घ्याङ्स्वाँरा (पञ्चकन्या) । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी २०८४ सालको सङ्घीय निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ बाटै चुनाव लड्ने घोषणा गरेका छन् ।
नुवाकोट जिल्ला पञ्चकन्या-४ घ्याङ्स्वाँरामा नेपाल तरुण दलले आयोजना गरेको वनभोज कार्यक्रममा पूर्वमन्त्री डा. महतले जिल्लामा आफूले धेरै काम गरेको जिकिर गर्दै आगामी २०८४ सालको चुनाव सोही क्षेत्रबाट लड्न मतदाताले आग्रह गरेकोसमेत बताए । काङ्ग्रेसको एक सयदिने कार्यक्रमअन्तर्गत नेपाल तरुण दल नुवाकोट क्षेत्र नम्बर १ ले पछिल्लो समय पर्यटकीय स्थलका रूपमा विकास भइरहेको घ्याङ्स्वाँरामा आयोजना गरेको जिल्लाव्यापी वनभोज कार्यक्रममा अभियानका केन्द्रीय प्रतिनिधि किरण पौडेल, डा. केदारनरसिंह केसी, पञ्चकन्या गाउँपालिका सभापति माधवप्रसाद खनाललगायत जिल्लाभरकै नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस जिल्ला सभापति तथा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले सङ्गठन सुदृढीकरणका लागि आयोजित कार्यक्रममा गुट/उपगुटको रङ दिनु आवश्यक नरहेको जनाउँदै सबै मिलेर पार्टी बलियो बनाउन जोड दिए । कार्यक्रमबाट नुवाकोटको पर्यटन प्रवद्र्धनसँगै काङ्ग्रेसको सङ्गठनात्मक एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुगेको आयोजक तरुण दल क्षेत्र नम्बर-१ का अध्यक्ष शरण पाख्रिन घलेले जिकिर गरे ।







प्रतिक्रिया