विदुर । दुप्चेश्वर गाउँपालिकामा निर्मित बुद्धभूमि जलविद्युत् आयोजनाको काम सम्पन्न भएर केन्द्रीय प्रसारण प्रणालीमा विद्युत् जोडिएको चार वर्ष भए पनि आयोजना निर्माणका लागि खडा गरिएको क्रसर भने हालसम्म पनि सञ्चालनमा छ । सो क्रसर आयोजनाका लागि निर्माण सामग्री उपलब्ध गराउन नभई धन, बल र शक्तिका तागतमा प्रशासनलाई हातमा लिनेले सञ्चालन गरिरहेको आरोप छ । अवैध रूपमा सञ्चालित उक्त क्रसर सरकारी जग्गामा राखिएको छ ।
नुवाकोट जिल्लास्थित आयोजनाले विद्युत् उत्पादन हुनु एक वर्षअघि नै भौतिक संरचनाको निर्माण पूरा गरे पनि सोही समयदेखि अहिलेसम्म पाँच वर्षसम्म सो क्रसर अवैध रूपमा सञ्चालन भइरहेको छ । यससम्बन्धी जानकारी दुप्चेश्वर गाउँपालिका, नुवाकोट प्रशासन र प्रहरीलाई थाहा नै भए पनि आर्थिकलगायत प्रलोभनका कारण नियन्त्रणमा ध्यान नदिँदा अवैध रूपमा सञ्चालन भइरहेको छ । दुप्चेश्वर-५ का वडाध्यक्षको नाम नै अवैध क्रसर सञ्चालनमा जोडिने गरेको स्थानीयवासीको भनाइ छ । गाउँपालिकाले यसमा कुनै स्वार्थमा परेर चासो नदिएको आरोप छ । क्रसर सञ्चालन भइरहेको जानकारी, यसले पु¥याउँदै आएको असर, राजस्व छली, अवैध दोहनका सम्बन्धमा समुन्द्रटार चौकी र इलाका प्रहरी कार्यालय खरानीटारमा विभिन्न रूपमा उजुरी परे पनि रोक्नका लागि पहल भएको पाइँदैन । स्थानीयवासी भन्छन्, ‘क्रसर चलाउन, सुरक्षा दिन र जिल्लाका प्रहरी आउँदा बन्द गराउन खरानीटार र समुन्द्रटारका प्रहरी नै खटिन्छन् ।’ आयोजनाले भने आफूहरूको निर्माणको अवधि पूरा भएदेखि नै उक्त क्रसर आवश्यक नभएको जनाएको छ ।







प्रतिक्रिया