हेटौँडा । बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटिइभिटी) का प्रमुख कार्यकारी निर्देशकमा नुवाकोट, म्यागङ–४ की डा. शान्ति लामा नियुक्त भएकी छिन् । गाउँपालिकाकी पूर्वउपप्रमुख लामाले शिक्षाशास्त्रमा विद्यावारिधि गरेकी छिन् ।
गत हप्ता मन्त्रालयले खुला प्रतिस्पर्धाबाट सो पदमा प्रतिस्पर्धी सातमध्येबाट छनोट गरी डा. लामालाई नियुक्त गरेको सचिव बद्रीनाथ गैरेले जानकारी दिए । मन्त्रालयले खुला प्रतिस्पर्धामाफ्त कार्यकारी निर्देशक छनोट तथा सिफारिसका लागि दरखास्त आह्वान गरेको थियो । पहिले न्यूनतम योग्यता पूरा गरेका पाँचजनाको नाम सङ्क्षिप्त सूचीमा सूचीकृत गरिएको थियो । सो सूचीमा सूचीकृत सबै यही पुस १ गते प्राविधिक तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता परीक्षामा सहभागी थिए । परीक्षामा उत्तीर्ण तीन उम्मेदवारलाई मन्त्रालयका सचिव गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा डा. लामालाई प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरिएको सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । प्रदेश सिटिइभिटी ऐन, २०७५ को दफा ४ उपदफा (१) तथा नियमावली २०८० को नियम ४ बमोजिम उनलाई पाँच वर्ष पदावधि रहने गरी नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा योजनाबद्ध रूपमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको व्यवस्था गरी प्राविधिक जनशक्ति उत्पादन तथा प्राविधिक सीपको स्तर निर्धारण एवम् प्रमाणीकरणका लागि प्रदेश सिटिइभिटी स्थापना भएको छ । स्वरोजगार तालिम सञ्चालन गर्ने उद्देश्यका साथ प्रदेश सिटिइभिटी ऐन, २०७५ जारी गरिएको छ । ऐनमा भएको प्रावधान कार्यान्वयनका लागि परिषद् नियमावली, २०८० स्वीकृत भई जारी भइसकेको छ । ऐनको दफा ३ मा सामाजिक विकासमन्त्रीको अध्यक्षतामा १७ सदस्यीय परिषद् गठन हुने व्यवस्था छ । परिषद्को सचिवालय र परिषद्का निर्णय कार्यान्वयन गर्न प्रदेश सिटिइभिटीको कार्यालय हेटौँडा-८ कमानेमा स्थापना भएको छ ।