हेटौँडा । नेपाल पत्रकार महासङ्घ वागमती प्रदेश समितिको शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा मकवानपुरका पत्रकार कृष्ण सारु मगर निर्वाचित भएका छन् ।
महासङ्घको सम्पन्न निर्वाचनबाट प्रेस सेन्टर नेपालसहितको गठबन्धनका उम्मेदवार बनेका मगर नुवाकोटका शिव देवकोटालाई पराजित गर्दै आगामी तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । प्रेस सेन्टर नेकपा (माओवादी केन्द्र)निकट पत्रकारहरूको सङ्गठन हो । नेकपा एमालेनिकट प्रेस चौतारी नेपाल र नेपाली काङ्ग्रेसनिकट प्रेस युनियनको गठबन्धनका उम्मेदवार देवकोटा यसअघिका महासङ्घ प्रदेशका अध्यक्ष थिए भने मगर यसअघिका दुई कार्यकालका महासचिव थिए । अध्यक्षमा निर्वाचित मगरले चार सय ७२ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी देवकोटाले तीन सय ७३ मत पाए । अध्यक्षबाहेकका पदमा नेपाल प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनबाट खुला उपाध्यक्षमा हरिप्रसाद हुमागाईं पाँच सय १४, महिला उपाध्यक्षमा विमला पाण्डे चार सय ८६, महासचिवमा राधेश्याम खतिवडा चार सय ५१, समावेशी सचिवमा काजी श्रेष्ठ चार सय ६५ र कोषाध्यक्षमा शंकर अधिकारी चार सय ६५ मतसहित निर्वाचित भएको पत्रकार महासङ्घ बागमती प्रदेश निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यसैगरी, प्रदेश कार्यसमितिको सदस्यमा समीक्षा पाण्डे, सुनिता रखालमगर, सुनिता सापकोटा, यात्री छिदाल परियार, सुवर्णलाल श्रेष्ठ, ज्ञानेन्द्र तामाङ, राजन थामी, उज्ज्वल अधिकारी, प्रज्ज्वल पौडेल, बरुण लामिछाने, सन्तोष अधिकारी र सुनील विष्ट निर्वाचित भएका छन् ।







प्रतिक्रिया