विदुर । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै आएको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली (दीपज्योति)’ मंगलबार नुवाकोट आइपुगेको छ । धादिङको भर्याङ-भुरुङ हुँदै सामरीबाट नुवाकोट प्रवेश गरेको र्याली विदुर नगरपालिका–१० स्थित शुभघाटमा आएर मंगलबार वास बसेर बुधबार बिहान नुवाकोट दरबारमा स्वागतग्रहण गरेर काठमाडौंका लागि प्रस्थान गरेको छ ।
नुवाकोटमा रहेको शेर गणले भर्याङ–भुरुङदेखि र्यालीको नेतृत्व गरेको थियो । धादिङको सिमानादेखि हुँदै नुवाकोट आइपुगेको र्याली सामरीभञ्ज्याङ, कागुने हुँदै शुभघाट आइपुग्दा विदुरका नगरप्रमुख राजन श्रेष्ठसहित जनप्रतिनिधि र स्थानीयवासीले स्वागत गरेका थिए । स्वागतका क्रममा विदुरका प्रमुख श्रेष्ठले नेपाली सेनामार्फत सञ्चालन गरेको पदयात्राले इतिहासको जगेर्ना, पुर्खाले पुर्याएको योगदानको संरक्षण र मेटिँदै गएका तत्कालीन पुरातात्विक, धार्मिक एवम् ऐतिहासिक संरचनाको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । बुधबार साततले दरबार र भैरवी मन्दिरपरिसरमा रहेको शीतलपाटीमा आयोजित कार्यक्रममा र्यालीमा सहभागीलाई भव्य स्वागत गरिएको थियो । नगरप्रमुख राजनलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले पैदल यात्राले जिल्लावासीसँग सेनाको सम्बन्ध विस्तार, सद्भाव आदन–प्रदान र पर्यटन प्रवद्र्धनमा मद्दत पुर्याउने अपेक्षा गरेको बताए । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पर्यटकीय र सामरिक महत्वको स्थल चिन्न र चिनाउन पदयात्राले सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा नेपाली सेनाको ६ नम्बर बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी शिखर जबरा, जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि जिल्लामा रहेका विभिन्न कार्यालयका प्रमुख, स्थानीयवासी, सङ्घ–संस्थाका प्रमुख प्रतिनिधि, शिक्षक, विद्यार्थीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
एकीकरण हुनुभन्दा अगाडि नुवाकोटको त्रिशूली नदीलाई सिमाना बनाएर त्रिशूलीबाट धादिङतर्फ गोर्खा राज्य र काठमाडौँतर्फ कान्तिपुर राज्य रहेको थियो । पृथ्वीनारायण शाहको बुवाले पहिलोपटक नुवाकोटमाथि गरेको आक्रमण विफल भएपछि पृथ्वीनारायण शाहले दोस्रोपटकको प्रयासमा नुवाकोटबाट विजय हासिल गरेर सुरु भएको नेपाल एकीकरण अभियानले विशाल नेपालको निर्माण सम्भव भएकाले एकीकरण यात्रा नुवाकोटका लागि सबैभन्दा महत्वको रूपमा लिने गरिएको छ । कान्तिपुर राज्यको अधीनमा रहेको नुवाकोटमाथि विजयपश्चात् नुवाकोटवासीको साथमा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकासहित अन्य राज्यमाथि विजय हासिल गरेका थिए । सोही क्रममा उनले पछ्याएको पदमार्गको संरक्षण, पर्यटक प्रवद्र्धन र वीर पुर्खाले पुर्याएको योगदानको सम्मानस्वरूप युवापिँढीमा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रा’ सञ्चालनमा ल्याइएको नुवाकोटमा तैनाथ नेपाली सेनाको शेर गणका गणपति प्रमुख सेनानी विष्णु कार्कीले जानकारी दिए । यस क्रममा पदमार्गमा पर्ने कोतघर, गढी, किल्लालगायतका ऐतिहासिक तथा धार्मिक महत्वको संरचनाको संवद्र्धन, संरक्षण, प्रवद्र्धन र प्रचारमा उल्लेख्य सहयोग पुर्याउन केन्द्रित गरिएको छ । गोर्खाली फौजले वि.सं. १८०१ असोज १५ मा नुवाकोटमाथि विजय गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देश एकीकरण पदयात्रामार्फत दिन खोजिएको छ ।
र्यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उनको सैनिक फौजले प्रयोग गरेकोजस्तै पोसाक र हातहतियारमा सजिएका छन् । गोरखा दरबारबाट निकालिएको उक्त ‘एकीकरण टर्च’ पृथ्वीनारायण शाहले नै स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झन्डा, नेपालको राष्ट्रिय झन्डा र बाजागाजासमेत संलग्न गराइएको छ । नुवाकोटको साततले दरबारबाट प्रस्थान गरेको र्याली धरमपानी, शेरादरबार, लिखु गाउँपालिकाको ढाँडेफेदी, बेलकोटगढी नगरपालिकाको मदानपुर हुँदै ककनी गाउँपालिकाको चतुरालेमा बुधबार वास बस्ने र बिहीबार नुवाकोट–काठमाडौँको सिमाना ओखरपौवामा काठमाडौँबाट आएको सेनाको टोलीलाई टर्च लाइट र झन्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । ककनीको ओखरपौवाबाट बिहीबार सो टोली काठमाडौँ प्रवेश गर्नेछ । काठमाडौँको सिंहदरबारपरिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा पुस २७ गते पुगेर त्यहाँ विशेष कार्यक्रम गरेर र्यालीको समापन गरिने नेपाली सेनाले जनाएको छ ।