राष्ट्र निर्माताको योगदानलाई स्मरण गरौँ

  • त्रिशूली प्रवाह
  • २६ पुष २०८१, शुक्रबार १२:०६

यस वर्ष पनि नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको ३०३औँ जयन्ती यही पुस २७ गते परेको छ । उक्त दिन सार्वजनिक बिदा परे पनि विविध कार्यक्रम गरी मनाउने तयारी तीनै तहका सरकारले गरिरहेका छन् । सरकारले सो दिनलाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाउने कार्यक्रम तय गरेको छ । वि.सं. २०६२/०६३ को जनान्दोलनपछि राजाका नाममा गरिने दिवस मनाउन छाडिए पनि पछिल्लो केही वर्षदेखि राष्ट्रनिर्माताको योगदानको स्मरण गर्दै भव्य रूपमा मनाउन थालिएको छ ।

आज दार्चुलाको लिम्पियाधुरादेखि झापाको केचनाकवलसम्म र कञ्चनपुरको चाँदनी दोधारादेखि ताप्लेजुङको कञ्चनजङ्घासम्मको भूभागलाई नेपाल भनेर चिनिन्छ, तर गोरखाका राजकुमारका रूपमा पृथ्वीनारायणको जन्म हुँदै गर्दा यस भूभागमा विभिन्न नामका ६५ भन्दा बढी राज्य थिए । त्यतिबेला नेपाल भनेर काठमाडौँ उपत्यकालाई मात्रै चिनिन्थ्यो, तर नेपाल उपत्यकाभित्र पनि कान्तिपुर, ललितपुर र भक्तपुर नाम गरेका तीन राज्य थिए, अलि पर्तिरको बनेपा छुट्टै राज्य थियो । यसको अर्थ हो– त्यतिबेलासम्म नेपाल भन्ने देशको अलग पहिचान समाप्त भइसकेको थियो । छिमेकी मुलुक भारतलाई अङ्ग्रेजले निलिसकेको थियो, एकीकरण गर्न केही वर्ष मात्रै ढिलाइ भएको भए वर्तमान नेपालको सबै भूखण्ड अङ्ग्रेजले भारतमा विलय गर्ने निश्चित थियो । त्यसैले पृथ्वीनारायणकै कारण आज नेपाल छ, हामी जनताले नेपालीका रूपमा विश्वभर गौरव गर्न पाएका छौँ । हामी आफैँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानसेनापति आदि विभिन्न पदमा पृथ्वीनारायणले नेपाल एकीकरण गरेर नेपाल बचाएका कारण पुग्न पाएका छौं। नेपाल एकीकरणका महानायक पृथ्वीनारायणको जन्मजयन्ती यस वर्ष पनि भव्य रूपमा पुस २७ गते मनाइनेछ । उनको राष्ट्रिय एकता दिवस सरकारी, गैरसरकारी, राजनीतिक दल तथा विभिन्न सङ्घसंस्था र समूहले विविध कार्यक्रमसहित देशभर मनाइएका समाचार सार्वजनिक हुनेछन् । केही वर्ष बिर्सिएको जस्तो भए पनि अहिले उनले नेपाल एकीकरणमा गरेको योगदानको सबैले प्रशंसा गर्न थालेका छन् । नेपालको इतिहासमा आधुनिक नेपाल राज्य निर्माण गर्न आजभन्दा दुई सय ५० वर्षअगाडि राज्य एकीकरणमा उनले निर्वाह गरेको भूमिका अतुलनीय छ । ठुलो र फराकिलो विशिष्ट अतुलनीय योद्धाका रूपमा अहिले उनलाई सबैले पुज्न थालेका छन् ।

पिता नरभूपालको देहान्तपछि २० वर्षको उमेरमा राजा भएपश्चात् उनले गोरखाको सानो राज्यबाट सुरु गरी विभिन्न भुरेटाकुरे, बाइसे–चौबिसे राज्यरजौटालाई एक बनाए । छरिएर रहेका तराई, पहाड र हिमाली राज्यलाई फराकिलो भूभागको परिकल्पना गर्दै जनता र राजा एकतामा मिलेपछि अरू हैकमवादीले चियाउनैपर्दैन भन्ने सन्देश प्रवाह गरे, सफल पनि भए । छरिएका राज्यलाई एकीकरणका सूत्रमा बाँधेर एक बलियो आधारका रूपमा हिमाली काखको आधुनिक नेपाल राज्य खडा गर्ने अभियानकर्मीका रूपमा उनको पहिचान कायम छ ।

नेपाल २०६५ देखि गणतन्त्र राज्य घोषणा भएपछि २०७२ असोज ३ गते सात प्रदेशसहितको सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहमा सङ्घीय राज्य स्थापना गरियो । सात प्रदेश पुनर्संरचनासहित सञ्चालनमा आएपछि एकीकरण गर्नेको नाम बिर्सन थालियो । केही समय पृथ्वीनारायणको योगदानलाई पनि भुल्ने काम भयो । पछिल्लो समय प्रायः सबै राजनीतिक दललाई इतिहास भुल्न हुने रहेनछ भन्ने तत्वबोध भयो । केही समय रोकिएको सार्वजनिक बिदा फेरि दिन थालियो । शासनसत्ता सुधार्दै जातीय, वर्गीयलगायत कुनै पनि भेदभाव नराखी मानवताका रूपमा जनतालाई सुखसयल, सुविधा दिने उद्देश्य राखेर उनले नेपाल एकीकरण गरेको स्वीकार ढिलै भए पनि गर्नु उपयुक्त छ । राजनीतिक दलले गरेको यो निर्णयको सबैले प्रशंसा गरेका छन् । भाइभारदार, सेना, प्रहरीलगायत सबै जनताको सहयोग लिएर आधुनिक विशाल नेपाल निर्माण गरेकै कारणले जन्मजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय भयो । हिजो पृथ्वीनारायणको भूमिकालाई बेवास्ता गर्नु गलत थियो । उनले नेपाल एकीकरण नगरिदिएको भए आज हामी नेपाली भएर रहने थिएनौँ । सार्वभौमसत्ताको रक्षा, राष्ट्रिय अखण्डताको संरक्षण र नेपाली जनताको सम्मानका लागि उनले गरेको योगदान नेपालमा आजसम्म कसैबाट हुन सकेको छैन । पृथ्वीनारायणको योगदानलाई हामीले भुल्नु भनेको इतिहासलाई बिर्सनु हो, कृतघ्न बन्नु मात्र हो । सबैमा चेतना भया !