धनको खोजी मानव जीवनको एक अभिन्न हिस्सा हो । समाजले धनलाई जीवनका हरेक समस्याको समाधानका रूपमा प्रस्तुत गर्छ । ओशो पनि धनको महत्वलाई नकार्दैनन् । उनका अनुसार ‘धनले तिमीलाई बाहिरी संसारमा स्वतन्त्रता दिन्छ । तिमीलाई आफूले चाहेका कुरा प्राप्त गर्न र आफ्नो जीवनलाई सहज बनाउने शक्ति दिन्छ ।’ उनी थप स्पष्ट पार्छन्, ‘धनको प्रयोग गर्ने तरिका नै जीवनको गुणस्तर निर्धारण गर्ने मुख्य कुरा हो । धनलाई मात्र केन्द्रविन्दु बनाउने हो भने मानिस आफ्नो जीवनको वास्तविक अर्थ र खुसी गुमाउन सक्छ । तिमीले यदि धनलाई साधनभन्दा बढी मान्यौ भने त्यसले तिमीलाई आफ्नो गुलाम बनाउँछ ।’
खुसी : आन्तरिक स्वभाव
ओशोका विचारमा खुसी कुनै बाहिरी वस्तुबाट प्राप्त हुने कुरा होइन । उनी भन्छन्, ‘तिमी खुसी खोज्दै कतै जानुपर्दैन । खुसी त तिम्रो भित्री प्रकृतिमा छ । यो जागृत गर्न मात्र तिमीलाई सचेत हुन आवश्यक छ ।’ आधुनिक मानिसले खुसीलाई बाहिरी उपलब्धिमा खोज्न खोज्छ । मानिसहरू यो घर, गाडी, सम्बन्ध वा सामाजिक मान्यतामा आधारित हुने ठान्छन् । तर ओशो भन्छन्, ‘यी सबै बाहिरी साधन हुन् । तिमीलाई साँचो खुसी चाहिएको छ भने तिमीले आफ्नो भित्री चेतनाको जागरण गर्नुपर्छ ।’
धन र खुसीको द्वन्द्व : समाजको भ्रम
समाजले मानिसलाई बारम्बार यो विश्वास दिलाएको छ कि बढी धन भनेको बढी खुसी हो । ओशोका विचारमा भने यो एक भ्रम हो । ‘तिमीले करोडौँको सम्पत्ति कमायौ भने पनि यदि तिम्रो मन शान्त छैन भने, त्यो सम्पत्तिको कुनै अर्थ छैन ।’ ओशोले धन र खुसीलाई द्वन्द्वका रूपमा होइन, दुई फरक पक्षका रूपमा हेरिरहेका छन् । धनले मानिसलाई भौतिक सुविधा दिन सक्छ, तर आत्मिक आनन्द र शान्तिका लागि मानिसलाई भित्री यात्रा गर्नु आवश्यक छ ।
गरिब भएर खुसी पाइन्न
ओशोका विचारले धन र खुसीलाई एक-अर्काप्रति पूरक ठान्छ । उनले बारम्बार भनेका छन्, ‘तिमी गरिब भएर खुसी हुन सक्दैनौ । गरिब मानिसको जीवन भोक, तिर्खा र आधारभूत आवश्यकता पूर्ति गर्नमै खर्च हुन्छ ।’ धनले मानिसलाई आफ्नो भौतिक आवश्यकता पूरा गर्न स्वतन्त्रता दिन्छ । उनी यो पनि स्पष्ट गर्छन्, ‘धन मात्रले जीवनको सम्पूर्णता दिन सक्दैन ।’ उनका अनुसार खुसीको खोजी आन्तरिक यात्रा हो । धन बाहिरी साधन हो भने खुसी आत्माको गुण । धन र खुसीबिच सन्तुलन कायम राख्न उनी जीवनलाई दुई पाटाबाट हेर्न सुझाव दिन्छन् – बाहिरी संसारलाई सुविधा दिने धनको आवश्यकता तथा भित्री संसारलाई शान्त र आनन्दित बनाउने ध्यान र आत्मबोधको आवश्यकता ।
ध्यान र आत्मबोध : खुसीको स्रोत
ओशोका शिक्षा ध्यान, योग र आत्मबोधमा केन्द्रित छन् । उनका अनुसार मानिसले आफ्नो भित्री अस्तित्वलाई चिन्न सके मात्र जीवनको साँचो अर्थ बुझ्न सक्छ । ध्यान र आत्मबोधले मानिसलाई आफ्नो मनका भ्रामक विचारबाट मुक्त गराउँछ । ‘जब तिमी आफ्नो भित्री चेतनालाई जागृत गर्छौ, तब तिमीलाई थाहा हुन्छ कि तिमीभित्र नै एउटा गहिरो आनन्दको स्रोत छ । यो आनन्द कुनै धन वा बाहिरी साधनले दिन सक्दैन,’ रजनीश भन्छन् ।
आधुनिक समाज र धनप्रतिको मोह
आधुनिक समाज धनप्रति यति मोहग्रस्त छ कि मानिस आफ्नो सम्पूर्ण समय र ऊर्जा यसलाई प्राप्त गर्न खर्च गर्छन् तथा जीवनको अन्य आयाम जस्तै परिवार, स्वास्थ्य, सम्बन्ध र आन्तरिक शान्तिको उपेक्षा गरिरहेका छन् । ओशोले यसलाई ‘अन्धाधुन्ध दौड’ भनेर परिभाषित गरेका छन् । उनका अनुसार मानिस धन कमाउने दौडमा यति मग्न छन् कि उनीहरूले जीवनको वास्तविक आनन्द बिर्सिसकेका छन् । ‘धेरै पैसा भए पनि, तिमी तनाव, चिन्ता र बेचैनीमै बाँचिरहेका छौ भने त्यो के काम ?’ उनी प्रश्न गर्छन् ।
साँचो खुसीको सूत्र : वर्तमानमा बाँच
ओशोका विचारमा साँचो खुसी अहिलेको क्षणमा बाँचे मात्र प्राप्त हुन्छ । उनी भन्छन्, ‘भविष्यको सपनामा रमाउनु भनेको आफ्नो वर्तमान गुमाउनु हो ।’ धन भविष्यका लागि सञ्चित गर्ने साधन हो, तर खुसी भने वर्तमानमै अनुभूत गर्न सकिन्छ । उनी ध्यानाभ्यासलाई खुसी प्राप्त गर्ने प्रमुख उपायका रूपमा प्रस्तुत गर्छन् । ध्यानले मानिसलाई वर्तमान क्षणमा बाँधेर राख्छ र भित्री आनन्दको स्रोतलाई उजागर गर्छ ।
धन, खुसी र जीवनको सन्तुलन
धनी बन्ने कि खुसी बन्ने भन्ने प्रश्नको उत्तर ओशोका विचारमा सन्तुलनको खोजी हो । उनी भन्छन्, ‘धनले तिमीलाई बाहिरी स्वतन्त्रता दिन्छ, तर खुसीले भित्री स्वतन्त्रता दिन्छ । दुवैको समायोजन जीवनको पूर्णता हो ।’ ओशोका विचारले हामीलाई धनको खोजी गर्दा आफ्नो भित्री शान्ति र आनन्दलाई बिर्सिन नदिन चेतावनी दिन्छ । जीवनको वास्तविक लक्ष्य भनेको धन र खुसी दुवैको सन्तुलनमार्फत पूर्णता प्राप्त गर्नु हो । धनलाई साधन बनाउँदै आत्मिक जागरणमार्फत जीवनलाई खुसीमय बनाउने प्रयास नै साँचो उत्तर हो ।
(लेखक पर्यटन व्यवसायी हुन् ।)
विदुर-४ गन्तव्य टोल, बट्टार, नुवाकोट
हाल : टोखा-९ गोंगबु, काठमाडौँ
प्रतिक्रिया