Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

म्यागङसहित सात पालिकाको सेवा नयाँ भवनबाट

म्यागङसहित सात पालिकाको सेवा नयाँ भवनबाट
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकासहित सातवटा पालिकाले सुविधासम्पन्न प्रमुख प्रशासकीय भवनबाट सेवा दिइरहेका छन् । पुस ३ गते बुधबारदेखि म्यागङले नयाँ भवनबाट सेवा सुरु गरेको छ । रु.सात करोड ३६ लाख लगानीमा निर्माण भएको उक्त सुविधासम्पन्न प्रमुख प्रशासकीय भवन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) बाट अनुगमनपछि गाउँपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।

राज्य पुनर्संरचनापश्चात् विभिन्न पाँचवटा वडा मिलेर बनेको म्यागङ गाउँपालिकाले साबिकको देउराली गाविसको भवनबाट सेवा दिँदै आएकोमा म्यागङ गाउँपालिका-३ स्थित मानेब्ले (माने पाखा)मा सुविधासम्पन्न बहुविपत् प्रतिरोधी नयाँ भवन सञ्चालनमा ल्याइएको हो । नवनिर्मित भवनमार्फत पालिकाले दिने सेवा प्रवाहमा थप गुणस्तर, शिक्षा र स्वास्थ्यमा अझै सुधार गर्दै स्थानीयवासीको आर्थिक जीवनमा सुधार गर्न सुधार हुने मुख्यमन्त्री तामाङले विश्वास गरे । पालिकाको भवन निर्माण भएको स्थानसम्म पुग्ने सडकको बागमती प्रदेश सरकारमार्फत कालोपत्र गर्ने उनले प्रतिबद्धता जनाए । ‘गाउँगाउँमा सिंहदरबार : घरघरमा सरकार’ भन्ने नारा सार्थक बनाउन पालिकाले आफ्नो भूगोलको आर्थिक गतिविधि चलायमान बनाउन लाग्नुपर्छ,’ मुख्यमन्त्री तामाङले भने, ‘म्यागङको ब्रान्ड (पहिचान) बनेको सुन्तला, किवी र चियाखेती तथा ट्राउट माछापालनलाई विस्तारसहित व्यावसायिक बनाउन लक्ष्य निर्धारण गर्नुपर्छ ।’ उक्त अवसरमा बागमती प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले जनताको मागअनुसार तीन तहका सरकारले सेवा प्रवाह गर्नुपर्ने सुझाव दिए ।

सरकारले दिएका सेवाबाट जनतालाई सन्तुष्टि दिन सकिएको छैन । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिएर रोजगारको सिर्जनामार्फत आर्थिक रूपमा समुन्नत बनाउन शासन सञ्चालन गर्नेले ध्यान दिनुपर्ने उनको सुझाव छ । यसअघि साबिक देउराली गाविसको भवनबाट प्रवाह हुँदै आएको म्यागङ गाउँपालिकको सेवा सुविधासम्पन्न नयाँ भवनबाट सुरु भएको छ । विगतमा साँघुरो भवनबाट कठिनाइका साथ दिनुपरेको सेवा नयाँ भवनबाट उपलब्ध हुँदा निकै सुधार ल्याउने पालिका अध्यक्ष आशा तामाङले प्रतिबद्धता जनाइन् ।

नयाँ भवन निर्माणमा लागि गाउँपालिकाबाट रु. तीन करोड ६१ लाख, जिल्ला समन्वय समितिबाट रु. एक करोड २५ लाख र अपुग हुन आएको रकम रु.दुई करोड ५० लाख सङ्घीय सरकारबाट प्राप्त भएको उपाध्यक्ष सीता तामाङले जानकारी दिए । वि.सं.०७८ साउनमा भएको सम्झौताअनुसार दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने भवन खर्च अभावले ढिलो सम्पन्न भएको हो । नवनिर्मित भवनमा पालिकाले दिने सेवाका लागि आवश्यक सबै संरचना निर्माण गरिएका छन् । पालिकाको नयाँ भवन यहाँ रहेका ६ वटै वडाको मध्यविन्दुमा अवस्थित भएकाले पालिकावासीलाई सेवा लिन सहज हुने प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार अधिकारीले जानकारी दिए । जिल्लाको चारवटा पालिका सूर्यगढी, तारकेश्वर, बेलकोटगढी र विदुरको प्रमुख प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेको छ भने लिखु गाउँपालिकाले भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न लागिपरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह