‘कति मिठो चालामाला’ सार्वजनिक

  • त्रिशूली प्रवाह
  • २५ पुष २०८१, बिहीबार १३:३६

धुन्चे । रसुवा जिल्ला उत्तरगया गाउँपालिका-२ डाँडागाउँनिवासी लोकेन्द्र तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘कति मिठो चालमाला’ गीति एल्बम सार्वजनिक गरेका छन् ।

गीत तामाङको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ । रसुवाको प्राकृतिक सौन्दर्य र सांस्कृतिक पक्षलाई उजागर गर्ने यस गीति एल्बमले स्थानीय क्षेत्रको प्रचारप्रसारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । गीतमा हस्त तामाङ गोलेको शब्द र सङ्गीत रहेको छ । सङ्गीत निर्माता सञ्जीव बराइलीले गीतलाई उत्कृष्ट बनाएका छन् भने वाङच्यु फ्युबाको मिक्सिङ र मास्टरिङले गीतलाई थप कर्णप्रिय बनाएको छ । मदन रेग्मीले मादल, रत्न विकेले बाँसुरी र सञ्जीव बराइलीले गिटार तथा बन्जोमा सङ्गीत प्रदान गरेका छन् । गीतको भिडियोमा लोकेन्द्र तामाङ र सृष्टि तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ । निर्देशन वीरेन तितुङले गरेका हुन् । सिनेम्याटोग्राफी र ड्रोन सञ्चालनमा समेत वीरेनकै संलग्नता रहेको छ । भिडियो सम्पादन तथा रङ संयोजन अनिलकुमार महर्जनले गरेका छन् भने नयाँ पाना फिल्मस्ले पोस्ट प्रोडक्सनको जिम्मेवारी पूरा गरेको छ । रसुवाको नागथाली क्षेत्रका रमणीय दृश्यलाई समेटिएको गीतले स्थानीय पर्यटन क्षेत्रको प्रवद्र्धनमा मद्दत पुर्याउने विश्वास गरिएको स्थानीय भरत रिमालले बताए ।