राजनीतिक पद्धतिले नै नेता, नीति, राजनीतिक दल सुदृढ हुने हुन् । जस्ता दल, नेता र राजनीति हामीबिच छन्, त्यस्तै राज्य व्यवस्था सञ्चालन हुन्छ । हामीकहाँ राज्यपक्ष र प्रतिपक्ष दुवैथरीले सरोकारवाला जनतालाई धम्क्याउने र राजनीतिक स्वार्थकेन्द्रित प्रवृत्तिबाट हाम्रो राजनीति दूषित बन्दै छ । यसबाट केही निहित स्वार्थी पङ्क्तिको क्षणिक स्वार्थ त पूरा होला, तर राजनीतिक नेता तथा दलीय पद्धतिमाथि नै अविश्वास पैदा गर्नेतर्फ खतरा बढ्दै जान्छ । मिथ्या र भ्रमका सूचना फैलाएर राजनीतिक संस्था र नेतृत्वप्रति अविश्वास पैदा गर्ने कुराबाट हामी कहिल्यै अछुतो छैनौं।
यस्ता प्रवृत्ति अहिले प्रायः मिडिया, हाम्रो सामाजिक गतिशीलता र राजनीतिक संस्कृति, पद र शक्तिमा रहुन्जेल ‘हिजो’ बिर्सने आचरण र व्यवहार र पद तथा शक्तिमा नभएका बेला ‘आकाश खसिसक्यो’ ‘देश बन्छ मेरै मात्र पालामा’ भन्नेजस्ता नकारात्मक कुरामा धेरै देखिइरहेको छ । नेपालमा यी चुनौतीको जरा बुझ्नका लागि यसको राजनीतिक परिदृश्यका धेरै अन्तरसम्बन्धित पक्ष जाँच्न आवश्यक देखिँदै छ । मौजुदा सामाजिक अन्तरविरोधलाई व्यवस्थापन र मार्गनिर्देशन गर्ने आवश्यकताको उत्कर्षमा राजनीतिक संरचनाको प्रादुर्भाव भएको थियो । मानव हित, सामाजिक हित र राष्ट्रहितको शीर्षकले लपेटेर यसलाई आकर्षक र सार्वभौम बनाउन खोजिए पनि निश्चित विचार, दर्शन र कार्ययोजनाभित्र समाजलाई लपेट्ने र दपेट्ने चालबाजी विभिन्न तरिकाले हामीबिच मुखरित भइरहेकै छ ।
भलै, सार्वजनिक धारणालाई आकार दिन मिडियाको भूमिका महत्वपूर्ण छ । तर, नेपालमा यसको क्रियाशीलता र परिचालन पूर्वाग्रह वा अतिरञ्जनाबाट मुक्त छैन । देशमा मिडिया क्षेत्र ‘भाइब्रान्ट’ भए पनि सामाजिक सञ्जालको उदयसँगै हामीबिच अवसर र चुनौती दुवै ल्याएको छ । धेरै नागरिक समाचार र जानकारीका लागि सामाजिक सञ्जालमा भर गरिरहेका छन्, जहाँ नियमन र जवाफदेहिताको कमीका कारण गलत सूचना सजिलै फैलिइरहेको छ । केही मिडिया आउटलेट र अनलाइन प्लाटफर्म राजनीतिक रूपमा कतै आबद्ध हुन सक्छन् र तिनीहरूले आफ्नो विशेष राजनीतिक स्वार्थ पूरा गर्न तथ्य बङ्ग्याउने वा विकृत रूपमा प्रस्तुत गर्न सक्छन् । कोही कसैलाई माटामा मिलाउन र बर्बाद पार्न वा कसैलाई अतिरिक्त र अस्वाभाविक रूपमा चुल्याउनसमेत अभियानै चलाउने गरिएको छ । यसले गलत सूचनाको प्रसारलाई बढाइरहेको छ र राजनीतिक नेतृत्वमा अविश्वास बढाइरहेको छ । जनताका बिचमा मिडिया साक्षरताका कमीले पनि गलत सूचनाको अनियन्त्रित वितरणमा योगदान पुगिरहेको छ ।
अहिले सबैभन्दा बढी तारो नेकपा (एमाले) र यसका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाइएको छ । हो, भनेजति काम हुन सकेको छैन । बहुदलीय व्यवस्था, राजनीतिक अस्थिरता, स्रोतका अभावका कारण यस्तो हुनु स्वाभाविक हो । तर, एमालेले राष्ट्रिय स्वाभिमान कमजोर हुने र नेपालीको शिर निहुरिने काम कहिल्यै गरेन । देशको संविधान, ऐन, कानुन, नीतिनियमविपरीत केही गरेको छैन । यती, गिरीबन्धु, ओम्नी प्रकरणबारे सरकारी निकायमा गएर सत्यतथ्य बुझ्न सकिने बाटो खुलै छ । चित्तै नबुझे अदालतमा मुद्दा दिन सकिन्छ । एमाले सधैँ सरकारको नेतृत्वमा त छैन, एकल सरकारको नेतृत्व गरेको पनि छैन । देशको सबै विकृति–विसङ्गतिका लागि एमाले र यसका अध्यक्षलाई मात्र दोष दिनु न्यायसंगत हुन्छ र ? एमालेले एउटा परम्परागत दृष्टिकोणमाथि नयाँ प्रस्थान गर्ने प्रयास गर्यो। ओली पहिलोपटक प्रधानमन्त्री भइसकेपछि ‘जनताका मुर्झाएका सपनालाई जागृत गर्ने’ कुरा गरेको सबैलाई थाहा हुनुपर्छ । त्यतिबेला एमालेले रेल वा पानीजहाज, पाइपलाइन, सुरुङमार्गका कुरा गर्दा मजाकको विषय बनाइयो । तर, आज ती नेपालको विकास योजनाको रणनीतिक अङ्ग बनिसके ।
भ्रम, मिथ्या, अनुमान, पूर्वाग्रह र होहल्लाको पछि लाग्नाले समाजलाई साह्रै ठुलो हानि पु¥याइरहेको छ भन्ने समकालीन राजनीतिका हस्तीले कहिले बुझ्ने ? देशमा राजनीतिक अस्थायित्व र अस्थिरताको निरन्तरताभित्र आफ्ना अनुचित आकाङ्क्षा पूरा गर्न उद्यत् तत्त्व, केही पात्र र प्रवृत्तिले पनि यस्ता निन्दा र भत्र्सनायोग्य हर्कतलाई उकेरा लगाएको आभास हुन्छ । तिनको पालितपोषित क्षणिक लाड, आड र भरोसामा समकालीन नेपाली राजनीतिमा एमाले र त्यसका ‘टावरिङ व्यक्तित्व’लाई ढाल्न सकिन्छ कि भनेर नै यी सबै प्रपञ्च गरिएको हुनुपर्छ । सामाजिक सञ्जालका मिथ्या र कपोलकल्पित कुराको सेयर, लाइक र क्षुद्र टिप्पणीले यो पुष्टि गरिरहेको छ ।
आज दुर्गाप्रसाद प्रसाईंजस्ता व्यक्ति र प्रवृत्तिले जथाभावी बोलेका कुरालाई पत्याएर दृष्टिकोण बनाउने जमात बढिरहेको छ । लोकरिझ्याइँका माध्यमबाट राजनीतिमा आएका ‘रवि लामिछाने’ प्रवृत्तिको पनि सत्यतथ्यमा उभिएर छलफल भइरहेको छैन । देशको विद्यमान संविधान, कानुन र मूल्यमान्यता कुनै मान्नु नपर्ने गरी सतहमा आएका उनीहरूको ‘कथनी र करनी’ देखिहालिएको छ । अहिले यही दौडमा छन्, माओवादीका हेड क्वार्टर पुष्पकमल दाहाल प्रचण्ड पनि । ‘कम्फर्टेबल कार्ड’ले काम नगरेपछि भएको सत्ता बहिगर्मनको छटपटीबाट आएका उनको पछिल्ला गैरजिम्मेवार अभिव्यक्ति र ‘मिथ्यालाई सत्यझैँ बनाउने’ उनको अहिलेको अभियान पनि यसकै शृङ्खलाका रूपमा लिन सकिन्छ । सार्वजनिक खपतका लागि सामग्रीको पसल थाप्दा भोलिको हेक्का राख्न उनले बिर्सन थालेका छन् ।
कसैले पनि जनताको भावना भड्काउनु, उनीहरूको भय र भावनाको दोहन गर्नु, जीवन र जगत्प्रति, समाज र राज्यप्रति, धर्म र संस्कृतिप्रति, पुर्खा र इतिहासप्रति, भविष्यप्रति, प्रचलन र पद्धतिप्रति, विश्वास तथा विश्वासप्रति अविश्वास, अन्धविश्वास र वितृष्णा फैलाउनु ठुलो भ्रष्टाचार हो । सद्भाव, सहिष्णुता, सम्मान, समता र सरसता भङ्ग गर्नु सामाजिक अपराध हो । आज नेपालका राजनीतिक दल र तिनका नेताहरूले आत्मसमीक्षा गर्नु जरुरी छ । आपसी द्वेष र कलहले शान्ति, सुख र समृद्धि ल्याउँदैन । सत्तोसरापले ऊर्जा क्षीण हुन्छ । विलापले हीनता बढाउँछ । यी सबैको परिणाम पराजय हुन्छ । अरूलाई भनेर प्रयोग गरिने अपशब्दको स्वाद र अनुभूतिको प्रथम उपभोक्ता आफैँ होइन्छ ।
आज धेरैले राजनीतिलाई शक्ति र स्रोतसाधनमा हालिमुहाली गर्ने खुड्किलाका रूपमा प्रयोग गरेका छन् । मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने र भविष्य सपार्ने ध्याउन्न कमै नेतामा देखिन्छ । जसले रूपान्तरणको नवीन कार्यसूची लागू गरेर मुलुकको भविष्य सपार्ने कुनै सम्भावना छैन, ऊ पनि निरन्तर सत्ताको दाबेदारी गरेर बसिरहेको छ । चुनाव जित्ने, पदमा जाने, पैसा कमाउने र त्यही पैसा प्रयोग गरेर फेरि चुनाव जित्ने लोभीपापी चरित्र भएका त्यस्ता नेता र संस्थाले धमिराले जस्तै लोकतन्त्र नै खोक्रो पार्छन् । यसका लागि समाजमा राजनीतिक नेतृत्वप्रतिको वितृष्णाको जरो पत्ता लगाउनुपर्छ । आवश्यक पर्दा राजनीतिक खेलका नियम परिवर्तन गर्न आवश्यक छ ।
राजनीतिक प्रक्रियामा जवाफदेहिता र पारदर्शिताको अभावले पनि नेपालको राजनीतिक नेतृत्वप्रतिको अविश्वासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । नेपाली नागरिकले प्रायः राजनीतिज्ञले गरेको भ्रष्ट अभ्यास वा जनविश्वासको उल्लङ्घनका कारण थोरै नतिजा प्राप्त गरेको महसुस गर्छन् । उत्तरदायित्वको कमीले गलत सूचनाको प्रसारका लागि उर्वर मैदान सिर्जना गर्छ । यसबाहेक, राजनीतिक नेताहरूलाई जवाफदेही बनाउन बलियो कानुनी ढाँचाका अभावले सर्वसाधारण जनतामा शक्तिहीनता बढ्दै जाने हुन्छ, जसले उनीहरू विभिन्न षड्यन्त्र, सिद्धान्तको कोरापन वा झुटा कथा वा ‘नेगेटिभ न्यारेटिभ’मा विश्वास गर्न बढी अभ्यस्त हुँदै जान्छन्, जुन भइरहेको छ ।
नेपालमा राजनीतिक दल र तिनका नेताहरूको सकारात्मक छवि प्रवद्र्धन गर्न बहुआयामिक दृष्टिकोणको आवश्यकता महसुस भएको छ । यसमा पारदर्शिता अभिवृद्धि, विविध समुदायसँगको संलग्नता र सहकार्य, राष्ट्रिय एकतालाई प्राथमिकता, ठोस परिणाम प्राप्त गर्ने अनुष्ठान र गलत सूचनालाई सम्बोधन गर्ने कुरा आवश्यक छ । समावेशी, जवाफदेही शासनमा ध्यान केन्द्रित गरेर र जनताका आवश्यकताप्रति सच्चा प्रतिबद्धता प्रदर्शन गरेर, सबै पक्षले जनविश्वास पुनर्निर्माण गर्न र साझा हितको सेवा गर्ने राजनीतिक संस्कृति सिर्जना गर्न सक्नेछन् । दल र नेताहरूले व्यक्तिगत लाभभन्दा नागरिकका हितलाई प्राथमिकता दिने गरी राजनीतिक संस्थामा विश्वास पुनर्निर्माण गर्न मद्दत पुयाऊन् । नेताहरूले सार्वजनिक रूपमा नैतिक सिद्धान्त, पारदर्शिता, जवाफदेहिता र निष्पक्षता कार्यान्वयनमा ल्याऊन् । कानुनको पालना, नैतिक आचरण र स्वार्थभन्दा माथिको सेवा गर्ने प्रतिबद्धताले नागरिकलाई प्रेरणा दिन सके मात्र राजनीतिक दल र नेताको छवि सुधार्न सकिनेछ, अन्यथा राजनीतिमा लागेर कोही किन बदनाम र बर्बाद हुनु छ र ?
प्रतिक्रिया