+
Search

ताजा अपडेट +

पपुलर +

बुहारीको चामल अधिकार

बुहारीको चामल अधिकार
त्रिशूली प्रवाह
७ महिना अगाडी

हाम्रो इतिहास र धर्मसंस्कृतिले चामललाई उच्चतम अन्नका स्थानमा राखेको पाइन्छ । हरेक शुभकार्यमा अक्षताका नाममा चलेको चलन नै उच्च स्थानमा छ । अक्षता शब्दको अर्थ कहिल्यै क्षय नहुने हो । आजभन्दा ८० वर्ष पहिलेसम्म खेतमा कोदाको बोट उम्रेको देखिएमा त्यहाँ रुद्रीपाठ गर्ने चलन थियो । धान र कोदो यी दुई अन्नमा किन यस्तो भेदभाव भयो ? कोदालाई त कुअन्नसमेत भनिन्थ्यो ।

चामल स्वयम् पुज्य छ । रोपाइँका दिन बिहानै खेतका मुहानमा पूजा गर्नेदेखि लिएर धान पाकेपछि शुभसाइतमा ल्याएर न्वागी खाने चलन छ । केही सानो अंश चामल बनाएर दहीमा भिजाई बास्नादार मसलासहितको दही, चामल कुलदेवतादेखि तेत्तीसकोटि देवतालाई चढाउँदै अग्नि स्थापना गरिन्छ । दहीचामलका साथै धान, चामल, जौ, तिल, गाईको घिउ आदि मिश्रण गरेको (चरू) आदिलाई अग्नि स्थापनामा वेदका ऋचासाथ दुई ब्राह्मणले हवन गरेपछि मात्र नयाँ वर्षको नयाँ धानको चामल कृषक परिवारले खाने चलन थियो । पहिले मङ्सिरमा मात्र धान फलाउने समय थियो, तर आज नयाँ प्रविधिले बेयाममा पनि धान फल्छ । पचास–साठी वर्ष पहिले हरेक गाउँमा ठुलाघरे कृषक, गरिब कृषक र भूमिहीन कृषक थिए । त्यस्तामध्ये ठुलाघरे कृषकका घरमा घरको मूली हजुरबालाई छुट्टै कसौँडीमा पकाइएको भातबाट छोराहरूका भागमा पनि थोरै थोरै आउँथ्यो । तिथि, श्राद्ध, चाडपर्वबाहेक सधैँ मकै, कोदाको ढिँडो मात्र खाने चलन ठुला कृषकका घरमा पनि थियो । सबै धान ढिकीमा बुहारी र हलिगोठालाले कुटेर चामल बनाइन्थ्यो । केही चाडपर्व, श्राद्ध आदिमा खर्च गरिन्थ्यो । त्यसबाट बचेको गाउँका गरिब किसानले कुट्थे । साहुका घरबाट उधारामा धान लगेर आ–आफ्ना घरका ढिकीमा कुटिन्थ्यो । कनिका र ढुटो मात्र आफूले राखेर तिनले सबै चामलको भारी बोकी नजिक पर्ने सहर, बजारमा बेचेर आएको पैसाले साहुको धानको मोलबाहेक नाफा भएको रु. दुई–चारले नुन, तेल, भोटो, चोलो किन्थे । तीन–चार भकारी धान हुने घरमा १०–१५ जना जहान भए पनि चामलको भात चाडपर्व र श्राद्धमा मात्र खान पाउँथे ।

हरेक ठुला साहुजीका घरका छोराहरू आ–आफ्ना काममा बिहानै खाना खाएर जान्थे । उनका आमाले ढिँडाका साथमा अलिकति चामलको भात पनि औसानी हाल्ने नाममा दिएको हुन्थ्यो । त्यसबाट केटाहरूले आफ्नी दुलहीलाई भनेर अलिकति छाडेको थाल भान्से आमा या भाउजूले चुलाकै एकापट्टि कुनामा राखिदिनुपथ्र्याे । मुख्य कुरो त अलिकति एक–दुई गाँस भए पनि चामलको भात उसकी प्यारी श्रीमतीले पनि पाउने अधिकारै सम्झेर भान्सामा एक–दुई घण्टासम्म झिँगा भन्काएरै जुठा थाल राखिन्थ्यो । जमानामा बुहारीको चामलमाथिको अधिकार यस्तो पो थियो ।

विदुर–४ ढुङ्गे, बागवानी, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह