समुन्द्रटार । धान्यपूर्णिमा पर्वका अवसरमा नुवाकोट जिल्लाको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लागेको मेला आइतबार सम्पन्न भएको छ । दुप्चेश्वर गाउँपालिका-६ मा रहेको दुप्चेश्वर महादेव मन्दिरमा ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वासमा दर्शनार्थी आउने गरेका छन् । मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म चल्ने मेला यस वर्ष शनिबारदेखि भक्तजनको बाक्लो आवागमनका साथ सुरु भएको थियो । यसपटक ५० हजारभन्दा बढी भक्तजनले पूजा-आराधना गरेको अनुमान स्थानीयले गरेका छन् ।
दुप्चेश्वर क्षेत्र विकास कोषका संरक्षक तथा गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाका अनुसार यस वर्ष एकादशीका दिनदेखि सुरु भएको जात्राअन्तर्गत मुख्य दिन शनिबार र आइतबार दुई दिनमा २० हजारभन्दा बढी दर्शनार्थी आएका थिए । तिथिको गडबडले यस वर्ष शनिबार र आइतबार दुई दिन पूर्णिमा परेकाले दर्शनार्थी उत्साहजनक रूपमा आएको मन्दिरका पुजारी भगवानहरि धितालले बताए । पौराणिक कथनअनुसार धेरै वर्ष पहिला स्थानीय वासु तामाङको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरामा पुगेर शिलामा दुध चढाइरहेको भेटिएकोमा अहिले पनि पूजा–आराधना एवम् आस्था प्रकट गरिन्छ । गाईले दुध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यस ऐतिहासिक तथा प्रसिद्ध मन्दिरलाई दुप्चेश्वर भन्ने गरिन्छ । यस पवित्र स्थलमा समुद्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छटपटिएका शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै आएर वास बसी रसुवाको नीलखेत गएको किंवदन्ती छ । पुजारी धितालका अनुसार विशेषगरी सन्तानमा पनि पुत्रलाभ गराउने विश्वासका साथ भक्तजन मन्दिरको दर्शनका लागि आउने गरेका छन् । मन्दिर दर्शन गरेमा बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई जीवनसाथी प्राप्तिलगायत कामना पूरा गर्न दैनिक सयौँ भक्तजन दुप्चेश्वर पुग्ने गरेका छन् । धान्यपूर्णिमा मेलाका अवसरमा भने दैनिक हजारौँ मानिस त्यहाँ जाने गर्छन् ।
गाईले दुध चढाएको हुँदा दुग्धेश्वर हुँदै हाल यस मन्दिरलाई दुप्चेश्वर भन्ने गरिन्छ । मन्दिरका पुजारी धितालको अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवान्को रूपमा पुजिने दुप्चेश्वरले विशेष गरी पुत्रलाभ गराउने विश्वास गरिन्छ । मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधन प्राप्त हुनेलगायतका विश्वासमा मन्दिर दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजन आउने गरेका छन् । मेलामा सहभागी दर्शनार्थीलाई दर्शन एवम् पूजा-आराधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, बन्दोबस्ती, खाजा-नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षक तथा दुप्चेश्वर गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।
कसरी पुग्ने
हिन्दु र बौद्धमार्गीको साझा आस्थास्थल मन्दिरसम्म पुग्न यातायात सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ । मेलाको अलवा सोमबार, बिहीबार र शनिबार पनि दर्शनार्थीको भिड हुने यो मन्दिर काठमाडौँदेखि करिब ६२ किलोमिटर दूरीको यात्रामा पुग्न सकिन्छ । काठमाडौँको टोखा-नुवाकोटको छहरे सडकखण्डअन्तर्गत टोखा-छहरे-चौघडा-खरानीटार-समुन्द्रटार हुँदै मन्दिरसम्म पुग्न सकिन्छ । काठमाडौँबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गँगटे-ढिकुरे-माछापोखरी-खरानीटार-समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किलोमिटर यात्रा तय गर्नुपर्छ । नुवाकोटको सदरमुकाम विदुरबाट ४० किलोमिटर उत्तर-पूर्वमा रहेको मन्दिरनजिकै पर्ने रामतीसम्म व्यवस्थित सडक भएकाले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन सहज रूपमा लैजान सकिन्छ । रामतीबाट १५ मिनेटको पैदलयात्रामा मन्दिर छ । जात्रामा सहभागी भक्तजनका लागि थर्पु, अस्थायी आवास, जात्रामा सहभागी हुने झाँक्री, लामा, ढ्याङ्ग्रेका लागि थप सुविधासमेतको व्यवस्था मिलाइएको छ । मेलामा धुपीसहित बाँस र निगालाबाट बुनेका डोका, थुन्से, भकारीको कारोबार पनि हुन्छ । तर, लाङटाङ राष्ट्रिय निकुञ्जको उत्पादन उपभोगमा गरिएको कडाइले हस्तकलाबाट उत्पादित सामग्रीमा भने गिरावट हुँदै गएकाले यसको पहिचान हराउँदै गएको छ ।







प्रतिक्रिया