Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

प्रयोगविहीन जेब्रा क्रसिङ

प्रयोगविहीन जेब्रा क्रसिङ
त्रिशूली प्रवाह
१ साल अगाडी

मानिसलाई बाटो काट्न सहज होस्, सवारीसाधन जेब्रा क्रसिङमा आइपुगेपछि मानिस बाटो काट्न लागेका छन् कि वा बाटो काटिरहेका छन् कि भनी हेरेर मात्र अगाडि बढून् भनेर जङ्गली घोडाको चिह्न भएको जेब्रा क्रसिङ बनाइएको हो । हामीकहाँ भने सवारीचालक त्यसको कुनै पर्वाह नै गर्दैनन् र त्यस ठाउँबाट बाटो काट्न लागेका मानिसको वास्तै नगरी सवारीसाधन हुइँक्याएर चलाउँछन् । यसले गर्दा त्यस ठाउँबाट बाटो काटेर सुरक्षित होइन्छ भन्ने विश्वास जनतामा दिनप्रतिदिन घट्दै गएको छ ।

जेब्रा क्रसिङ भएका ठाउँबाट बाटो काट्दा सर्वसाधारण जनता त के कतिपय प्रबुद्ध वर्गसमेत दुर्घटनाको सिकार भइरहेका छन् । यी हरफ लेख्तै गर्दा जेब्रा क्रसिङबाट होसियारीसाथ बाटो काट्न लागेका दुई पूर्वसचिवको निधन भएको दुःखद घटनासमेत म सम्झन पुगेको छु । विकसित देशमा ट्राफिक कन्ट्रोल विद्युतीय साधनबाट गरिएको हुन्छ । पर्खनलाई उभिएको मानिसको चिह्न र बाटो काट्ने बेला मानिस हिँडिरहेको चिह्न देखाइन्छ । कतै–कतै त्यस्तो सुविधा नभएका ठाउँमा पनि पैदलयात्रीको सुविधाका लागि ठाउँठाउँमा विद्युतीय खम्बा राखिएका हुन्छन् । त्यहाँ रहेको बटम पैदलयात्रीले दबाउँछन् । त्यसरी दबाएपछि केही क्षणमा नै जाने सङ्केत भएको चिह्नसहित सवारीसाधन रोकिन्छन् । त्यसो भएपछि निर्धक्क बाटो काट्न सक्छन् पैदलयात्री । त्यहाँ बाटो काट्दा दुर्घटनाको सिकार होइएला भनेर डराउनै पर्दैन ।

हामीकहाँ भने काम नलाग्ने र अझ मानिसलाई झुक्याउने ठाँडाजस्ता भएका छन् जेब्रा क्रसिङ । मैले एक ट्राफिक अधिकृतलाई सोधेँ– यी सवारीचालकलाई जेब्रा क्रसिङमा आइपुगेपछि बिस्तारै चलाउन वा मानिस सडक पार गर्न लागेका देखे रोक्ने गराउन सकिँदैन ?’ उनले लाचारीका साथ भने, सकिँदैन सर सकिँदैन । मैले पुनः प्रश्न गरेँ – किन सकिँदैन ? उनले भने – यसका लागि त माथिबाटै कडाइको निर्देशन हुनुपर्छ ।’ माथि भनेको कहाँ होला ? मेरो मनमा प्रश्न उम्रियो, तर उनलाई यो प्रश्न सोध्न मन लागेन मलाई । हुन र गर्न नसकिएका कुरा माथि देखाइन्छ यस देशमा । त्यो माथि भनेको कहाँ होला ? काठमाडौँका खाल्टाखुल्टी पुर्न त सरकार प्रमुखको आदेश चाहिने यस देशमा माथि भनेको त्यही ठाउँ होला जस्तो पनि मैले ठानिरहेको छु ।

सरकार प्रमुखकै निर्देशन चाहिने भए पनि पूरा इच्छाशक्तिका साथ जेब्रा क्रसिङको नियम र आचारसंहिता लागू हुने खालको कडा निर्देशन हुनुप¥यो । होइन भने यी सबै जेब्रा क्रसिङ मेटिदिनुप¥यो । त्यसो भएपछि जनता आफ्नो सुरले कसरी बच्न सकिन्छ त्यही उपाय अपनाएर सडक पार गर्ने कसरतमा लाग्नेछन् ।

कामपा-५, हाँडीगाउँ, काठमाडौँ

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह