पालिकाको विकास बजेट खर्च न्यून

ककनीको बढी, तादीको कम

  • त्रिशूली प्रवाह
  • २५ पुष २०८१, बिहीबार १३:४३

विदुर । चालू आर्थिक वर्ष २०८१/०८२ को झन्डै ६ महिनामा नुवाकोटका स्थानीय तहको विकास बजेट खर्च निकै कम देखिएको छ । चालू आवको पाँच महिना २१ दिनमा जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकाले कुल बजेटको सात दशमलव ७२ प्रतिशत मात्र खर्च गर्न सकेका छन् ।

पालिकाको अन्तिम विनियोजन भएको कुल बजेट रु. दुई अर्ब ५५ करोड ८६ लाख ७८ हजार आठ सय २० मध्ये रु. १९ करोड ७७ लाख एक हजार दुई सय ४६ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नुवाकोटले जनाएको छ । कार्यालका अनुसार सङ्घ र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त अनुदान तथा सहयोग र पालिकाको आन्तरिक स्रोतबाट कुल बजेटमध्ये सो अवधिमा बल्लबल्ल रु. १९ करोड ७७ लाख एक हजार दुई सय ४६ मात्र खर्च भएको छ । सोही अवधिमा सबैभन्दा बढी विकास बजेट ककनीले १५ दशमलव ३२ प्रतिशत र कम तादीले शून्य दशमलव ९७ प्रतिशत खर्च गरेका छन् । ककनीले सो अवधिमा कुल बजेट रु. १९ करोड ११ लाख ६२ हजारमध्ये रु. दुई करोड ९२ लाख ९४ हजार सात सय ८२ र तादीले कुल स्वीकृत रु.१५ करोड सात लाख ५० हजारमध्ये रु. १४ लाख ६७ हजार दुई सय चार मात्र खर्च गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सो अवधिमा दुई नगरपालिकामा पनि विकास बजेट सन्तोषजनक रूपमा खर्च हुन सकेको देखिएन । सदरमुकामसमेत रहेको विदुरले १२ दशमलव १६ र बेलकोटगढीले आठ दशमलव ७१ प्रतिशत खर्च गरेका छन् । विदुरले रु. ४१ करोड ८७ लाख २५ हजार विनियोजन बजेटमध्ये रु. पाँच करोड नौ लाख ५३ हजार तीन सय ४० र बेलकोटगढीले रु. ३४ करोड ६१ लाख १० हजारमध्ये रु. तीन करोड एक लाख ५६ हजार चार सय सात मात्र खर्च गरेका छन् । सो अवधिमा किस्पाङले आठ दशमलव ४२, तारकेश्वरले ६ दशमलव ९८, दुप्चेश्वरले तीन दशमलव ५५, पञ्चकन्याले चार दशमलव २९, म्यागङले तीन दशमलव २१, लिखुले १४ दशमलव १२, शिवपुरीले पाँच दशमलव २२ र सूर्यगढीले दुई दशमलव ५९ प्रतिशत खर्च गरेका छन् । सो अवधिमा चालू बजेटमध्ये सबै पालिकाको विनियोजित कुल बजेट रु. चार अर्ब ४५ करोड ७५ लाख ६० हजार चार सय पाँचमध्ये रु. एक अर्ब १६ करोड ८१ लाख ४४ हजार नौ सय ४३ अर्थात् २६ दशमलव २० प्रतिशत खर्च भएको छ । विनियोजित चालू बजेटमध्ये बेलकोटगढीले २२ दशमलव २५, विदुरले २७ दशमलव ३८, ककनीले २५ दशमलव १२, किस्पाङले २२ दशमलव आठ, तादीले २४ दशमलव २९, तारकेश्वरले २९ दशमलव ९४, दुप्चेश्वरले २२ दशमलव २२, पञ्चकन्याले २८ दशमलव ८४, म्यागङले २९ दशमलव ७९, लिखुले ३० दशमलव १७, शिवपुरीले २२ दशमलव ६५ र सूर्यगढीले ३६ दशमलव ८५ प्रतिशत खर्च गरेका छन् ।

पुँजीगत खर्च बढाउन जोड
पुँजीगत खर्च बढाउनका लागि जनप्रतिनिधि तथा कर्मचारी लागिपर्ने बताइएको छ । दोस्रो चौमासिकबाट पुँजीगत खर्च बढ्ने विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले जिकिर गरे । पहिलो चौमासिकमा चाडपर्व, वर्षात् तथा सर्वेक्षणको काम हुने भएकाले दोस्रो चौमासिकदेखि विकासको कामले गति लिनेसमेत उनले बताए । सङ्घीय सरकारबाट पालिकालाई समानीकरण अनुदान, ससर्त अनुदान चालूतर्फ, ससर्त अनुदान पुँजीगततर्फ र विशेष अनुदान पुँजीगततर्फ प्राप्त हुन्छ । त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान प्रस्ताव गरिएको बजेटको २५ प्रतिशत, ससर्त अनुदान चालूतर्फ ३३ प्रतिशत, ससर्त अनुदान पुँजीगतर्फ ३३ प्रतिशत र समपूरक अनुदान पुँजीगततर्फ ३३ प्रतिशत आएको छ । सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई किस्तामा रकम पठाउने गर्छन् ।

चालू आवको सो अवधिमा जिल्लाका पालिकाको चालू र पुँजीगत विनियोजन भएको कुल बजेट रु. सात अर्ब एक करोड ६२ लाख ३९ हजार दुई सय २५ मध्ये रु. एक अर्ब ३६ करोड ५८ लाख ४६ हजार एक सय ८९ खर्च भएको छ । सो अवधिमा चालू र पुँजीगतको १९ दशमलव ४६ प्रतिशत मात्र खर्च भएको देखिन्छ । चालू आवको बाँकी अवधिमा चालू र पुँजीगत गरी पालिकाले रु. पाँच अर्ब ६५ करोड ३ लाख ९३ हजार ३५ खर्च गरिसक्नुपर्नेछ ।