औद्योगिक क्षेत्र घोषणा गर्न माग

नुउवासङ्घबाट चार सम्मानित

  • त्रिशूली प्रवाह
  • २५ पुष २०८१, बिहीबार १३:४९

विदुर । नुवाकोट जिल्लामा उद्योग विकासका लागि औद्योगिक क्षेत्र घोषणा गर्न नुवाकोट उद्योग वाणिज्य सङ्घले सरकारसँग माग गरेको छ । सङ्घको शनिबार सम्पन्न १९औँ वार्षिक साधारणसभाले विदुर-१० शुभघाटलाई विगतमा औद्योगिक ग्राम घोषणा भइसके पनि काम अघि नबढेकाले यथाशक्य छिटो प्रक्रिया अगाडि बढाउन र अन्य क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गर्न माग गरेको छ ।

साधारणसभा उद्घाटन गर्न जिल्ला आएका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई औद्योगिक क्षेत्रका लागि जमिन उपलब्ध गराइदिन र विगतमा ‘एक पालिका एक औद्योगिक ग्राम’ स्थापना गर्ने अवधारणाअनुसार शुभघाटमा औद्योगिक ग्रामका लागि जग्गासमेत छुट्याइसकिए पनि कार्यान्वयनमा नगएकाबारेमा जानकारी गराउँदै शीघ्र कार्यान्वयनका लागि सङ्घले जोड दिएको छ । अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले भारतीय नाकाबन्दीपछि विदुर-५ तल्लो पिपलटार, तनहुँको खैरेनीटारलगायतमा इन्धन भण्डारण गर्न संरचना गर्न निर्णय गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । त्यस्तै, प्रस्तावित छहरे-टोखा सुरुङमार्ग निर्माणका लागि पनि प्रक्रिया अघि बढाउन सङ्घले माग गरेको छ । सुरुङमार्ग निर्माणका क्रममा व्यवस्थित औद्योगिकीकरण, सहरीकरण र बजारीकरण, बस्ती विकास, खेतीयोग्य जमिनको संरक्षण, नदी र जङ्गल क्षेत्रको पर्यावरण सुरक्षालगायत विषयमा उद्योगी-व्यवसायीले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउँदै सोका लागि विभिन्न संयन्त्रमार्फत समन्वय गर्न आग्रह गरेको सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

संस्थाले जिल्लाको समग्र विकासका लागि र राष्ट्रिय सरोकारका केही विषयमा साधारणसभाबाट प्रस्तावसमेत पारित गरेको छ । जिल्लामा औद्योगिक क्षेत्र स्थापना गर्नका लागि विद्युत्, पानीको सुविधासँगै पर्याप्त सार्वजनिक जग्गा रहेकाले प्रदेश सरकारबाट समन्वय र सहयोग गरिदिन सङ्घले माग गरेको छ । जिल्लामा बाह्य तथा आन्तरिक पर्यटकीय सम्भावना भएको क्षेत्रको पहिचान गरी प्रवद्र्धन गर्ने, लगानीकर्तालाई जिल्ला भित्र्याउन पहल गरी आवश्यक सहयोग र समन्वय गर्ने, सरकारले प्रदान गर्ने अनुदान तथा सहुलियतका कार्यक्रम सत्ता, शक्ति र पहुँचका आडमा दुरुपयोग भइरहेकाले सबैखाले ऋणीको सहज र सर्वसुलभ पहुँच हुनुपर्ने, जिल्लामा कृषि तथा पशुपालनलाई उत्पादनमूलक र रोजगार सिर्जना हुने खालको उद्योग स्थापनामा सरकारको सहयोग हुनुपर्ने माग पनि गरिएको छ । मेला, महोत्सवको उद्देश्य र महत्वलाई नै बिर्सेर व्यावसायिक प्रवद्र्धनमा कुनै सम्बन्ध नै नभएका ससाना सङ्घसंस्था तथा कम्पनीलाई मेला-महोत्सव आयोजना गर्ने अनुमति दिँदा यसको गरिमा र महत्वमा ह्रास हुँदै गरेकाले यस्ता कार्यक्रम जिल्लामा उद्योग वाणिज्य सङ्घको समन्वय र सिफारिसमा मात्र गर्न पाउने व्यवस्था मिलाइदिन पनि सङ्घले मुख्यमन्त्री लामासँग आग्रह गरेको छ ।

सङ्घको साधारणसभामा अध्यक्ष श्रेष्ठको प्रतिवेदन तथा भावी योजना, महासचिव उपेन्द्र बुढाथोकीको सङ्घको क्रियाकलाप र कार्यक्रमको प्रतिवेदन तथा कोषाध्यक्ष मेघनाथ घिमिरेले प्रस्तुत गरेको आयव्यय विवरण छलफल गरी पारित भएको वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । सभामा जिल्लामा तीन दशकभन्दा बढी समयदेखि उद्योग तथा व्यवसाय गरिरहेका चार उद्यमीलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा अर्याल पोल्ट्री सप्लायर्स विदुर-६ चैनपुरका नीलप्रसाद अर्याल, शुभलाभ स्टोर विदुर-१ ढुङ्गेका लालबाबुप्रसाद कलवार, भण्डारी मेडिकल हल विदुर-९ कोलनीका नवराज भण्डारी, डाँफे कृषि तथा पशुपालन फर्म प्रालि शिवपुरी-८ की राधिका आचार्य छन् । सम्मानित पोल्ट्री, खाद्य किराना, स्वास्थ्य र पशुपालन क्षेत्रका उद्यमीलाई मुख्यमन्त्री लामाले सम्मान गर्दै आर्थिक गतिविधि चलायमान गराउन सङ्घको महत्वपूर्ण भूमिका रहने बताए । सभामा सङ्घको महिला उद्यमी विकास समितिले ढाका तथा ऊनीका उत्पादित कपडालगायत सामग्री, कोदाको पिठो, सुन्तला, किवी, घिउफल, काउली, मुला, साग, तयारी अचार, तोरीको तेल, साबुन र हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको थियो । प्रदर्शित सामग्रीमध्ये साग, काउली, सुन्तला, किवी, एभोकाडोको बिक्री राम्रो भएको सङ्घका प्रथम उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।