हेटौँडा । चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालू आव २०८१/०८२ को साउनदेखि मङ्सिरसम्ममा कुल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालू आव २०८१/०८२ को पाँच महिनाको अवधिमा कुल बजेटको ११ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ । चालू आवका लागि प्रदेश सरकारले रु. ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा पाँच महिनामा रु. सात अर्ब ३७ करोड १९ लाख २५ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालूको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ३६ दशमलव २२ प्रतिशत, प्रदेश सभा सचिवालयले २३ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ ।