्यकारी समितिको बैठक आयोजना गरिने सहमति पनि भएको छ । यदि चीनले यो परियोजना सुरु नै गरिदिएको भए नेपालीले चीनका हरेक आयोजनामा सहयोग गर्ने थिए, तर अहिले उसले गर्ने भनेका विभिन्न आयोजनामा नेपालीको रुचि जान सकेको छैन । यसको मुख्य कारण चिनियाँको ढिला काम गरेर नेपालीको जनजीवन अस्तव्यस्त पार्ने प्रवृत्ति नै हो ।







प्रतिक्रिया