पुरानो शैलीमा नयाँ नुवाकोट बनाऔँ

पुरानो शैलीमा नयाँ नुवाकोट बनाऔँ
त्रिशूली प्रवाह
७ महिना अगाडी

पहाडी जिल्ला नुवाकोटका त्रिशूली, तादी र लिखु नदी किनारका शिखरबेँसी, सिमरा, थानसिं, छहरे, लब्धु, बराहफेदी, शेरा, मर्चले फाँट धान खेतीका लागि प्रख्यात छन् । तल्लो तटीय क्षेत्र र बेँसीमा धान उत्पादन गर्ने चलन थियो । नुवाकोट भूगोलसँगै धान उत्पादनका लागि राम्रो वातावरण भएको जिल्ला हो । कुनै समय शिखरबेँसीको चामल नेपालमा प्रसिद्ध थियो । यहाँका मास र पिँडालु राम्रा उत्पादन हुने वस्तु हुन् । त्रिशूली र तादी खोलाको असला माछा नुवाकोटको अर्को पहिचान बोकेका वस्तु हुन् । नुवाकोट विगतमा धान, आँप, माछा, मास, बदाम, मुला र पिँडालुले भरिपूर्ण जिल्लाका रूपमा चिनिएको थियो । सिमरा, गँड्खार र लब्धु शेरा सिँचाइ योजना सम्पन्न भएपछि जिल्लामा आलु प्याकेट क्षेत्रको विकास भई अर्को पहिचान थपियो ।

पछिल्ला केही वर्षमा नीलो/रातो मुला, जापानी प्रजातिको रेन्बो ट्राउट माछा र स्ट्रबेरीको उत्पादनले नयाँ मान्यता प्राप्त गरेको छ । पिपलटारमा मेवा र म्यागङ क्षेत्रमा सुन्तला, चिया, अलैँची, गोलभेँडाको व्यावसायिक उत्पादन सुरु भएको छ । गाई, भैँसी र बाख्रापालन तथा उपयुक्त वातावरण भएकाले जिल्लालाई पशुपालनबाट चिनाउन सकिन्छ । त्यसैगरी, माथिल्लो भेगमा कागतीको राम्रो उत्पादन लिन सकिन्छ । काठमाडौँका केही व्यवसायी अहिले थानसिंंह, लिखु ढिकुरे क्षेत्रमा जग्गा भाडामा लिएर खेती गर्नका लागि आउन थालेका छन् । चिनियाँ र रसुवावासी मिलेर सोही क्षेत्रमा केही जग्गा भाडा लिएर लसुन खेती पनि यसै वर्ष गरेको भेटिएको छ । काठमाडौँ उपत्यकावासी नेवार समुदायका विभिन्न पूजा, अनुष्ठान र संस्कारमा कालो भटमास र ताइचिन धानको चामल आवश्यक हुन्छ जुन यसै क्षेत्रमा फलाउन सकिन्छ ।

टोखा–छहरे सुरुङ सडक निर्माण भएसँगै नुवाकोट नयाँ नुवाकोट वा नयाँ काठमाडौँ बन्ने निश्चित छ । सरकारको नीतिअनुसार छहरेदेखि शेरासम्मका फाँटलाई काठमाडौँको स्याटेलाइट सिटी (उपग्रह सहर) बनाउने योजना छ । राजधानीका चार कुनामा राज्यले नयाँ सहर बनाउने भन्दै अर्बाैँ लगानी गरेको छ । थानसिंह, लब्धु, ढिकुरे, बाह्रफेदी हुँदै शेरा फाँटमा सहरीकरणपछि धान र आलु उत्पादनको उर्वर भूमि नष्ट हुनेछ । यससँगै पानीमा मिसिएको मानव मल र पिसाबले सो क्षेत्र आजको बागमती र विष्णुमतीको अवस्थामा पुग्नेछ । टोखा–छहरे सुरुङमार्गमा पर्ने थानसिंलाई काठमाडौँको उपग्रह सहर बनाउने सोच नै गलत छ । त्यहाँ जथाभावी हुने जग्गा खण्डीकरण रोक्नुपर्ने हुन्छ ।

वि.सं. १८७२ को सुगौली सन्धिपछि नेपाली समाजले आय, वैदेशिक रोजगारी र विप्रेषण प्राप्त गरेको थियो । पूर्वीनेपालका लिम्बू र पश्चिम नेपालका थारू आदि जातिलाई सन्धिले भारतीय सेनामा जागिर र वैदेशिक रोजगारीको ढोका खोलिदियो । आज त्यही वैदेशिक रोजगारी देशका लागि अत्यावश्यक साबित भएको छ र रोगका रूपमा फैलिएको छ । यो महामारी फैलिने रोगबाट बच्ने एउटै उपाय भनेको भारतसँगको १९५० सन्धि संशोधन गर्ने र नेपाली समाजको उत्पादन प्रणालीलाई आत्मनिर्भरोन्मुख बनाउने हो । नेपाल आत्मनिर्भर हुने एउटै उपाय कृषि उत्पादन बढाउनु हो । नेपालमा कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्र मात्र प्रतिस्पर्धात्मक सम्भावना भएका क्षेत्र हुन् ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा अमिलो जातका फलफूल र राँगाको प्रशोधित मासु नेपालबाट चीन निर्यात गरिने सहमति भएको थियो । नुवाकोट कागती, सुन्तला, ज्यामिर, भोगटे, निबुवा आदि फल्ने जिल्ला पनि हो । यहाँ गाई, गोरू, राँगा, भैँसी र बोकाबाख्रा, बंगुर पनि प्रशस्तै पालन गरिन्छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उन्नत जातका मुर्रा भैंसी नेपाल आयात गर्ने सहमति भएको थियो । भारतका जनताले राँगा, भैँसी आदि पशुपालन व्यवसाय र दुग्धजन्य पदार्थ उत्पादन गरेर आत्मनिर्भर हुने अवसर पाएका छन् भने नेपालले चीनमा राँगाको मासु निकासी गरेर आर्थिक रूपमा समृद्ध हुने अवसर पाउनेछ ।

नुवाकोटले आफ्नो पुरानो पहिचानका कृषि वस्तुको उत्पादनमा ध्यान दिनुपर्छ र सोहीअनुसार बृहत् बस्ती विकास हुनु जरुरी छ । पहाडका बिचबाट विदुर पुग्नुपर्ने भूगोलमा सहरीकरणको समस्या छैन, कच्चा सडकस्तरमा प्रगति हासिल गर्न सकिन्छ, सडकको स्तरलाई मध्यपहाडी लोकमार्गमा परिणत गर्न सकिन्छ । थानसिं फाँटमा पानीको सतह पुर्याउन सकिएमा र कालोपत्र गर्ने हो भने पुरानो थानसिं बजार आधुनिक सहरमा परिणत भएको देख्न सकिन्छ । त्यस्तै, तल्लो शेराको तादी खोलामा पोखरी निर्माण भएको छ । सडकको स्तर बढ्दै जाँदा पुराना मान्छे नयाँमा परिणत हुन्छन् । ढिकुरेबाट बराफेदी हुँदै नुवाकोट दरबारसम्मको सडकको स्तर सुधार भएमा नुवाकोट दरबार परिसरलाई धुलिखेल वा बन्दीपुरजस्ता पर्यटकीय गन्तव्यमा परिणत गर्न सकिनेछ ।

धार्मिक पर्यटन बढ्दै : धार्मिक पर्यटनका लागि नुवाकोट जिल्लाले पहिचान पाएको छ । काठमाडौँबाट ‘बागमतीको दोस्रो पशुपतिनाथ’ दुप्चेश्वर पुगेपछि भैरवीमाईको दर्शनका लागि नुवाकोट दरबार क्षेत्र र देवीघाट जानेक्रम बढेको छ । नुवाकोट दरबार क्षेत्रलाई ऐतिहासिक र पुरातात्विक महत्वका कारण धुलिखेल, बन्दीपुर र काठमाडौँ उपत्यकाको ऐतिहासिक दरबार क्षेत्रजस्तै पर्यटकीय क्षेत्रका रूपमा चिनाउन सकिनेछ । टोखा–छहरे सुरुङ सडक निर्माणसँगै नुवाकोटलाई नयाँ र पुरानो पहिचानसहितको उत्पादन क्षेत्रका रूपमा विकास गर्न, पहाडी भू-भागको पुनर्निर्माण गर्न नयाँ सहरीकरणसहितको काठमाडौँको उपग्रह सहरका रूपमा परिकल्पना गर्नु नुवाकोटवासीका लागि सान्दर्भिक नै हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह